+
+
Shares

गायक तथा संगीतकार गणेश रसिकको निधन

उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिनियर संगीतकार तथा गायक गणेश रसिकको निधन भएको खबर आइतबार काठमाडौंको नेपाल क्यान्सर अस्पतालमा पुष्टि भयो।
  • उहाँलाई पाँच वर्षदेखि क्यान्सरले पीडित रहेको परिवार र संगीतकार संघले जानकारी दिए।
  • उनको दाहसंस्कार बेलायतबाट फर्किएका छोरीको उपस्थितिमा गरिनेछ।

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक तथा संगीतकार संघ दुवै स्रोतले जनाएका छन् ।

७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनका भाइ नाता पार्ने संगीतकार वसन्त मुकारुङका अनुसार अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।

संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भीर अर्थ भेटिन्छन् ।

उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी संग्रह पनि प्रकाशित गरेका छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।

रसिकले बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निर्वाह गरे ।

रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।

नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?