+
+
Shares

संसदीय समितिमा माओवादी सांसदले बोल्दै गरेको माइक फालेपछि…

उहाँ ढिलो आएपछि प्रश्न गरेँ–सभापति, रिसको बदला रिस नै पोखेँ : सांसद

समिति बैठकमा पुगेलगत्तै सांसद कल्पना मियाँ कुसारी बोल्न खोजेपछि सभापति किरणकुमार साहले अनुमति लिएर बोल्न भने । लगत्तै, उनीहरूबीच केहीबेर नोकझोक चल्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समितिको बैठकमा सांसद कल्पना मियाँ कुसारीले बोल्न खोजेपछि सभापति किरणकुमार साहसँग नोकझोक भयो।
  • सभापति साहले कुसारीलाई अनुमति नलिई बोल्न खोजेको भन्दै रिसाए।
  • लगत्तै सांसद कुसारीले माइक फालिन्।

७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरणकुमार साह र समिति सदस्य कल्पना मियाँ कुसारीबीच नोकझोक चलेको छ ।

समितको बैठक आज (बुधबार) बिहान साढे ७ बजेका लागि बोलाइएको थियो ।

समिति सभापति साहका अनुसार, बैठक सकिन लाग्दा मओवादी सांसद कुसारी पुगेकी थिइन् । बैठकमा पुगेलगत्तै कुसारी बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भने । लगत्तै, उनीहरूबीच केहीबेर नोकझोक चल्यो ।

‘समितिमा दुई वटा प्रतिवेदन बुझ्ने कार्यक्रम थियो । बैठक सकिन लागेको थियो । उहाँ माननीय (कल्पना मियाँ) सवा ९ बजेतिर आएर बोल्न लाग्नुभयो । ढिला आउनु भयो, कसको अनुमतिले बोल्न लाग्नु भएको छ भनेर सोधेको हुँ । त्यसपछि उहाँ रिसाउनुभयो,’ सभापति साहले भने ।

सभापतिको जवाफले सांसद कुसारी रिसाइन् । उनले अरु सांसद बसेको ठाउँतिर माइक फालिन् ।

उनको माइकले सभापति अगाडि रहेको नेमप्लेट आफैंतिर फर्किएको सभापति साह बताउँछन् ।

‘माइक अरु माननीय भएतिर फाल्नु भएको हो । म भएतिर फालेको होइन,’ सभापति साहले भने ।

यसबारे सांसद कुसारीले समितिको बैठकमा भनाभन भएको स्वीकार गरिन् ।

‘भनाभान भएको हो । सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ,’ कुसारीले भनिन् ।

हिजो नै उनले आफू बैठकमा ढिला आउने जानकारी सभापति साहलाई गराएको पनि उनले बताइन् ।

‘बिहानै बैठक राख्नुपर्ने आपतकालीन विषय थिएन । ७ बजे बैठक राखेर संसदको कर्मचारीलाई दुःख दिएको छ । हामी महिला छोराछोरी स्कुल पठाएर घरको काम गरेर आउनुपर्छ,’ उनले भनिन्, ‘१०–११ बजे बैठक राखेको भए पनि हुने हो । बिहान राति बैठक राख्नुपर्ने थिएन ।’

आफूले अनुगमनको नाममा भएको अनियमितताबारे बारम्बार प्रश्न गरेकाले सभापति रिसाएको उनले बताइन् ।

‘अनुगमनको नाममा भएको अनियमिताबारे मैले पहिलेदेखि नै बोल्दै आएको छु । खर्च पारदर्शी हुनुपर्छ भन्दा सभापतिले बोल्न रोक लागाउन खोज्नु भएको हो,’ उनले भनिन् ।

सभापति साहले आजको घटनामा छानबिन गरेर सांसद कुसारीलाई कारबाही गरिने बताए ।

‘माइकमा के कति क्षति भएको छ त्यो हेर्न सचिवालयलाई भनेको छु । कारबाहीको प्रक्रिया अगाडि बढ्छ,’ सभापति साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?