
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी कन्सुलर अफेयर्स ब्युरोले मार्च २०२४ मा ७६१ नेपालीले एफ–वान विद्यार्थी भिसा पाएको जानकारी दिए।
- अमेरिकाले २०२४ आर्थिक वर्षमा १३ हजार १८७ नेपाली विद्यार्थीले भिसा प्राप्त गरेका छन्, जुन गत वर्षको भन्दा दोब्बर हो।
- सामाजिक सञ्जाल र कडाइका कारण नेपाली विद्यार्थीहरूको अमेरिका जाने आकांक्षा प्रभावित भएको देखिन्छ।
१४ जेठ, काठमाडौं । अमेरिकाको ‘स्टुडेन्ट भिसा’ पाउने नेपालीको संख्या फेब्रुअरी महिनाको तुलनामा मार्च महिनामा केही घटेको छ ।
अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यसै वर्षको मार्च महिनामा ७६१ नेपालीले एफ–वान विद्यार्थी भिसा पाएका छन् । यो संख्या फेब्रुअरी महिनाको तुलनामा ४१ जनाले कम हो ।
फेब्रुअरीमा ८०२ नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए, जुन चालु आर्थिक वर्षको हालसम्मकै बढी थियो । जनवरीमा ७५०, डिसेम्बरमा ६१६, नोभेम्बरमा १६७ र अक्टोबरमा ७१२ जना नेपालीले एफ–वान भिसा पाएका थिए ।
मार्च महिनामा अमेरिकाको एफ–टु भिसा पनि ३६ जना नेपालीले प्राप्त गरेका छन् । एफ–टु भिसा एफ–वान विद्यार्थीका आश्रित (डिपेन्डेन्ट)लाई दिइन्छ ।
भिसा प्राप्तिमा वार्षिक वृद्धिदर भने उत्साहजनक
अमेरिकाले आफ्ना विश्वविद्यालय र विदेशी विद्यार्थीमा कडाइ गरिरहेका बेला आर्थिक वर्ष २०२४ (अक्टोबर २०२३–सेप्टेम्बर २०२४) मा अमेरिकी सरकारबाट १३ हजार १८७ नेपाली विद्यार्थीले एफ–वान भिसा प्राप्त गरिसकेका छन् । यो संख्या आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो ।
स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर इन्फरर्मेसन सिस्टम (सेभिस) को पछिल्लो रिपोर्ट अनुसार हाल अमेरिकाभर १६ हजार ९३३ नेपाली विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १० हजार ४३० पुरुष र ६ हजार ५०३ जना महिला छन् ।
जनवरी २०२४ मा नेपाली विद्यार्थीको संख्या २० हजार १५३ पुगेको थियो । मार्च २०२४ मा भने अझै बढेर २३ हजार ४३५ सम्म पुगेको थियो ।
विदेशी विद्यार्थीहरूप्रति ट्रम्प प्रशासनको बदलिंदो कडा नीति, सामाजिक सञ्जालको व्यापक जाँचदेखि भिसा प्रक्रियामा कडाइसम्मका उपायहरूले अमेरिकी शिक्षालयमा अध्ययन गर्ने आकांक्षी विद्यार्थीहरूलाई थप अन्योलमा पारेको छ ।
यद्यपि भिसा प्राप्तिको कूल संख्याले नेपाली विद्यार्थीहरूको अमेरिका जाने चाहना अझै नघटेको तर नीति र प्रक्रियाले त्यसलाई असर पर्न थालेको संकेत भने गरेको छ ।
प्रतिक्रिया 4