+
+
Shares

बालाजुमा १० वर्षपछि पौडी पोखरी सञ्चालन

बालाजु बाइसधारा उद्यानस्थित पौडी पोखरी १० वर्षपछि सञ्चालन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालाजु बाइसधारा उद्यानस्थित पौडी पोखरी १० वर्षपछि सञ्चालनमा आएको छ।
  • पोखरीको उद्घाटन काठमाडौं महानगरपालिका–१६ की अध्यक्ष रोजिना श्रेष्ठले गरेकी थिइन्।
  • पौडी पोखरीको संरचना ७ करोड ४३ लाख रुपैयाँमा पुनर्निर्माण गरिएको हो।

१८ वैशाख, काठमाडौं । बालाजु बाइसधारा उद्यानस्थित पौडी पोखरी १० वर्षपछि सञ्चालन भएको छ ।

काठमाडौं महानगरपालिका–१६ की अध्यक्ष रोजिना श्रेष्ठले आइतबार पोखरीको सुरुवात गरेकी थिइन् । आइतबार पहिलो दिन २०५ जनाले पौडी खेलेका छन् । उनीहरूबाट ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख नीरञ्जनविक्रम बस्नेतले जानकारी दिए ।

पौडी उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले पोखरीमा स्थानीयहरूले सहुलियत पाउनु पर्नेसहित माग राखेको बताइन् । अहिले आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरपालिकाले जारी गरेको आर्थिक ऐन अनुसारको शुल्क लिइएको भन्दै उनले पौडी पोखरी सञ्चालनका लागि मस्यौदा कार्यविधि तयार भइसकेको र सो कार्यविधि र आर्थिक वर्ष २०८२/०८३ को लागि जारी गरिने आर्थिक ऐनबाट स्थानीयका माग सम्बोधन गरिने बताइन् ।

कस्तो छ पौडी पोखरी

१८ लाख लिटर पानी भरिएको पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ ।

पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली छ । स्नान घर, शौचालय र लकर सुविधा उपलब्ध गराइएको छ । पोखरीको छेउमा १५० जना दर्शक बस्ने क्षमताको ठाउँ छ ।

पोखरीमा जीवन रक्षाका लागि नेपाल पौडी संघसँगको सहकार्यमा १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति परिचालन गरिएको छ ।

बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा एक्काइसवटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बिचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो ।

२०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि २०२१ सालदेखि खुला भएको हो ।

७ करोड ४३ लाखमा पुनर्निर्माण

२०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनर्निर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुन्निर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो ।

निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?