
नेपाली क्रान्तिका महान शहीद कृष्ण सेन ‘इच्छुक’ नेपाली साहित्य, पत्रकारिता, राजनीति र सांस्कृतिक आन्दोलनका एक बहुआयामिक व्यक्तित्व थिए। उनको जीवन र योगदान नेपाली समाजमा गहिरो प्रभाव पार्ने खालको छ। उनको जीवनी, व्यक्तित्व र कृतित्वको गम्भीर अध्ययन गर्न अति आवश्यक छ। यदि कसैले उनलाई गहिरो गरी अध्ययन गर्यो भने ऊ उनको अनुयायी नबनी रहन सक्दैन।
उनको जन्म वि.सं. २०१३ साल कात्तिक ३ गते भारतको देहरादूनमा पिता यमबहादुर सेन (भारतीय सेनामा कार्यरत) र माता भीमकुमारी सेनको कोखबाट भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट बी.एड. र एम.ए. गरेका इच्छुकको विवाह वि.सं. २०४८ मा तक्मा केसीसँग भएको थियो। उनका एक छोरी छिन् ।
माथि नै चर्चा गरिएझैं उनको व्यक्तित्व बहुआयामिक रहेको छ। साहित्यमा उनको योगदान अतुलनीय छ। फुटकर रूपमा विभिन्न रचनाहरू प्रकाशित भए पनि विद्यार्थी नेता मित्रमणि आचार्यको हत्या पछि उनलाई समर्पित शोकाञ्जली (२०४८) कविता संग्रह प्रकाशित भयो।
शोकमा डुबेर लेखिएको यस रचनामा शोक, मित्रता तथा वैचारिक प्रतिबद्धताको अदभूत प्रस्तुति छ । त्यसपछि उनको दोस्रो संग्रह इतिहासको यस घडीमा (२०५५) प्रकाशित भयो। समालोचक ताराकान्त पाण्डेका शब्द सापटी लिएर भन्ने हो भने उनका रचनाहरू पेङ्ग्युनका फूलजस्ता हुन्थे– ढिलो आउने तर अदभूत।
उनी आफ्नो जीवनकालमा पटक–पटक जेल परे। उनी जेलमै हुँदा बन्दी र चन्द्रागिरि (२०५७) लेखे। यस संग्रहले उनलाई निकै उचाइमा पुर्यायो। मुना मदन र ओखलढुंगा पछि उनका क्रान्तिकारी कविताहरूमा धेरै गीतहरू रचना भएका छन्। कवितालाई गीतमा ढाल्न सक्नेगरी सरल भाषामा उच्च विचार सम्प्रेषण गर्न सक्नु उनको अदभूत रचना कौशल मान्न सकिन्छ।

उनका रचनाहरूमा सामाजिक न्याय, वर्ग संघर्ष र जनताको पीडा झल्किन्छ। उनी आफूलाई ‘कलम बोक्ने चेतनाको सिपाही’ भनेर परिचय दिन्थे।
साहित्यमा जस्तै उनी पत्रकारितामा पनि उत्तिकै सक्रिय थिए। उनी ‘जनादेश’ साप्ताहिक, ‘जनदिशा’ दैनिक र ‘कलम’ त्रैमासिकका सम्पादक थिए। प्रगतिशील पत्रकारिताको अग्रपंक्तिमा रही जनताको पक्षमा निर्भीक कलम चलाए।
राजनीतिक रूपमा अखिल (क्रान्तिकारी) बाट उनको यात्रा सुरु भएको देखिन्छ। अखिल (क्रान्तिकारी) दाङका संस्थापक अध्यक्ष भएका उनलाई नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनले अत्यन्त श्रद्धा र सम्मानका साथ सम्झन्छ। उनकै पदचाप पछ्याउँदै गर्दा यो पंक्तिकारलाई पनि वि.सं. २०५४ मा अखिल (क्रान्तिकारी) दाङको अध्यक्ष भएर नेपाली क्रान्तिको सेवा गर्ने अवसर प्राप्त भएको थियो।
उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) का केन्द्रीय संयोजक हुँदै नेकपा (माओवादी) को राप्ती अञ्चल क्षेत्रीय ब्युरो सचिवको भूमिकामा समेत योगदान दिएका थिए।
संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य रहेका उनी अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय अध्यक्षसमेत भएका थिए।
उनमा पदप्रति रत्तिभर मोह थिएन। कमरेड प्रचण्डले सुनाउनुहुन्छ, उनले पार्टी केन्द्रको सदस्यको प्रस्ताव अस्वीकार गरे। उनी भन्ने गर्थे, “म जतिसुकै ठूलो पदमा गए पनि गर्ने काम यही नै हो। म ब्युरोमै ठीक छु, केन्द्रमा अरू कसैलाई पठाउनु होला।” आजका क्रान्तिकारीहरूले उनलाई यो विषयमा सिक्नुपर्ने धेरै कुरा छन्।
वि.सं. २०५९ जेठ ६ गते उनलाई प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबको हिरासतमा राख्यो। जेठ १३ गते हिरासतमै अमानवीय यातना दिई हत्या गरियो। उनको शव कहिल्यै फेला परेन। तर उनको वीरता, सौर्य र अदभूत साहित्यकलाको कथा नेपाली समाजमा चिरकालसम्म जीवित रहनेछ। भेट्टिइ रहने छ । उनको मृत्युले नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा ठूलो क्षति पुर्यायो।
उनको योगदानको कदर गर्दै मरणोपरान्त प्रेस सेनानी पुरस्कार (२०६५), प्रगतिशील साहित्य पुरस्कार (२०६१) बाट सम्मानित गरिएको छ। उनको स्मृतिमा ‘कृष्ण सेन अनलाइन’ नामक समाचार पोर्टल पनि सञ्चालनमा आएको छ।
कृष्ण सेन ‘इच्छुक’ नेपाली समाजका लागि प्रेरणादायी व्यक्तित्व थिए। उनको साहित्य, पत्रकारिता र राजनीतिक योगदानले आज पनि नेपाली जनतालाई मार्गदर्शन गरिरहेको छ।
उनको जीवन र विचारहरू नयाँ पुस्ताका लागि अध्ययनयोग्य छन्। फेरि पनि भन्छु– उनको सरल तर क्रान्तिकारी जीवन, व्यक्तित्व र कृतित्वको गहिरो अध्ययन गर्ने जो–कोही पनि उनको अनुयायी नबनी रहन सक्दैन।
आज उनको हत्या भएको २३ वर्ष भएको छ। हजारौं सहिद सबै महान छन्। कृष्ण सेन इच्छुक तीमध्ये विशिष्ट छन् ।
आजको दिनमा उनलाई उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
प्रतिक्रिया 4