
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्र निकट संगठन वाईसीएलको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
- सहमतिका अभावमा नयाँ नेतृत्व चयन गर्न नसकिएपछि कार्यतालिका पुनः प्रकाशित गरिएको हो।
- सहमतिका लागि तीन घण्टा समय मागिएको र नयाँ नेतृत्वका लागि १३ आकांक्षी रहेका छन्।
२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।
नयाँ नेतृत्वका लागि आइतबारदेखि जारी सम्मेलनले हालसम्म नेतृत्व चयन गर्न सकेको छैन । बिहीबार सहमतिबाट नयाँ कमिटी ल्याउने तयारी भएपनि सम्भव नभएपछि आजका नयाँ कार्यतालिका प्रकाशित गरिएको छ । तीन दिनका लागि तय भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्न नसक्दा छ दिन लम्बिएको छ ।
शुक्रबार दिउँसो १:१५ बजेदेखि उम्मेदवारी दर्ताको नयाँ कार्यतालिका ल्याइएको थियो । हिजो कार्यतालिका कार्यान्वयन नभएपछि शुक्रबार विहान ८ बजेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । उक्त अवधिमा समेत नयाँ कमिटीका लागि सहमति जुट्न नसकेपछि थप छलफलका लागि समय आवश्यक परेसँगै कार्यतालिका संशोधन गरिएको छ । २:४५ बजे उम्मेदवारको नाम प्रकाशन र दाबी विरोधको समय तोकिएको छ ।
उम्मेदवार उपर परेका उजुरीको सूचना प्रकाशनको समय दिउँसो ३:३० बजे, ३:४५ मा उजुरी उपर छानबिन गरी निर्णय गर्ने निर्वाचन आयोगले निकालेको सूचनामा जानकारी गराइएको छ । उम्मेदवारको अन्तिम नामावली ५:२० बजेका लागि तय गरिएको छ ।
अध्यक्षका एक आकांक्षीले अनलाइनखबरलाई जानकारी दिए अनुसार वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सहमतिका लागि तीन घण्टा समय माग गरेका छन् ।
उनले भने, ‘तीन घण्टामा सहमतिमा नयाँ नेतृत्वका लागि समय आवश्यक रहेको भनेर फ्र्याक्सन इञ्चार्जले भन्नुभयो । सहमति खोज्नका लागि कार्यतालिका संशोधन गरिएको हो ।’
अध्यक्षका लागि १३ जना आंकाक्षी रहेका छन् । पार्टी सचिवालय बैठकले इञ्चार्ज दीपशिखा र संगठन अध्यक्ष सुवोध शेर्पालीलाई सहमतिमा नयाँ नेतृत्व चयनको वातावरण बनाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया 4