
१२ जेठ, काठमाडौं । सरकारले दुई जना सहसचिवको बढुवा गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवको बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
बढुवा हुनेमा इन्जिनियरिङतर्फ दिनानाथ मिश्र र प्रशासनतर्फ भूपाल बराल रहेका छन् ।
इन्जिनियरिङतर्फ बढुवा भएका मिश्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत थिए । प्रशासनतर्फ बढुवा भएका बराल भने वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।
इन्जिनियरिङतर्फ मिश्रसहित सहसचिवहरू चिरन्जिवी चटौत र जगदीश्वर कर्माचार्यको नाम पनि सिफारिस भएको थियो । प्रशासनतर्फ भने बरालसहित सहसचिवहरू डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस भएको थियो ।
४ सचिवको सरुवा
त्यस्तै, मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरूको सरुवा गर्ने निर्णय पनि गरेको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयमा महादेव पन्थलाई सरुवा गर्ने निर्णय भएको छ । उनी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव हुन् ।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया 4