+
+
Shares

नियो बैंक : नेपालको अर्थतन्त्रमा डिजिटल छलाङ

नियो बैंक स्थापनाका लागि परम्परागत बैंकको जस्तो ठूलो भौतिक पूर्वाधारमा लगानी नभए पनि, अत्याधुनिक र सुरक्षित डिजिटल पूर्वाधार तथा दक्ष मानवसंशाधनमा निकै ठूलो लगानीको आवश्यकता पर्छ ।प्रारम्भिक चरणमा कुल अनुमानित पूँजी आवश्यकता १ अर्ब ५० करोडदेखि ५ अर्बसम्म हुन सक्छ ।

राजन कुमार झा राजन कुमार झा
२०८२ जेठ १८ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ।
  • नियो बैंक भनेको भौतिक शाखाविहीन, मोबाइल एप वा वेबसाइटमार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्था हो।
  • नेपालमा डिजिटल भुक्तानी र प्रविधिमैत्री युवाशक्ति र डिजिटल साक्षरताका कारण यसले ठूलो अवसर प्रदान गर्न सक्छ।

बदलिँदो प्रविधिको लहरले विश्वभरिका हरेक क्षेत्रमा क्रान्ति ल्याएको छ, र वित्तीय सेवा पनि यसबाट अछुतो छैन । परम्परागत बैंकका भौतिक सीमा भत्काउँदै, पूर्णतया डिजिटल माध्यमबाट सञ्चालित ‘नियो बैंक’ को  अवधारणा विश्वव्यापी रूपमा चुलिएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत नियो बैंक स्थापना गर्ने स्पष्ट घोषणा गरेर यस दिशामा एक दुरगामी र साहसिक कदम चालेको छ । यो केवल एउटा नीतिगत निर्णयमात्र नभएर नेपालको वित्तीय समावेशिता, आर्थिक विकास र प्रविधिमैत्री समाज निर्माणतर्फको एक महत्त्वपूर्ण मोड हो जसले २१औं शताब्दीको वित्तीय आवश्यकता सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

नियो बैंकको अन्तर्य

सरल भाषामा भन्दा नियो बैंक भनेको भौतिक शाखाविहीन, पूर्णतया मोबाइल एप वा वेबसाइट मार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्था हो । यसले ग्राहकलाई परम्परागत बैंकका ठूला भवन, काउन्टर र लामो लाइनको झन्झटबाट मुक्ति दिँदै, आफ्नै हत्केलामा चौबिसै घण्टा बैंकिङ सुविधा उपलब्ध गराउँछ ।

नियो बैंकहरूले परम्परागत बैंकिङभन्दा फरक भएर भौगोलिक सीमाहीन सेवा, कम सञ्चालन खर्चले ग्राहकलाई कम शुल्क र आकर्षक ब्याजदरको सिधा फाइदा पुर्‍याउन सक्छन् । एआई र डेटा एनालिटिक्स जस्ता उन्नत प्रविधि प्रयोग गर्दै नियो बैंकले ग्राहकलाई व्यक्तिगतकृत, छिटो र कागजविहीन डिजिटल सेवा दिन्छन् । यसले नयाँ उत्पादन विकासमा तीव्रता ल्याउनुका साथै वित्तीय समावेशितालाई बढावा दिँदै दुरदराजका समुदायलाई समेत वित्तीय सेवामा जोड्छ ।

नेपालको डिजिटल उत्थान

नेपालमा डिजिटल भुक्तानीको तीव्र वृद्धिले नियो बैंकजस्ता पहलका लागि ढोका खोलेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ चैत मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख नाघेको छ भने मासिक ४ खर्ब रुपैयाँभन्दा बढीको कारोबार डिजिटल माध्यमबाटै हुन्छ ।

यहीकारण आगामी आव २०८२/८३ को बजेटमा नियो बैंक स्थापनाको घोषणा समयको माग र भविष्यको आवश्यकता दुवै हो, जसले वित्तीय प्रतिस्पर्धा, नवप्रवर्तन र समावेशिता बढाउने सरकारी प्रतिबद्धता देखाउँछ । राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेर यस दिशामा आफ्नो दुरदर्शिता अझ प्रष्ट पारेको देखिन्छ ।

नेपालमा डिजिटल भुक्तानीको तीव्र वृद्धिले नियो बैंकजस्ता पहलका लागि ढोका खोलेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ चैत मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख नाघेको छ भने मासिक ४ खर्ब रुपैयाँभन्दा बढीको कारोबार डिजिटल माध्यमबाटै हुन्छ ।

विश्वव्यापी प्रचलन र दक्षिण एसियाली परिदृश्यमा नियो बैंक

नियो बैंकको चलन अहिले विश्वभरि निकै बढेको छ । विकसित देशमा त यिनले पुराना बैंकलाई सिधै चुनौती दिएर गजबको सफलता पाएका छन् । युरोपमा ‘मोन्जो’ र ‘रिभोलट’ ले लाखौं ग्राहकलाई आफूतिर तानिसकेका छन् भने अमेरिकामा ‘चाइम’ र ‘भारो बैंक’ ले पनि राम्रै बजार हिस्सा ओगटेका छन् ।

दक्षिण एसियामा नियो बैंकको यात्रा भर्खरै सुरु हुँदैछ, तर केही देशले यसमा अग्रसरता देखाइसकेका छन् । भारत त प्रविधिमा आधारित वित्तीय सेवा (फिनटेक) को केन्द्र नै मानिन्छ, जहाँ ‘रेजरपेएक्स’, ‘ओपन’, ‘नियो’  जस्ता नियो बैंकहरूले स्टार्टअप, साना तथा मझौला व्यवसाय (एसएमईज) र युवालाई लक्षित गरेर डिजिटल बैंकिङ समाधान दिइरहेका छन् ।नेपालमा भने अहिलेसम्म पूर्ण नियो बैंक आएका थिएनन् । तर, सरकारले बजेटमा यो घोषणा गरेपछि अब यो सपना साकार हुने सम्भावना एकदमै बलियो भएको छ ।

नेपालमा नियो बैंकको व्यापार आकार र सम्भावित ग्राहक

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार लगभग १८ प्रतिशत मानिस अझै पनि बैंक वा कुनै वित्तीय संस्थामा जोडिएका छैनन् । यस्तो अवस्थामा नेपालको जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगटेका प्रविधिमैत्री २० देखि ४० वर्षका युवा, जो ९० प्रतिशत इन्टरनेट प्रयोगकर्ता छन्, नियो बैंकका लागि मुख्य ग्राहक हुन सक्छन् । यतिमात्र होइन, लगभग ९ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगलाई नियो बैंकले खास खालका डिजिटल खाता, ऋण र भुक्तानी प्रणाली दिएर आफूतिर तान्न सक्ने सम्भावना उत्तिकै प्रवल देखिन्छ ।

त्यस्तै विदेशबाट आउने रेमिट्यान्सलाई डिजिटल रूपमा सहजै भित्र्याउने र व्यवस्थापन गर्ने काममा पनि नियो बैंकले ठूलो भूमिका खेल्न सक्छ । नेपालमा ई–कमर्स पनि द्रुत गतिमा फैलिरहेको छ र नियो बैंकले ई–कमर्स कम्पनीसँग मिलेर भुक्तानी अझै सरल बनाउन सक्छन् ।

नियो बैंकले परम्परागत बैंकका आधारभूत सेवा अतिरिक्त ग्राहक आवश्यकता अनुसारका विशेष सेवा प्रदान गर्न सक्छ, जसमा बचत खाता, चल्ती खाता, डिजिटल ऋण, भुक्तानी सेवा, रेमिट्यान्स सेवाजस्ता आधारभूत बैंकिङ सेवा पर्छन् । साथै, बजेटिङ र खर्च ट्र्याकिङ उपकरण, स्वचालित बचत सुविधा जस्ता वित्तीय व्यवस्थापन उपकरणहरू पनि यसले प्रदान गर्न सक्छ ।

साना व्यवसायका लागि कर्जा, माइक्रोफाइनान्सियल सेवा, बीमा उत्पादनको डिजिटल वितरण जस्ता विशेष उत्पादन साथै अन्य फिनटेक कम्पनी वा व्यवसायीसँग सहकार्यका लागि ओपन एपीआई .एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) प्रदान गरी नवीन इकोसिस्टम निर्माण गर्ने र भौतिक कार्डको आवश्यकताविना नै अनलाइन र पीओएसमा प्रयोग गर्न सकिने भर्चुअल डेबिट÷क्रेडिट कार्ड प्रदान गर्ने क्षमता नियो बैंकमा हुन्छ ।

नेपालमा डिजिटल बैंकिङका वर्तमान अभ्यासकर्ताहरू र उनीहरूको नियो’ झुकाव

नेपालमा पूर्णतया नियो बैंकको अवधारणा कार्यान्वयनमा नआए पनि धेरै बैंक र भुक्तानी सेवाप्रदायकले डिजिटल सेवा व्यापक बनाएर नियो मोडेलतर्फको झुकाव देखाएका छन् । बैंकहरूमध्ये नबिल बैंकको ‘नबिलडीजी बैंक’, ‘नबिलिएन–बैंक’ (नबिनल एन–बैं) पूर्णतया डिजिटल प्रक्रिया मार्फत खाता खोल्ने र केही आधारभूत बैंकिङ सेवा प्रदान गर्ने एक उदाहरण हो ।

ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक लगायत धेरै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भर्चुअल खाता खोल्ने सुविधा र क्यूआर भुक्तानीलाई उच्च प्राथमिकतामा राखेका छन् । कतिपय बैंकहरूले ‘डिजिटलशाखा’ को अवधारणा अघि सारेका छन् । भुक्तानी सेवा प्रदायकहरू जस्तै ई–सेवा, खल्ती, आईएमईपे, फोनपे, कनेक्टआईपीएसले भुक्तानीका क्षेत्रमा डिजिटल क्रान्ति ल्याएका छन् ।  नेपालमा डिजिटल कारोबारको बानी बसाल्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

नेपालमा पूर्णतया नियो बैंकको अवधारणा कार्यान्वयनमा नआए पनि धेरै बैंक र भुक्तानी सेवाप्रदायकले डिजिटल सेवा व्यापक बनाएर नियो मोडेलतर्फको झुकाव देखाएका छन् ।

अनुमानित पूँजी र पूर्वाधार आवश्यकता

नेपालमा नियो बैंक स्थापनाका लागि पूँजी र पूर्वाधारको आवश्यकता परम्परागत बैंकको तुलनामा केही फरक रकम हुने भए पनि यसका आफ्नै विशिष्ट खर्चहरूहुन्छन् । राष्ट्र बैंकले नयाँ डिजिटल बैंकिङ लाइसेन्सका लागि छुट्टै पूँजी तोक्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सन्दर्भ हेर्दा प्रारम्भिक चरणमा १ देखि ३ अर्बसम्मको चुक्ता पूँजी आवश्यक हुन सक्छ । यस अतिरिक्त सफ्टवेयर लाइसेन्स, क्लाउड सर्भिस, सुरक्षा प्रणाली र प्रारम्भिक कर्मचारी खर्चका लागि थप ५० करोडदेखि १ अर्बसम्मको सञ्चालन पूँजी आवश्यक पर्ने देखिन्छ ।

नियो बैंकका लागि भौतिक पूर्वाधार आवश्यकता कम भए पनि बलियो र सुरक्षित डिजिटल पूर्वाधार अपरिहार्य छ ।यसका लागि अत्याधुनिक र स्केलेबल कोर बैंकिङ सफ्टवेयरमा करिब ५० करोडदेखि १अर्बसम्म लगानी आवश्यक हुन सक्छ ।साइबर सुरक्षा प्रणालीमा २० करोडदेखि ५० करोडसम्म र क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, एआई÷एमएल प्लेटफर्म तथा मोबाइल र वेब एप विकासमा पनि उल्लेख्य लगानी (प्रारम्भिक सेटअपका लागि समग्रमा ३५ करोडदेखि ७५ करोडसम्म) आवश्यक पर्छ । मानव संशाधनतर्फ नियो बैंकमा भौतिक शाखा र कर्मचारी संख्या कम भए पनि उच्च दक्ष आईटी पेसेवर, साइबर सुरक्षा विशेषज्ञ, डेटा वैज्ञानिक र नियामक अनुपालन अधिकारीहरूको आवश्यकता पर्छ ।

प्रारम्भिक चरणमा कम्तीमा ५० देखि १ सय उच्च दक्ष कर्मचारीको टिम आवश्यक हुन सक्छ । समग्रमा नियो बैंक स्थापनाका लागि परम्परागत बैंकको जस्तो ठूलो भौतिक पूर्वाधारमा लगानी नभए पनि, अत्याधुनिक र सुरक्षित डिजिटल पूर्वाधार तथा दक्ष मानवसंशाधनमा निकै ठूलो लगानीको आवश्यकता पर्छ ।प्रारम्भिक चरणमा कुल अनुमानित पूँजी आवश्यकता १ अर्ब ५० करोडदेखि ५ अर्बसम्म हुन सक्छ ।

चुनौती र समाधानका दिशा

नेपालमा नियो बैंकको सपनाले डिजिटल वित्तीय क्रान्ति ल्याउने सम्भावना बोकेको छ, तर यसलाई साँच्चै वास्तविकतामा बदल्न केही महत्त्वपूर्ण अवरोध छिचोल्नै पर्छ । सबैभन्दा पहिले नियो बैंक कसरी चल्ने भन्ने स्पष्ट नियमन हुनु नै ठूलो चुनौती हो ।

यसका लागि नेपाल राष्ट्र बैंकले विदेशका राम्रा अभ्यास हेरेर हाम्रो देश सुहाउँदो प्रगतिशील नियम जतिसक्दो चाँडो बनाउनुपर्छ । अनि, सबै कारोबार डिजिटल हुने भएपछि साइबर आक्रमण र डेटा चोरीको डर स्वाभाविक रूपमा बढ्छ ।त्यसैले, व्यक्तिगत जानकारी जोगाउने बलियो कानुन, विश्वस्तरीय सुरक्षा प्रणाली र नियमित जाँच अत्यावश्यक छ ।

नियो बैंक स्थापनाका लागि परम्परागत बैंकको जस्तो ठूलो भौतिक पूर्वाधारमा लगानी नभए पनि, अत्याधुनिक र सुरक्षित डिजिटल पूर्वाधार तथा दक्ष मानवसंशाधनमा निकै ठूलो लगानीको आवश्यकता पर्छ ।प्रारम्भिक चरणमा कुल अनुमानित पूँजी आवश्यकता १ अर्ब ५० करोडदेखि ५ अर्बसम्म हुन सक्छ ।

यसका साथै, गाउँघरमा डिजिटल ज्ञानको कमी छ र भरपर्दो इन्टरनेट तथा बिजुली पनि अझै राम्ररी पुगेको छैन ।यो समस्या समाधान गर्न सरकार र राष्ट्र बैंकले व्यापक डिजिटल वित्तीय साक्षरता अभियान चलाउनुका साथै, देशभरि सस्तो र उच्च गतिको इन्टरनेट पूर्वाधारमा लगानी बढाउनै पर्छ ।

हाम्रा धेरै ग्राहकलाई अझै पनि भौतिक बैंकका शाखा गएर कारोबार गर्ने बानी छ । नियो बैंकले असाध्यै पारदर्शी सेवा, उत्कृष्ट अनुभव र बलियो ग्राहक संरक्षण दिएरमात्र उनीहरूको विश्वास जित्न सक्छ । अन्त्यमा, वित्तीय अपराध रोक्न (एएमएल) ग्राहक चिन्न र हरेक कारोबारको निगरानी गर्न अलि जटिल हुन सक्छ, जसका लागि अत्याधुनिक ‘ई–केवाईसी’ अनुगमन प्रणाली अझ बलियो बनाउन आवश्यक छ ।

अन्त्यमा,

आगामी आव २०८२/८३ को बजेटमा नियो बैंकको परिकल्पना नेपालको वित्तीय आधुनिकीकरण र डिजिटल समावेशितामा एउटा क्रान्तिकारी कदम हो । यसले वित्तीय सेवालाई पहुँचयोग्य, प्रभावकारी र ग्राहक केन्द्रित बनाउने ठूलो सम्भावना बोकेको छ । परम्परागत बैंकिङ पहुँच बाहिर रहेका धेरै मानिस, बढ्दो डिजिटल साक्षरता र प्रविधिमैत्री युवाशक्ति नियो बैंकका लागि विशालअवसर हुन् । यद्यपि, नियामक अस्पष्टता, साइबर सुरक्षा जोखिम, कमजोर पूर्वाधार र ग्राहकको विश्वासजस्ता चुनौतीलाई बेवास्ता गर्न मिल्दैन ।

तर स्पष्ट नीति, बलियो नियमन, सुरक्षित प्रविधि र व्यापक डिजिटल साक्षरता साथ अघि बढे नेपालले नियो बैंकमार्फत एक समावेशी र गतिशील डिजिटल वित्तीय भविष्य कोर्न सक्छ । यो केवल बैंकिङ प्रणाली रूपान्तरण मात्र नभई, समग्र नेपाली समाजकोआर्थिक सशक्तीकरणका लागि एउटा ऐतिहासिक फड्को हुनेछ, जसले सन् २०४५ सम्म उच्च–मध्यम आय भएको देश बन्ने राष्ट्रिय लक्ष्यलाई समेत सघाउने छ ।

(लेखक अर्थतन्त्रका विविध विषयमा कलम चलाउँछन् ।)

लेखक
राजन कुमार झा

झा अर्थतन्त्रका विविध विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?