+
+
Shares

ओलीको गृहजिल्ला पुग्नु नै विद्या भण्डारीको राजनीतिक सन्देश

अर्थपूर्ण चीन भ्रमण सकेर स्वदेश फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झापा पुगेर दिइन्, राजीतिक सक्रियता अर्को सन्देश ।

सइन्द्र राई सइन्द्र राई
२०८२ जेठ २५ गते २१:०४
Photo Credit : चन्द्रकला भण्डारी/रासस
शनिबार बिर्तामोडमा एमाले कोशी प्रदेश कमिटी विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी उद्घाटन समारोहमा भण्डारी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशको भ्रमणमा विभिन्न कार्यक्रमहरूमा भाग लिइन्।
  • उनी एमालेको ब्यानरमा पहिलो पटक मुख्य वक्ता भएर कार्यक्रममा सहभागी भएकी हुन्।
  • भण्डारीको सक्रियता एमालेभित्रको राजनीतिक सन्देश र पार्टी नेतृत्वको रणनीतिसँग सम्बन्धित रहेको विश्लेषण गरिएको छ।

२५ जेठ, काठमाडौं । चीन भ्रमण सकेर स्वदेश फर्किएको केही दिनभित्रै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशमा केही अर्थपूर्ण कार्यक्रममा भाग लिएकी छन् ।

विराटनगर महानगरपालिकाले गरेको उपमेयर/उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्नेगरी पूर्वराष्ट्रपति भण्डारी कोशी प्रदेशको भ्रमणमा निस्किएकी हुन् । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की एमालेबाटै निर्वाचित नेता हुन् ।

उनकै संयोजनमा पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता रहेर २३ जेठमा विराटनगरमा उपमेयर/उपाध्यक्षहरूको राष्ट्रिय भेला भयो । पालिकाका उपमेयर/उपाध्यक्षहरू अधिकांश महिला भएकाले पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य वक्ता बनाउनु स्वभाविकै देखिन्छ ।

तर पूर्वराष्ट्रपति भण्डारीले शनिबार (२४ जेठमा) झापाको बिर्तामोडमा आयोजित कार्यक्रमको मुख्य वक्ता बन्नु अर्थपूर्ण छ । किनकि बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको कार्यक्रमको आयोजक नेकपा एमाले हो ।

एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले गरेको तीन दिने प्रदेश स्तरीय शैक्षिक सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारी प्रमुख वक्ता बनेकी हुन् । नेताहरूका अनुसार एमालेकै ब्यानरमा पूर्वराष्ट्रपति भण्डारी प्रमुख वक्ता बनेको यो पहिलो कार्यक्रम हो ।

‘यसअघि अनेम संघले गरेको एउटा कार्यक्रममा भाग लिनु भएको थियो । तर पार्टीकै ब्यानरमा फोटो राखेर विद्या भण्डारी मुख्य वक्ता बन्नुभएको यो पहिलो पटक हो’, भण्डारी निकट स्रोत भन्छ । अझ महत्वपूर्ण त एमालेमा ओली बाहेक अरू नेताको तस्वीर ब्यानरमा राख्न समेत बर्जित छ ।

१ भदौ २०८० मा अन्तरपार्टी निर्देशिका–८, जारी गरी एमालेले ओलीको मात्र तस्वीर ब्यानरमा प्रयोग गर्न मातहतको कमिटीलाई निर्देशन दिएको थियो । ‘… अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रजहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, एमालेको निर्देशन थियो ।

ओली बाहेक अरू नेताको तस्वीर ब्यानरमा नराख्ने निर्देशन गएपछि सिन्धुपाल्चोक, सुर्खेत लगायत केही कार्यक्रममा महासचिव शंकर पोखरेलको तस्वीर ब्यानरमा राखिएको थियो । तर त्यसपछि महासचिव पोखरेलको तस्वीर ब्यानरमा देखिन छाड्यो, जताजतै ओली देखिन थाले ।

तर यसपटक ब्यानरमै पूर्वराष्ट्रपति भण्डारीको तस्वीर राखेर कार्यक्रम भयो । यो कार्यक्रम राख्ने प्रविधि विभागका प्रमुख गणेश पोखरेल भने पार्टीको कुनै शक्ति–संघर्षका आधारमा पूर्वराष्ट्रपतिलाई मुख्य वक्ता नबनाइएको बताउँछन् ।

‘भोजपुरको एउटा गाउँमा जन्मेको मान्छे देशको राष्ट्रपतिसम्म हुनुभयो । गणतन्त्रमा यो सम्भव छ भन्ने देखाउन उहाँलाई प्रमुख अतिथि बनाइएको हो’, पोखरेल भन्छन् । यो कार्यक्रम ओलीको गृह जिल्ला झापामै हुनु संयोग मात्र भएको उनी बताउँछन् ।

‘पूर्व राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने निर्णयमा कसैको विमति छैन । बरू प्रदेश कमिटी र पार्टी प्रदेश इन्चार्जको सहमतिमा उहाँ आउनु भएको हो’, पोखरेल भन्छन् । कोशी प्रदेशका इन्चार्ज शेरधन राई आफैं पनि पूर्व राष्ट्रपति भण्डारीसँगै वक्ता रहेकाले पनि यो कार्यक्रमलाई गुटगत शंकाले नहेर्न पोखरेल आग्रह गर्छन् ।

तर निकट विगतका पृष्ठभूमि हेर्दा पूर्वराष्ट्रपति भण्डारीका निम्ति झापामै आयोजित यो कार्यक्रम संयोग मात्र रहेको पत्याउन गाह्रो पर्छ । अझ ब्यानरमा नलेखिए पनि यो कार्यक्रमका सहयोगी संस्था मदन भण्डारी फाउण्डेसन थियो ।

फाउण्डेसनका कोशी ईन्चार्ज गोपाल गुरागाईंको सक्रियतामा झापाकै अर्काे संस्था युथ पावर फाउण्डेसनसँग मिलेर एमालेको प्रविधि विभागलाई मुख्य आयोजक बनाइएको थियो । ‘प्रदेश कमिटीको विभागको ब्यानरमा कार्यक्रम भएपनि मदन भण्डारी फाउण्डेसन र युथ पावर फाउण्डेसन सहयोगी भूमिकामा थियो’, एमालेका एक नेता भन्छन् ।

पूर्वराष्ट्रपति भण्डारीको कोशी भ्रमणलाई नै एमालेभित्र चासोका साथ हेरिएको छ । प्रदेश इन्चार्ज शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई लगायतले स्वागत गर्नु अनि पार्टीको ब्यानरमा पूर्वराष्ट्रपति भण्डारी देखिनुले अझ यो भ्रमण अर्थपूर्ण बन्न पुग्यो ।

विराटनगरमै पनि पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको अध्यक्ष बन्ने प्रश्नलाई सहज तरिकाले लिएको देखिन्थ्यो । आगामी महाधिवेशनबाट एमाले अध्यक्ष बन्नेबारे पत्रकारहरूको चासोमा पूर्वराष्ट्रपति भण्डारीले ‘समय आउने’ संक्षिप्त र सकारात्मक जवाफ दिएकी थिइन् ।

प्रदर्शनी अवलोकन गर्दै भण्डारी । तस्बिरःचन्द्रकला भण्डारी/रासस

यस्तो जवाफ दिएर पूर्वराष्ट्रपति भण्डारी झापा पुग्दा, (शनिबार) एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली मोरङ पुगेका थिए । हेलिकोप्टर प्रयोग गरी मोरङ पुगेका ओली एमाले कार्यक्रमका निम्ति त्यहाँ पुगेका थिएनन् ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्दै मोरङ–५ बाट प्रतिनिधिसभा सदस्य जितेका योगेन्द्र मण्डलको निम्तो मान्न ओली त्यहाँ पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मण्डललाई जिताएकोमा जनतालाई ओलीले धन्यवाद दिए ।

तर, ओली सहभागी भएको कार्यक्रम एमाले सभा नभएको सांसद मण्डलले प्रष्टोक्ति दिए । अर्थात् झापामा पूर्वराष्ट्रपति भण्डारी एमालेको ब्यानरमा सम्बोधन गरिरहँदा ओली भने मोरङमा स्वतन्त्र सांसदको प्रशंसा गर्दै थिए ।

बढ्दो सक्रियता

झापा-मोरङको यो सन्दर्भलाई पनि एमालेभित्र पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक सन्देशकै रूपमा बुझिएको छ ।

‘पूर्वराष्ट्रपति एमाले नेता होइन भन्ने पार्टीभित्र कोही हुनुहुन्न, अब जनताको चाहना अनुसार निर्णय लिन्छु भनेर उहाँले भन्नुभएकै छ’ भण्डारी निकट एक नेता भन्छन्, ‘पार्टीकै नेता भएपछि ब्यानर प्रयोगलाई आश्चार्य मान्नुपर्दैन ।’

पूर्व राष्ट्रपति भण्डारीले १० जेठदेखि गरेको साताब्यापी चीन भ्रमणलाई पनि एमालेको सक्रिय राजनीतिमा फर्कने सन्देशकै रूपमा हेरिएको थियो ।

चीन भ्रमणको क्रममा विद्या भण्डारी ।

एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारी लगायत नेताहरूको नेतृत्व गर्दै भण्डारीले चीन भ्रमण गरेकी थिइन् । चीन भ्रमण लगत्तै एमाले ब्यानरमा देखिएकी हुन् ।

नेताहरूका अनुसार अझै दुई दिनसम्म पूर्वराष्ट्रपति भण्डारी मोरङमा रहनेछन् । मदन भण्डारीको घर इटहरा पुग्ने, पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटवार्ता गर्ने लगायत काम यो दुई दिनमा हुनेछ ।

एमालेमा दुईपटक उपाध्यक्ष बनेका भण्डारीले सक्रिय राजनीतिमा फर्कने सन्देश भने राष्ट्रपति हुँदै दिएकी थिइन् । ११ कात्तिक २०७२ देखि राष्ट्रपति बनेकी भण्डारी २९ फागुन २०७९ सम्म दुई कार्यकाल पदमा रहिन् ।

तर, शितल निवासबाट बाहिरिँदै गर्दा सरकारी सुविधाको निवासमा नबस्ने, अरु सेवासुविधा नलिने जस्ता निर्णय मार्फत् सक्रिय राजनीतिको प्रष्ट सन्देश दिइन् । राजनीतिक गतिविधि भने १४ असार २०८० मा मदन भण्डारी फाउण्डेसनको ब्यानरमा थालेकी थिइन् ।

त्यसयता फाउण्डेसनको ब्यानरमा धेरैजसो गतिविधि गर्दै आएकी छन् । एमालेकै नेता-कार्यकर्ता रहेको फाउण्डेसन एकहिसाबले जनसंगठन बराबरकै बलियो संगठनात्मक संरचनामा छ । भण्डारी निकट नेताहरूले आगामी महाधिवेशनबाटै नेतृत्व फेर्नेगरी उनलाई सक्रिय बनाउन खोजिरहेका छन् ।

तर ११ वर्षदेखि एमाले नेतृत्वमा रहेका ओली भने पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न चाहिरहेका छन् । कतिसम्म भने भण्डारीलाई एमाले अध्यक्ष बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिने नेताहरूलाई समेत कार्बाही गर्ने चेतावनी ओलीले पार्टी बैठकमा दिने गरेका छन् ।

आजै मात्र पनि ओलीले पूर्वराष्ट्रपति भण्डारी लक्षित सार्वजनिक अभिव्यक्ति दिए । कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको २४औं सम्मेलन उद्घाटन गर्दै ओलीले नयाँ नेतृत्वको छलफल थालेर एमालेलाई कमजोर पार्ने खेल सुरु भइसकेको बताए ।

‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन’ ओलीले भने, ‘अनि बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरू सोझै इन्कार गर्नुस् ।’

अझ रमाइलो त अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेर कीर्तिपुर पुगेका ओलीले राजनीतिमा उमेर हदकै आवश्यकता देखेनन् ।

एमाले अध्यक्षमा आफू रहिरहन ओलीले ७० वर्षे उमेर हदको पार्टी निर्णयले फेल खाइसकेको टिप्पणी गरे । ‘७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ?’ ओलीले भने ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?