
१६ जेठ, काठमाडौं । नेपाल घुमाइदिने प्रलोभनमा भारतीय गिरोहले काठमाडौंमा बंगलादेशी नागरिकलाई अपहरण गरेर लाखौं असुली गरेको खुलेको छ ।
भारत, काठमाडौं र हङकङ गरी तीन देशमा बसेर बंगलादेशी नागरिकबाट फिरौती असुली भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धानबाट खुलेको हो ।
काठमाडौं प्रहरीको विशेष टोलीले यो अन्तरदेशीय अपहरणमा संलग्न गिरोहका ५ भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको नयाँ दिल्लीका ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, पञ्जाबकै ३६ वर्षीय सन्दिप कुमार, पञ्जाबकै ३८ वर्षीय जसप्रित सिंह र कानपुरका ६४ वर्षीय रमेश जाधव छन् ।
काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराका अनुसार, यो गिरोहले अपहरित परिवारका सदस्यसँग क्रिप्टोमा असुली गरेको समेत भेटिएको छ । ‘यो समूहले यसअघि पनि यस्तै प्रकृतिको घटना गरेको हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेका छौं’, उनी भन्छन् ।
भाडाको घरमा राखेर असुली
भारतीय अपहरणकारी गिरोहले अनलाइन मार्फत बंगलादेशी नागरिकसँग सम्पर्क गरी काठमाडौं बोलाएको पाइएको एक अधिकृतले बताए ।
ती अधिकृतका अनुसार यो समूहले विभिन्न नाममा फेक आइडी बनाएर उनीहरूसँग कुरा गर्दै यूरोप पठाउनेदेखि सस्तोदरमा नेपाल घुमाउने प्रलोभन देखाएको पाइएको छ ।
भारतीयले देखाएको प्रलोभनमा विश्वास गरेर बंगलादेशी नागरिकहरू काठमाडौं आएको र त्यसपछि उनीहरूलाई अपहरण गरी बन्धक बनाउँदै लुट्नेदेखि फिरौती असुल्नेसम्म गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
भारतीयको फिसिङमा परेर आएका बंगलादेशीहरूलाई सुरुमा विश्वासमा दिलाउन ठमेल, गौशालाको होटलहरूमा समेत राख्ने गरिएको थियो । त्यसपछि मासिक ७० हजार रुपैयाँ तिरेर सिंगो घर नै भाडा लिएको ठाउँमा लगेर बन्धक बनाउने गरेको पाइएको परिसरका एसपी बोहराले बताए ।
भारतीय समूहले बन्धक बनाएर रकम असुल्नकै लागि विगत दुई महिनादेखि मासिक ७० हजार रुपैयाँ तिरेर घर भाडामा लिएको खुलेको छ । भारतीय नागरिक जसप्रित सिंहले ललितपुर महानगरपालिका–१५, बोधीनगरस्थित नयनकृष्ण श्रेष्ठको घर भाडामा लिएको खुलेको छ ।
जसप्रित सिंह आफैं भने पुल्चोकको हिमालय अपार्टमेन्ट होटलको कोठा नम्बर ३०३ मा १९ चैतदेखि प्रति महिना ५२ हजार रुपैयाँ भाडा तिर्दै बस्ने गरेको पाइएको एक अनुसन्धान अधिकृतले अनलाइखबरलाई बताए ।
उनी यो अपहरण र फिरौतीका मुख्य नाइके भएको प्रहरीले बताएको छ ।
यो घरमा लगेर बन्धक बनाएपछि हातखुट्टा बाँध्ने, पाइपले पिट्ने, मार्नेसम्मको धम्की दिने र परिवारलाई भिडिओ कल गरेर सम्पर्क गराउँदै फिरौती नदिए मारिदिनेसम्मको धम्की यो समूहले दिएको खुलेको छ ।
बंगलादेशी नागरिकलाई होटलबाट लिएर ललितपुरको घरमा बन्धक बनाउने राने भनिने अर्का व्यक्ति चाहिँ फरार छन् ।
अपहरित भाइ खोज्दै बंगलादेशदेखि काठमाडौंसम्म
अनुसन्धानका क्रममा यो गिरोहका सदस्यहरूले सामाजिक सञ्जालमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर उनीहरूलाई यातना दिएको तस्वीर र भिडियो पठाउने गरेको खुलेको छ ।
‘चक्कुले घाँटी काट्न लागेको तस्वीर र भिडिओ समेत पठाएर फिरौती माग्ने गरिएको रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यो रकम बिनान्स एप मार्फत क्रिप्टोकरेन्सीमा पठाउन लगाउने गरिएको थियो ।’
यसरी रकम हाल्दा पनि नछाडेपछि पीडित सब्बिर अहमदका दाइ एमडी फोल्ज रब्बी भाइको उद्धारका लागि ७ जेठमा काठमाडौंसम्म आइपुगेका थिए ।
उनले भारतीय अपहरणकारीबाट भाइ छुटाउनका लागि ३० हजार अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी बिनान्स मार्फत हालिसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । त्यति हाल्दा पनि छाड्नुको साटो उल्टै धम्क्याउँदै निरन्तर फिरौती मागेपछि आजित भएर उनी काठमाडौं आएको प्रहरी बताउँछ ।
बंगलादेश एअर लायन्समार्फत काठमाडौं आएका उनले ८ जेठमा प्रहरी वृत्त गौशालामा निवेदन दिएका थिए । त्यसपछि अनुसन्धान गरेको प्रहरीले सब्बीरमात्रै नभएर अरु ६ जना पनि अपहरणमा परेको पत्ता लगाएको थियो ।
अहिलेसम्म यो भारतीय गिरोहले सात जना बंगलादेशी नागरिकलाई अपरहण गरी बन्धक बनाउँदै रकम असुलेको देखिएको परिसरका एसपी बोहरा बताउँछन् । यो समूहले तहुद अहमद, जहिदुल गनी, मजाहिन्दुल इस्लाम, सब्बीर अहमद, जोलिल अब्दुल, मोहीउदिन फर्हान र किब्राई अहमद अपहरण गर्दै बन्धक बनाएर फिरौती असुलेको भेटिएको छ ।
यसरी भयो अपहरण
अपहरण परेका तहुद ७ मे २०२५ मा काठमाडौं आएका थिए । उनी १० मेमा ठमेलबाट अपहरणमा परेका थिए । ठमेलस्थित ग्यालरी होटलबाट उनी र जहिदुल भारतीय नागरिक रानेसँग निस्केको सीसीटीभी फुटेज प्रहरीले फेला परेका थिए । अहिदुल भने ८ मेमा काठमाडौं आइपुगेका थिए ।
अपहरण गरेर ललितपुरको घरमा लगेर बन्धक बनाउँदै असुली गरिएको खुलेको छ ।
सुरुमा तहुदसँग भएको ३ हजार ५ सय अमेरिकी डलर यो समूहले लुटेको थियो । पछि उनको परिवारसँग समेत फिरौती माग्दै रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी अहिले भने बंगलादेश फर्किसकेको छन् ।
जहिदुलबाट ३२ सय अमेरिकी डलर र मोबाइल लुटपाट भएको थियो । उनको परिवारबाट पनि फरौती रकम असुल गरिएको पीडितले बताएका छन् । उनी अहिले पनि काठमाडौंमै छन् ।
१६ मेमा काठमाडौं आएका मजाहिदुलाई त्यसको भोलिपल्ट १७ मेमा गौशालाबाट भारतीय नागरिकले अपहरण गरेका थिए । उनको साथमा रहेको १९ सय अमेरिकी डलर लुट्नुका साथै परिवारसँग फिरौती असुली भएको थियो ।
१६ मेमै काठमाडौं आएका सब्बीर पनि त्यसको भोलिपल्ट १७ मेमा गौशालाबाटै अपहरित भएका थिए । उनीसँग भएको २ हजार अमेरिकी डलर भारतीय अपहरणकारीले लुटेका थिए ।
यो बाहेक बंगलादेशमा रहेका उनका दाइ एमडी फोज्ले रब्बीले समेत क्रिप्टोकरेन्सीमार्फत ३० हजार अमेरिकी डलर फिरौती स्वरुप हालेको पाइएको छ ।
सब्बीर र मजाहिदुललाई सुरुमा सिनामंगलस्थित शम्भुमार्गको मिडिल टेम्पल होटलमा राखिएको थियो । त्यहाँबाट ४ जेठमा उनीहरूलाई भारतीय नागरिक रानेले लिएर निस्केको सीसी क्यामेरामा कैद भएको थियो । सीसी टीभी फुटेज पछ्याउँदै प्रहरी ललितपुरको घरसम्म पुगेको थियो ।
१९ मेमा काठमाडौं आएका जोलिललाई त्यसैदिन गौशालाबाट भारतीय गिरोहले अपहरण गरेको थियो । उनीसँगै भएको २ हजार २० अमेरिकी डलर लुट्नुका साथै परिवारबाट समेत फिरौती असुली भएको थियो ।
मोहिउदिन पनि १९ मेमा काठमाडौं आएका थिए । प्रहरीका अनुसार, उनी त्यसैदिन गौशालबाट अपहरणमा परे र उनीसँग भएको २ हजार ५ सय अमेरिकी डलर लुटियो ।
किब्राई १९ मेमा काठमाडौं आएका थिए । त्यसैदिन उनलाई गौशालाबाट भारतीय गिरोहले अपहरण गरेको थियो । उनीसँग भएको २ हजार ६ सय अमेरिकी डलर लुटिनुका साथै परिवारसँग पनि फिरौती असुलिएको थियो ।
प्रतिक्रिया 4