+
+
Shares

के हो अकुपञ्चर उपचार विधि, कस्तो समस्यामा प्रयोग हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अकुपञ्चर चिनियाँ चिकित्सा पद्धति हो, जसमा शरीरका विशेष विन्दुहरूमा सुईले घोच्ने गरिन्छ।
  • यसले ऊर्जा प्रवाहलाई सन्तुलित राखेर विभिन्न रोगहरू जस्तै माइग्रेन, हाडजोर्नी दुखाइ र तनाव कम गर्न मद्दत गर्दछ।
  • नेपालमा यो उपचार बिस्तारै लोकप्रिय हुँदैछ र प्रशिक्षित चिकित्सकबाट गरिनु आवश्यक छ।

हाडजोर्नी तथा नसासम्बन्धी रोग आम समस्याका रुपमा देखिन थालेको छ । यसमा एलोप्याथिक चिकित्सा पद्धतिले सकारात्मक भूमिका खेले पनि यसमा बिरामीले लामो औषधी सेवन गर्नुपर्ने हुनसक्छ । यसकारण पछिल्लो समय अकुपञ्चर प्राकृतिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेको छ ।

प्राकृतिक र अकुपञ्चर विधिको उपचारमा धेरैले विश्वास पनि राख्न थालेका छन् । अकुपञ्चर कस्तो उपचार विधि हो ? कुन-कुन स्वास्थ्य समस्यामा यो उपचार विधि प्रयोग गरिन्छ ? भन्ने विषयमा अकुपञ्चर विज्ञ डा.जया सत्यालसँग अनलाइनखबरका लागि सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश:

अकुपञ्चर के हो ?

अकुपञ्चर चिनियाँ चिकित्सा पद्धतिअन्तर्गतको चिकित्सा विधि हो । अकु अर्थात सियो र पञ्चर अर्थात घोचाइ । यस अर्थमा स-साना सियोको माध्यमबाट छालाका विभिन्न विन्दुहरूमा गरिने घोचाय नै सामान्य अर्थमा अकुपञ्चर चिकित्सा हो ।

यसमा शरीरका विशेष विन्दुहरू ‘अकुप्वाइन्ट्स’ मा सुईहरू प्रहार गरेर रोगहरूको उपचार गरिन्छ । यो पद्धति शरीरको ऊर्जा प्रवाहलाई सन्तुलनमा राख्ने विश्वासमा आधारित छ। चिनियाँ दर्शन अनुसार, जब उर्जाको प्रवाह अवरुद्ध हुन्छ, तब रोगहरू उत्पन्न हुन्छन् । अकुपञ्चरले यी अवरोधहरू हटाएर स्वास्थ्य सुधार गर्छ ।

यो पद्धति चीनमा करिब ५ हजार वर्ष पुरानो हो । नेपालमा सुश्रुत संहितामा ‘सुचिभेद’वा भेदन चिकित्साको रूपमा उल्लेख छ, जुन अकुपञ्चरसँग मिल्दोजुल्दो छ । आयुर्वेदमा मर्म चिकित्सासँग पनि यसको समानता छ ।

नेपालमा अकुपञ्चरको अभ्यास बिस्तारै लोकप्रिय हुँदैछ । काठमाडौं र अन्य ठूला शहरमा अकुपञ्चर क्लिनिकहरू सञ्चालित छन् । यहाँका प्रशिक्षित चिकित्सकहरूले परम्परागत र आधुनिक विधिहरूको संयोजन गर्छन् । नेपालमा यो विशेष गरी पीडा व्यवस्थापन र तनाव कम गर्न प्रयोग हुन्छ ।

कस्तो रोगमा अकुपञ्चरको प्रयोग गरिन्छ ?

विश्व स्वास्थ्य संगठनको २००२ को क्लिनिकल ट्रायलअनुसार १०० भन्दा बढी रोगमा यो प्रभावकारी हुन्छ । विशेषगरी न्यूरो र हाडजोर्नीः माइग्रेन, ढाड दुखाइ, हाडजोर्नी दुखाइ, ‘न्यूरोजेनिक ब्लाडर’ नशाका कारण पिसाबसम्बन्धी समस्या, प्यारालाइसिस, अनिद्रा आदिमा यो उपचार पद्धति प्रयोग हुन्छ ।

महिलाका समस्या महिनावारीको दुखाइ र कारण पत्ता नलागेको बाँझोपनमा पनि यो उपयोगी हुन्छ । ज्वरो निको पर्ने, घाउ छिटो निको पार्ने, हातखुट्टा पोल्ने÷झमझमाउने समस्या निको पार्न पनि यो उपचार पद्धति प्रयोग हुन्छ ।

यसले कसरी काम गर्छ ?

शरीरमा मेरिडियन ऊर्जा प्रवाहको बाटोमा भएको ब्लकेज हटाएर रोग निको पारिन्छ । विशिष्ट अकुपोइन्ट्समा सुई प्रिक गर्दा ऊर्जा सन्तुलन हुन्छ । सुईले संवेदनशील विन्दुहरू अकुपोइन्ट्समा प्रिक गर्दा मेरुदण्ड हुँदै मस्तिष्कसम्म सङ्केत पुग्छ । यसले इन्डोर्फिन, सेरोटोनिन, एनकाफालिनजस्ता न्यूरोट्रान्समिटर निस्कन्छन्, जसले दुखाइ कम गर्छ, निद्रा सुधार्छ र रक्तसञ्चार बढाउँछ ।

अकुपञ्चरले औषधिलाई पूर्णरुपमा प्रतिस्थापन गर्दैन । तर यो अन्य चिकित्सा विधिहरूसँग मिलेर काम गर्न सक्छ । जसले गर्दा बिरामीलाई छिटो राहत मिल्छ । यसले कतिपय अवस्थामा बिरामीलाई औषधिको मात्रा कम गर्न सहयोग पुर्‍याउँछ ।

यसमा कस्तो सुइको प्रयोग हुन्छ र उपचार प्रक्रिया कस्तो हुन्छ ?

अकुपञ्चर उपचार पद्धतिमा पहिले ढुङ्गा, सुन, चाँदीका सुई प्रयोग हुन्थे । अहिले स्टेनलेस स्टीलका खिया नलाग्ने सुईको प्रयोग हुन्छ । चीनमा भने धनीहरूले अझै पनि सुन÷चाँदीका सुई प्रयोग गर्छन् ।

प्रत्येक अकुपोइन्टको निश्चित स्थान, कोण र गहिराइ हुन्छ । सही विन्दुमा प्रिक गर्दा दुखाइ वा रक्तस्राव हुँदैन । गलत विन्दुमा प्रिक गर्दा अंगमा क्षति पुग्न सक्छ । त्यसैले राम्रो नतिजाको लागि विशेषज्ञसँग उपचार गर्नुपर्छ ।

उपचारमा प्रयोग हुने सुई जिवाणुरहित हुनु एकदमै जरुरी हुन्छ । त्यसैले त्यसको सहि प्रयोग र सरसफाइको बारेमा विशेष ध्यान दिनुपर्छ । एकपटक प्रयोग भएको सुई अर्को व्यक्तिमा प्रयोग गर्नुहुँदैन । सुई सफा र सुरक्षित नभए एचआईभी, हेपाटाइटिस बी जस्ता रोग सर्न सक्छ ।

यसका केही साइड इफेक्ट छन् ?

अकुपञ्चर धेरै प्रचलित र सुरक्षित उपचार विधि हो, जसले साधारणतया कुनै गम्भीर नकारात्मक प्रभाव गर्दैन । यद्यपि, अकुपञ्चर गर्दा केवल स्नायु वा रक्तनलीहरूमा कुनै हानि नगरी मांसपेशी र त्यससँग जोडिएको तहको बीचमा सुई प्रवेश सावधानीपूर्वक गर्नुपर्ने हुन्छ ।

अकुपञ्चरमा औषधि प्रयोग नहुने भएकाले साइड इफेक्ट हुँदैन, तर गलत व्यक्तिले गलत विन्दुमा प्रिक गरेमा फोक्सो, पेट वा मस्तिष्कमा क्षति पुग्न सक्छ । डरले बिरामी बेहोस हुन सक्छ । जिवाणुरतिह सुई नभए संक्रामक रोग सर्न सक्छ । त्यसैले यो उपचार व्यावसायिक चिकित्सकबाट मात्र गरिनुपर्छ ।

खर्च कति लाग्छ ?

यो उपचार सस्तो र पहुँचयोग्य छ । सरकारी अस्पताल जस्तै-: नरदेवीमा एक चरणको उपचारमा ३०० रुपैँया लाग्छ भने निजीमा ६०० देखि ७०० रुपैँया लाग्न सक्छ । क्लिनिक र अवस्थाअनुसार उपचार खर्च फरक पर्छ ।

यो उपचारको वैज्ञानिक आधार के छ ?

यो उपचार पद्धतिका बारेमा विश्वभर विभिन्न अनुसन्धान भएका छन् । विशेषगरी चीन, अमेरिका र फंक्शनल एमआरआईले अकुपञ्चरको प्रभावकारिता पुष्टि गरेका छन् । मेरिडियन र अकुपोइन्ट्सको प्रभाव मस्तिष्कमा देखिएको छ । नेपालमा साना रिसर्च भए पनि ठूला क्लिनिकल ट्रायलको कमी छ ।

यो उपचार गर्न चाहने बिरामीका लागि सुझाव

प्रशिक्षित चिकित्सक र स्टेराइल सुई प्रयोग भएको ठाउँमा मात्र उपचार लिनुपर्छ । १–२ हप्ता उपचार गर्दा सुधार नभए कारण खोजी गर्नुपर्छ । कसैले कुनै पनि स्वास्थ्य समस्या जस्तो माइग्रेन सतप्रतिशत निको हुन्छ भनेर ग्यारेन्टी गर्छ भने त्यसमा विश्वास गर्नुहुँदैन । अकुपञ्चर सस्तो, प्रभावकारी र साइड इफेक्टमुक्त उपचार हो, तर सही तरिकाले प्रशिक्षित चिकित्सकबाट गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?