News Summary
Generated by OK AI. Editorially reviewed.- लेटिटिया नामकी ४७ वर्षीया महिलाले टन्सिल शल्यक्रियापछि अंग्रेजी लवजमा बोल्न थालेकी छन्।
 - उनीलाई फरेन एक्सेन्ट सिन्ड्रोम भएको पत्ता लाग्यो, जुन दुर्लभ अवस्था हो।
 - उनी आफ्नो पुरानो आवाज फिर्ता पाउने चाहना राख्छिन्, तर अहिले आफ्नो अनौठो उच्चारणलाई स्वीकार गर्न थालेकी छन्।
 
पश्चिमी फ्रान्सकी ४७ वर्षीया एक महिला पछिल्लो १४ वर्षदेखि विशेष अंग्रेजी लवजमा बोलिरहेकी छिन्। वास्तविक रूपमा उनी फ्रेन्च भाषामै बोल्छिन् । तर, सुन्नेहरूलाई यस्तो लाग्छ कि उनी अंग्रेजीमै बोलिरहेकी हुन्, किनभने उनको उच्चारण पूर्ण रूपमा ब्रिटिश शैलीमा परिवर्तन भइसकेको छ।
उनी वास्तवमा फ्रेन्च भाषी हुन् र अंग्रेजी भाषाको ज्ञान उनलाई छैन । तर, जब उनले टन्सिल उपचारका लागि घाँटीको शल्यक्रिया गराइन् तब उनको लजव ब्रिटिस अंग्रेजीजस्तै बनेको छ ।
महिलाको नाम लेटिटिया हो। लेटिटियाले दशकौंअघि स्कुलमा केही अंग्रेजी शब्दहरू सिकेकी थिइन् । तर, अहिले उनी मातृभाषा फ्रेन्चमै बोल्दा पनि यस्तो लाग्छ कि उनी इङ्ग्ल्याण्डमै जन्मिएकी हुन् । विगत १४ वर्षदेखि लेटिटिया यस्तो अंग्रेजी लवजमा बोलिरहेकी छिन् कि धेरैले उनी बेलायती मूलकी महिला भएको भान हुन्छ ।
४७ वर्षीया लेटिटियाले जब आफ्नो टन्सिल हटाउने शल्यक्रियापछि अस्पतालमा होसमा आइन्, त्यसबेलादेखि उनी अनायासै अंग्रेजी शैलीमा बोल्न थालिन् । उनका बच्चाहरूले पनि यसअघि उस्तै सर्जरी गरेका थिए र केही दिनसम्म नाकबाट आवाज निस्किन्थ्यो तर पछि ठीक भइहाल्थ्यो। त्यसैले सुरुमा लेटिटिया खासै चिन्तित थिइनन् । तर, जब समय बित्दै गयो, उनको यो अनौठो लवज झन् झन् प्रस्ट र बलियो बन्दै गयो।
उनी भन्छिन्, ‘जब म टन्सिलको अपरेशनपछि होसमा आएँ, मेरो उच्चारण फरक भएको महसुस भयो । म सर्जनकहाँ गएँ, तर, उनले कुनै गम्भीर समस्या नभएको बताए । त्यसैले म धेरै चिन्तित भइन । त्यसपछि तीन हप्ता पछि पोस्ट-अपरेशन चेकअपका लागि गएँ । डाक्टरले भने, ‘सब ठीक छ, चिन्ता लिनु पर्दैन।’ मैले सोधें, ‘म आफ्नो पुरानो आवाज कहिले फिर्ता पाउने ?’ उनले भने, ‘तपाईं धैर्य गर्नुपर्छ ।’
तीन महिनापछि उनी फेरि डाक्टरकहाँ गइन् र भनिन्, ‘म धेरै धैर्य गरेँ, तर अबचाहिँ मलाई मेरो पुरानो स्वर चाहिएको छ।’ सुरुमा डाक्टरलाई उनको कुरा बुझ्न गाह्रो भयो। जब उनले अंग्रेजी लवजको बारेमा खुलाइन्, डाक्टरले सोधे, ‘तपाईं अंग्रेजी मूलको होइन त ?’ डाक्टरलाई पनि पत्यार लागेन कि लेटिटिया वास्तवमै अंग्रेजी बोल्ने हैनन्, उनी केवल फ्रेन्च भाषामा अंग्रेजी लवजमा बोलिरहेकी छन् ।
जाँच गर्दा सबै कुरा सामान्य देखियो। वास्तवमा उनी डाक्टरकै लागि पनि एक रहस्यको रुपमा खडा भइन् । पछिल्ला केही वर्षमा लेटिटियाले धेरै डाक्टरहरू देखाइन्, जसमा एकजना नाक, कान, घाँटी विशेषज्ञ पनि थिए। तर, कसैलाई पनि थाहा भएन कि उनको अंग्रेजी शैलीको उच्चारण कसरी विकास भयो, वा त्यसबाट छुट्कारा पाउने कुनै उपाय छ कि छैन ।
अन्ततः रहस्य खुल्यो – दुर्लभ सिन्ड्रोमको पहिचान
अन्तमा लेटिटियालाई फरेन एक्सेन्ट सिन्ड्रोम भएको पत्ता लाग्यो, जुन अत्यन्तै दुर्लभ अवस्था हो । यो अवस्था दुर्घटना, स्ट्रोक वा शल्यक्रियाका कारण हुन सक्छ। लेटिटियाको मेडिकल रिपोर्ट अनुसार, टन्सिलको सर्जरीको क्रममा उनको मस्तिष्कको एक भागमा रक्त प्रवाह कम भयो, जसका कारण उनीमा अंग्रेजी लवज देखा परेको निष्कर्ष निकालियो ।
यद्यपि उनलाई अझै पनि आफ्नो पुरानो आवाज फर्काउने चाहना छ । लामो समयदेखि उनीसँग भेट नभएका मित्र तथा आफन्तहरु चाहीँ उनले मजाक गरिरहेकी हुन् कि भनेर सोँच्छन् । अबचाहिँ लेटिटिया आफ्नै अनौठो उच्चारणसँग अभ्यस्त भैसकिन् । यो उनको जीवनको एउटा हिस्सा बनिसकेको छ, र उनले यसलाई स्वीकार गर्न थालेकी छिन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4