+
+
Shares

गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेन माओवादी

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:०९

२१ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ ।

सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख/मुख्य सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका थिए ।

बैठकबाट बाहिरिएपछि अनलाइनखबरसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भिजिट भिसा प्रकरणबाट गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेका छन् भने माओवादी केन्द्रले गतिरोध अन्त्य गर्ने भए पहिले राजीनामा दिनुपर्ने अडान राखेको छ ।

मंगलबार संसद बैठक सन्चालनको वातावरण बनाउने प्रयासमा सभामुख घिमिरेले दिनभर छलफल गरे पनि सहमति नजुटेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो ।

दलहरु आ–आफ्नो अडानमा कायम रहेकाले आज दिउँसो एक बजे बस्ने भनिएको संसद बैठक पनि बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?