News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण कार्य असार मसान्तसम्म पूरा हुने दाबी छ।
- ६ वटा फ्लडलाइट र १० हजार दर्शक क्षमताको प्यारापिट बनिरहेको छ।
१३ जेठ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ ।
फागुन २० देखि औपचारिक रूपमा सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिएपनि समयमा सम्पन्न हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा २ महिना समय थप गरेर तीव्र रूपमा निर्माण कार्य जारी छ ।
४३ करोड ७७ लाखको टेन्डरमा प्यारापिट निर्माणको ठेक्का बिकेओआई केसिडिसी बिजी जेभीले पाएको छ भने फ्लडलाइटको काम विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको छ ।
वर्षाको समय भएको र प्राविधिक विषयमा केही परिमार्जन भएकाले पहिलोपटक तोकिएको समयमा काम सम्पन्न हुन सकेको थिएन । अब भने असार मसान्तसम्म काम सक्ने गरी तीव्रता दिइएको निर्माण कम्पनीले जनाएको छ ।
ढलानको काम सुरु
टियु मैदानको पश्चिमी भागमा र दक्षिणपूर्वी भागमा गरेर दुई फरक ठाउँमा गरी १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण भइरहेको छ । प्यारापिट निर्माणको भौतिक प्रगति ६५ प्रतिशत हाराहारीमा भएको आयोजना प्रमुखले जानकारी दिएका छन् ।
पश्चिमी भागको प्यारापिट टियु रोडदेखि चोभार एन्डसम्म ६ ब्लकसहित ६० हजार स्क्वायर फिटमा फैलिएको छ । त्यस्तै दक्षिण पूर्वी भागमा २३ हजार स्क्वायर फिटमा २ ब्लकसहितको प्यारापिट निर्माण भइरहेको छ ।

मंगलबारदेखि पश्चिमी भागको प्यारापिटमा स्ल्याब ढलानको काम पनि सुरु भइसकेको छ । केही दिनमा दक्षिण-पूर्वी भागको प्यारापिटमा पनि ढलान हुने निर्माण कम्पनीका सञ्चालक प्रेम पौडेलले बताएका छन् ।
‘आजबाट प्यारापिटमा ढलान थालिसकेका छौं, अर्को साइडमा पनि कास्टिङको तयारी भइरहेको छ’ पौडेलले भने । उनका अनुसार ढलानको काम सकिएपछि सिट जडानको काम सुरु गरिनेछ ।
पहिलो चरणमा १५०० वटा सिटहरू ल्याइसकिएको छ । अब अर्को चरणको सिटहरू पनि भन्सारबाट छुटिसकेको र आगामी सातादेखि सिट जडानको काम पनि थालिसकिने उनको भनाइ छ ।
६ वटा फ्लडलाइट जडान हुँदै
सामान्यतया धेरैजसो क्रिकेट मैदानमा चारवटा फ्लडलाइट जडान गरिएका हुन्छन् । टियु क्रिकेट मैदानमा भने ६ वटा फ्लडलाइट राखिने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताएका छन् ।
‘हाम्रो यहाँ ६ वटा फ्लडलाइट बस्ने हो, फ्लडलाइट दुई किसिमको हुन्छन् जमिनको हाइट अनुसार साढे ४५ मिटर र ५५ मिटरको’ उनले भने, ‘त्यसका लागि पोल चाहिँ भारतबाट जुन पहिलो साता आइपुग्छ, लाइट चाहिँ अन्यत्रबाटै आउने हो।’

फ्लडलाइट जडानका लागि हाल ३ वटा बेस पूर्णरूपमा तयार भइसकेर पोल जडान गर्न मिल्ने अवस्थामा छन् । चौथो बेसका लागि पनि काम सुरु भइसकेको छ भने बाँकी दुई फ्लडलाइट जडानका लागि पनि ठाउँ हेरेर काम सुरु गरिने उनले बताए ।
असार मसान्तभित्र सक्ने दाबी
सुरुमा तोकिएको समयसीमाभित्र सम्पन्न गर्न नसकेपनि अब दिइएको समयमा भने काम सम्पन्न गरिने प्यारापिट निर्माण कम्पनीका सञ्चालक पौडेलको दाबी छ ।
‘नेपाल सरकारले थप गरेको म्यादअनुसार असार मसान्तभित्रमा काम जसरी पनि सकिन्छ, कुनै भवितव्य नभएमा अब चाहिँ कुनै ढिलाइ हुँदैन’ उनले भने ।
उनका अनुसार अहिले दुई सिफ्टमा गरेर दिनमा २० घण्टा काम भइरहेको छ । ‘२४ घण्टामा १२-१२ को सिफ्ट छ तर बीचमा खाना खानेदेखि केही समय आराम गर्ने समय दिएर दिनमा २० घण्टाको काम चाहिँ भइरहेको छ’ उनले भने ।

आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तभित्र काम सक्ने गरी तीव्रताका साथ निर्माण कार्य भइरहेको बताएका छन् । ‘प्यारापिटको काम त असार मसान्तभित्र सकिने पक्कापक्की छ, फ्लडलाइट पनि उहाँहरुले सक्छु नै भन्नुभाको छ, त्यही विदेशबाट आउने लाइट कुन समयमा आइपुग्छ भन्ने कुरा हो’ उनले भने ।
कण्ठका अनुसार प्यारापिटको बाहिरी क्षेत्रमा हालका लागि अन्य संरचना केही बन्ने छैन । ढलानको बाटो भने निर्माण गरिनेछ । ‘अहिलेलाई बाटोसम्म चाहिँ ढलान गरेर छाड्छौं, अन्य संरचना बनाउँदा फेरि पछि काम गर्दा भत्काउनुपर्छ त्यसकारण बाहिर अन्य त्यस्तो धेरै केही संरचना बन्दैन’ उनले भने ।
नेपाल सरकारको योजनामा अघि बढेको प्यारापिट निर्माणको प्रगति निरिक्षण गर्नका लागि सहरी विकासमन्त्री लगायत क्यानका पदाधिकारी पनि पुग्ने गरेका छन् ।
तस्वीरहरू: विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4