
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबारदेखि इलाममा ‘बालचलचित्र महोत्सव’ सुरु भएको छ, जुन जेठ १० सम्म चल्नेछ।
- महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले यसलाई सकारात्मक प्रयास भने।
- इलाम नगरपालिका र चलचित्र बोर्डको सहकार्यमा आयोजित महोत्सवमा बालबालिकालाई चलचित्र निर्माण तालिम दिइएको छ।
इलाम । चलचित्र क्षेत्रमा रुची राख्ने र यसमा भविष्य बनाउन चाहने बालबालिकालाई लक्षित गर्दै मंगलबारदेखि यहाँ ‘बालचलचित्र महोत्सव’ सुरु भएको छ । महोत्सव जेठ १० गतेसम्म जारी रहनेछ ।
महोत्सव उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गृहथलोमा यस किसिमको महोत्सव आयोजना हुनु आफैमा सकारात्मक र सार्थक प्रयास भएको बताए ।
इलाम नगरपालिका र चलचित्र बोर्डको सहकार्यमा आयोजित महोत्सवको पाँच दिनसम्म विभिन्न कार्यक्रम राखिएका छन् । त्यस अन्र्तगत सेलिब्रेटीसँग बालबालिकाको साक्षात्कार गराइनेछ । साथै, बालचलचित्र पनि प्रदर्शन गरिनेछ । बालचलचित्र निर्माणसम्बन्धी प्रशिक्षणसमेत दिइने महोत्सवमा चलचित्रका विभिन्न गतिविधि सञ्चालन हुनेछन् ।
इलाम नगरपालिकाको सभाहलमा सञ्चालित महोत्सवको पहिलो दिन ३५ जना बालबालिकालाई चलचित्र निर्माणबारे तालिम दिइएको थियो । निर्देशक तथा निर्माता बद्री अधिकारीले तालिमको सहजीकरण गरेका थिए भने संयोजन कोशी प्रदेश चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले गरे ।
कार्यक्रम उद्घाटन इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले गरेकी थिइन् ।
जिल्लामा रहेका विद्यालय, बालक्लब, बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरि कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिका सहभागी छन् ।
निर्देशक अधिकारीसहित लेखन, छायांकन, सम्पादन र संगीत विधाका ३ जनाले प्रशिक्षण दिनेछन् । नेपाली चलचित्रको विकास, विस्तार र प्रवद्र्धन, चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण सिर्जना गर्नका लागि कार्यशाला आयोजना गरिएको जनाइएको छ ।
प्रतिक्रिया 4