+
+
Shares

दुर्गा प्रसाईंको बयान : म तीनकुने आउनुअघि नै स्टेजमा टियरग्यास हानिएको थियो

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटकपटक भेटेको समेत बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते २२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्गा प्रसाईंले १५ चैतको प्रदर्शनमा आफूको कुनै भूमिका नभएको बयान दिए।
  • उनीहरूले भने, ‘म कार्यक्रम स्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइसकेको थियो।’
  • प्रसाईंले आफूले संविधान अनुसार कार्य गरेको र पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट गरेको बताए।

११ जेठ, काठमाडौं । १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा जनकमान्डर तोकिएका दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअगावै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको जिकिर गरेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा प्रसाईंले भनेका छन्, ‘म कार्यक्रमस्थल आउनुभन्दा अघि नै अतिथिहरूलाई आसनग्रहण गराई कार्यक्रम सुरु भएर राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्यास र गोलीहरू चलेर मान्छेको भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रमस्थलमा मेरो कुनै भूमिका भएन ।’

आफू सुरुमा कार्यक्रमस्थलमा जाने स्थिति समेत नभएको भन्दै उनले भने, ‘नवराज सुवेदी नेतृत्वको समितिले नै कार्यक्रमको स्वामित्व र अपनत्व लिएर दुवै संस्थाको संयुक्त ब्यानरमा गर्ने भनिएअनुसार तयारी र योजना गरेर कार्यक्रम आयोजना गरिएको हो ।’

त्यसबेला आफूहरूले एक हप्ता भित्रमा माग पूरा नभए नेपाल बन्द समेतका कार्यक्रम गर्ने तय भएको प्रसाईंले भनेका छन् । उनले आफूले संविधानले व्यवस्था गरे बमोजिमको प्रक्रियाभन्दा बाहिर गएर कुनै कार्य नगरेको समेत जिकिर गरेका छन् ।

‘संविधानको अधिनभित्र रहेर कार्यहरू गरेको छु’, उनले भनेका छन् ।

आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्ने भन्दै विगत ५ वर्षदेखि पटकपटक भेट भइरहेको समेत भनेका छन् । १५ चैतको प्रदर्शनको एक दिनअघि पनि भेट भएको उनले भनेका छन् ।

‘निजसँग भेट गर्दा निजी सचविमार्फत भेटघाट हुने गरेको थियो’, उनले भनेका छन्, ‘…पृथ्वीनारायण शाहले आर्जेको देश भएकाले तपाईं पुनः आउनुपर्‍यो भनेर म पटकपटक भेट्न गएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?