+
महिला फुटबल :

‘थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलले एसियन कप छनोटलाई सहयोग पुग्छ’

२०८२ जेठ  १२ गते १७:२७ २०८२ जेठ १२ गते १७:२७

पहिलो पटक एएफसी वुमन्स एसिया कप खेल्ने लक्ष्य राखेको नेपाली महिला टोलीले थाइल्याण्डविरुद्ध हुने खेललाई महत्वका साथ हेरेको छ ।

‘थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलले एसियन कप छनोटलाई सहयोग पुग्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला टिमले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
  • मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले खेलका लागि उत्साहित रहेको बताए ।
  • नेपालले महिला एसियन कपको लागि लगातार दोस्रोपटक छनोट खेल्दैछ ।

१२ जेठ, काठमाडौं । उज्वेकिस्तानमा जुन अन्तिम देखि सुरु हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपाली राष्ट्रिय महिला टिमले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाली टोली त्यही खेलका लागि अहिले अन्तिम तयारीमा छ । नेपाल र थाइल्याण्डबीच पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा यी दुई टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछन् ।

पहिलो पटक एएफसी वुमन्स एसिया कप खेल्ने लक्ष्य राखेको नेपाली महिला टोलीले थाइल्याण्डविरुद्ध हुने खेललाई महत्वका साथ हेरेको छ । महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले थाइल्याण्ड विरुद्धको खेलका लागि उत्सहित रहेको र एसियन कप छनोटका लागि महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली महिला टिमले पहिलो पटक थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा थाइल्याण्ड नेपाल भन्दा ५२ स्थान माथि छ । विश्वकप खेलिसकेको थाइल्याण्ड ४७औं स्थानमा छ भने नेपाल ९९औं स्थानमा छ ।

‘थाइल्याण्ड बलियो टिम छ । विश्वकप खेलिसकेको छ । खेलाडीहरू उत्साहित छन् ठूलो टिमसँग खेल्न । पहिला टुर्नामेन्टहरू मात्र खेलिन्थ्यो फ्रेण्डली म्याच खासै थिएन । अहिले ठूला टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछौं’ मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अनलाइनखबरसँग भने, ‘हामीले राम्रो टिम संरचना बनाएर खेल्यौं भने यो खेलबाट एसियन क्वालिफायरमा फाइदा हुनेछ ।’

यस्तै ग्रीसमा व्यावसायिक फुटबल खेलेर बएकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पछिल्लो समय महिला फुटबलको चर्चा धेरै भएकोले टिममा ऊर्जा थपिएको र चुनौती पनि रहेको बताइन् । ‘चुनौती छ । अहिले महिला टिमले जुन उचाई पाएको छ । समर्थकहरूले फलो गर्नुभाछ । अझ हामीले राम्रो गर्नुपर्छ भन्ने भित्रैबाछ ऊर्जा आएको छ’ एन्जिलाले अनलाइनखबरसँगको कुराकानीमा भनिन् ।

थाइल्याण्ड राम्रो टिम भएकोले पहिलो पटक खेल्दा धेरै कुरा सिक्न पाउने उनले बताइन् । ‘उनीहरू राम्रो टिम पनि हो । त्यहाँ गएर हामीले धेरै कुरा सिक्न पाउँछौँ । राम्रो टिमसँग जति खेल्यो त्यति अनुभव बढ्छ’ उनले भनिन्, ‘केही कुरा सिक्ने मौका पाउँछ । जति हाम्रो मिस्टेक छ त्यसमा सुधार गर्दै जानेहो । सकभर हाम्रो आफ्नो बेस्ट दिने हो ।’

पछिल्लो समय नेपालमा लगातार महिला गोल्डकपहरू भएकोले खेलाडी व्यस्त रहे । लगातार खेल्दा फाइदा भएपनि त्यसले खेलाडीहरू केही थाकेका थिए । तर अहिले नेपाली टिम थाइल्याण्डसँगको खेलका लागि तयार रहेको तामाङले बताए । ‘हामी तयारीको अन्तिम चरणमा छौं । खेलाडीहरू सबै मोफसल खेलेको भएर मोटिभेट छन् तर लगातार खेल्दा थकित छन् । एन्जिला र पुजा पनि आएको छ । तयारी राम्रो छ ।’

महिला टिममा आवश्यक लगानी, प्रशिक्षण र खेल्ने वातावरण बनाए एसियन कप र विश्वकप पनि टाढा नभएको फुटबल जानकारहरू बताउँछन् ।

लगातार खेल खेल्दा राम्रो भएपनि आराम नपुग्दा भने कहिलेकाहीँ फ्रस्टेसन पनि आउने कप्तान एन्जिलाले बताइन् । ‘धेरै खेल्न पाउँदा सबै खुशी हुनुहन्छ । खेल्दा कहिलेकाहीँ रेस्ट नपुग्ने भएकोले फ्रस्टेसन पनि आउने रैछ’ एन्जिलाले भनिन्, ‘पहिला महिला टिमको प्रतियोगिताहरू खासै हुन्थेन । अहिले भइराछ राम्रो पनि हो । अहिले महिला टिम राम्रो भएपछि गराउनुभाछ । पहिला बाट गराउनुभाको भए अझ राम्रो हुन्थ्यो । सबै आयोजकहरूलाई धन्यवाद । अब यसरी नै गेमहरू गराइदिनुहोला ।’

तर यस पटक टिममा भने पुरानै खेलाडीले निरन्तरता पाएका छन् । गत फागुनमा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेलेकै टिमका सबै खेलाडी अहिले टिममा छन् । प्रशिक्षक तामाङले एकै पटक नयाँ खेलाडी धेरै राख्नुभन्दा विस्तारै अवसर दिँदै जानुपर्ने बताए ।

‘चन्द्रा भण्डारी, सुस्मा तामाङ, मनमाया दमाईहरू नयाँ आइराकोछन् । एकैपटक चेन्ज गर्दा टिमको बाउण्ड बिग्रन सक्छ । त्यसले गर्दा विस्तारै चेन्ज गर्दैं जाने हो फरक पर्दनै । छोटो समय क्याम्पमा झट्ट चेन्ज गर्दा गह्रो हुन्छ’ उनले भने, ‘नयाँ आइरहेको खेलाडीलाई विस्तारै चान्स दिने हो ।’

एन्जिला ग्रीस र पुजा भुटानको लिग खेलेर टिममा सामेल हुन काठमाडौं आएका हुन् । फ्रेन्च लिग सकाएर हाल युरोपमा रहेकी सावित्रा भण्डारी साम्बा र यूएईमा लिग खेलिरहेकी रेखा पौडेल उतैबाट थाइल्याण्ड पुग्ने प्रशिक्षक तामाङले जानकारी दिए ।

कप्तान एन्जिलाले नेपाली टिममा पनि विदेशी लिग खेलेका खेलाडीहरू हुँदा फाइदा पुग्ने बताइन् । उनले ग्रीसमा खेल्दाको अनुभव राम्रो भएको र यसले टिममेटलाई सहयोग पुग्ने पनि बताइन् ।

‘समग्रमा युरोपमा राम्रो अनुभव पाएँ । अनुभव लिन गाथेँ त्यो राम्रोसँग पाए । अब टिममेटलाई पक्कै पनि सपोर्ट गर्छु जस्तो लाग्छ । धेरै कुरा सिक्न पनि पाएँ ।’ उनले भनिन् । ‘पहिलो खेल राम्रो भयो । त्यसपछि टिमले पनि मलाई त्यही अनुसार विश्वास गर्नुभयो ।’

कमजोरी सुधार गर्ने अवसर

पछिल्लो समय नेपाली महिला टिमले खेलेको लगातार तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो । त्यसमा नेपाल विशेषगरी डिफेन्डिङमा चुकेको थियो । यस पटक त्यसमै केन्द्रीत गरेको तामाङले बताए । ‘हाम्रो टिम डिफेण्डिङमा चुकिराछौँ । तीन टुर्नामेन्टमा फाइनलमा चुकिराछौँ । त्यसमा हामीले फोकस गरेको छौँ । व्यक्तिगत रुपमा सबै राम्रो छ । सेप र स्ट्रक्चरमा धेरै काम गरेका छौँ । कस्तो गर्छ त्यो गएर हेरौँ । थाइल्याण्डको म्याच पनि देखाएका छौँ ।’

थाइल्याण्डसँग मैत्रीपूर्ण खेलका लागि खेलाडीहरू पनि उत्सहित रहेको प्रशिक्षक तामाङले बताए । ‘खेलाडीहरूमा छुट्टै खालको उत्साह छ । उनीहरू एनकरेज हुन्छन् । विश्वकप खेलिसकेको, अमेरिका र अष्ट्रेलियासँग खेलेको टिमसँग हामीले खेल्न पाउँदा उत्सह हुने भयो’ तामाङले भने, ‘प्लस हाम्रो टिमको कमजोरी र बलियो पक्ष पनि थाहा हुने भयो । सानो टीमसँग खेल्दा सधैँ हामीले दबाबमा राख्ने भयौँ । ठूलो टिमसँग हामी दबिने भयौँ । त्यसले गर्दा राम्रो र नराम्रो के छ छुट्याउने अवसर पाउनेछ ।’

कप्तान एन्जिलाले थाइल्याण्ड विरुद्ध दुई खेलमा आफ्नो कमजोरीहरू पत्ता लगाउने अवसर पनि हुने बताइन् । ‘यो दुई खेलले एसियन कप छनोटमा एकदम धेरै सपोर्ट गर्छ । कोचले दिएको टास्क सबैले फलो गर्नुपर्छ । यो दुई खेलले हामरो के मिस्टेक छ थाहा हन्छ र यसले एसियन कप छनोटमा धेरै सहयोग गर्छ’ उनले भनिन् ।

एसियन कप पुग्ने अवसर छ

सन् १९७५ मा सुरु भएको महिला एसियन कप नेपालले सन् ८० र ९० को दशकमा गरी तीन पटक खेलिसकेको छ । तर त्यसयता नेपालले खेल्न सकेको छैन । नेपालले महिला एसियन कपको लागि लगातार दोस्रो पटक छनोट खेल्दैछ ।

यसअघि सन् २०२२ मा भारतमा भएको महिला एसियन कपको लागि पनि नेपालले छनोट खेलेको थियो तर छनोट चरण पार गर्न सकेन ।

पछिल्लो समय नेपालको महिला टिमलाई लगातार प्रशिक्षक दिएका प्रशिक्षक तामाङले महिला एसियन कपमा छनोट हुने सम्भावना रहेको बताए । एसियन कप छनोटमा नेपाल समूह एफमा छन् । नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग छनोटमा खेल्नेछ ।

‘एसियन कप छनोट हुने सम्भावना राम्रो छ’ तामाङले थपे, ‘सबैभन्दा बलियो पक्ष भनेको हाम्रो गोल स्कोर राम्रो छ । साम्बा युरोपमा खेलिराछ । रेखा अबुधाबीमा खेलिराछ । एन्जिला पनि ग्रीसमा खेलेर आछ । उसको कन्फिडेन्स पनि राम्रो भयो होला । टिमलाई मोटिभेट गर्न सक्छ ।’

लाओस र श्रीलंकाको तुलनामा उज्वेकिस्तानसँग नै नपालको टक्कर हुने तामाङले बताए । ‘लाओस हामी बराबर जस्तै टिम हो । वरियतामा अलि तल छ । श्रीलंकासँग हामीले खेलिराछौं । उज्वेकिस्तानको खेलका लागि थाइल्याण्डको खेलपछि थाहा हुनेछ’ उनले भने, ‘उनीहरू उस्तै टिम हुन् । थाइल्याण्ड ४७औं र उज्वेकिस्तान ५०औं स्थानमा छ । थाइल्याण्डसँग राम्रो योजना बनाएर खेल्न सक्यौँ भनेर एसियन कपमा छनोट हुने चान्स छ।’

सिधै गएर उज्वेकिस्तानसँग खेल्नुभन्दा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेर जाँदा सहयोग पुग्ने प्रशिक्षक तामाङको भनाई छ । ‘सिधै गएर खेल्दा केही समस्या हुन्थ्यो होला । उज्वेकिस्तानसँग २०१९ मा खेलेको हो । नादेज्दा कपको फाइनलमा हारेको थियो । त्यो बेला र अहिले उज्वेकिस्तान धेरै चेन्ज भाछ । हामी पनि चेन्ज भइराछौँ,’ उनले भने, ‘खेलाडीको माइन्डसेट अलि चेन्ज गर्नुपर्छ । हामी इन्डिभिजुअल भन्दा टिमको रुपमा खेल्यौँ भने नहुने भन्ने कुरा छैन । सम्भावना छ ।

छनोटमा सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरिएको छ र हरेक समूहको विजेताले महिला एसियन कप खेल्नेछ ।

पछिल्लो समयमा नेपाली महिला फुटबलले राम्रो प्रदर्शन गरिरहँदा यसले समर्थकदेखि निजी क्षेत्र र सरकारको पनि ध्यान तानेको छ । जसले गर्दा महिला प्रतियोगिता पनि बढेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला विश्वकप पुग्ने भने मिसन नै घोषणा गरेको थियो ।

महिला टिममा आवश्यक लगानी, प्रशिक्षण र खेल्ने वातावरण बनाए एसियन कप र विश्वकप पनि टाढा नभएको फुटबल जानकारहरू बताउँछन् ।

प्रशिक्षक तामाङले पनि भविष्यमा कहाँ पुग्ने भन्ने विषय फुटबल संघमा निर्भर हुने बताए । ‘भविष्य कस्तो छ भन्ने कुरा एफएको योजनामा भर पर्छ । जुन कुरा हामीलाई आवश्यक छ त्यसमा लगानी गर्ने हो भने त्यो (विश्वकप) टाढा छैन’ उनले भने, ‘हामी भन्दा बलिया टिमहरू भारत, म्यानमार, उज्वेकिस्तानले पनि विश्वकपमा दाबी गरिराछ । अहले फिफाले पनि विश्वकपमा टिमसंख्या ३२ बाट बढाएर ४८ बनाएपछि हाम्रो पनि चान्स छ । तर लगानी कति गर्ने, कसरी गर्ने, कति समयको गर्ने भन्ने कुरामा भर पर्छ।’

नेपाली टिम

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

नेपाली महिला फुटबल टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय