News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्रिय मुवाँथाई संघले असार ५ देखि ७ गतेसम्म काठमाडौंमा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।
- प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौलसमूह र प्रोफेसनल फाइटहरू समावेश छन् ।
- प्रोफेसनल फाइटमा सहभागी हुनेले विगतमा खेलेको प्रतियोगितामा कम्तीमा ५ ‘फाइट’ जितेको हुनु पर्ने छ ।
९ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आगामी असार ५ गतेदेखि हुने भएको छ ।
शुक्रबार बसेको संघको बैठकले प्रतियोगिता असार ५ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष कक्षपतिका अनुसार प्रतियोगितामा पुरुष एमेच्योर र सेमी प्रोतर्फ ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि, ७५ केजीमुनि र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलाको एमेच्योर र सेमी प्रोमा ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूहमा खेल हुने संघले जनाएको छ । पुरुष र महिला दुवैमा सेमी प्रोमा सहभागी हुन विगतका प्रतियोगितामा कम्तीमा ३ ‘फाइट’ जितेको हुनु पर्नेछ ।
यो स्पर्धा बाहेक पुरुषमा ६० केजीमुनि र महिला ५० केजीमुनिको प्रोफेसनल फाइट पनि हुनेछ । प्रोफेसनल फाइटमा सहभागी हुन इच्छुकले विगतमा आफूले सहभागिता जनाएको प्रतियोगितामा कम्तीमा ५ ‘फाइट’ जितेको हुनु पर्ने प्रतियोगिता संयोजक समेत रहेका अध्यक्ष कक्षपतिले जानकारी दिए । ।
सेमी प्रोमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रोफेसनलको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा वीरेन्द्र ओली, निर्णायक समितिको संयोजकमा भुपेश शाक्य, प्रचार प्रसार उपसमितिको संयोजकमा मनीष लिबी, खाना तथा होटल व्यवस्थापन समितिको संयोजकमा बालगोपाल शाह ठकुरी तथा स्वयंसेवक तथा सुरक्षा समितिको संयोजकमा दीपक तामाङ छन् ।
प्रतिक्रिया 4