+
+
Shares
आम मान्छेको कथा :

यसरी मैले चुरोट र रक्सी चटक्कै छाडे‍ं

रक्सीले शरीर गलाउँदै लगेको थियो । आफैँलाई आफैँदेखि दिक्क लाग्न थालेको थियो । रक्सी खाने साथीहरूमध्ये कतिको मृत्यु भइसकेको थियो भने कतिको घरबार लथालिंग थियो ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ जेठ २७ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपक राईले सात कक्षामा पढ्दा नै चुरोट तान्न थाले र बानी पर्‍यो, जसले पढाइ र जीवनमा नकारात्मक प्रभाव पार्‍यो।
  • उनीहरूले रक्सी र चुरोट छाड्नका लागि साथीहरूको संगत छोड्ने र मनबाट त्याग्ने प्रयास गरे, जसले सफलता पाए।

रक्सी वा चुरोटको लत लागेपछि छाड्न कति कठिन होला ? भुक्तभोगीहरूको अनुभवबाट थाहा हुन्छ । उनीहरू भनिरहेका हुन्छन्, ‘कति गर्दा पनि यो अम्मल छाड्न सकिएन।’

रक्सी वा चुरोटले मान्छेलाई कतिसम्म लाचार बनाउँछ भने उनीहरू त्यसबाट छुटकारा पाउनका लागि अनेक यत्न गरिरहेका छन् । कसैले मन्दिरमा गएर कसम खान्छन्, कसैले नयाँ वर्षको भाका राख्छन्, कसैले औषधिसमेत खाने गर्छन् ।

यस्ता कुलत छुटाउनका लागि सुधार केन्द्र धाउने पनि उत्तिकै हुन्छन् । तर, अधिकांशका यस्ता प्रयास निरर्थक भइरहेका हुन्छन् ।

रक्सी वा चुरोटको बानी लागेपछि किन छुटाउन गाह्रो हुन्छ ? हामीले यही प्रश्न धुम्बाराही बस्ने दीपक राईलाई सोधेका थियौँ । लामो समय रक्सी र चुरोट खाएका उनले पछि यो कुलत चटक्कै छाडेको बताउँछन् । उनले कसरी रक्सी र चुरोट छाडे ? के कुराले उनलाई कुलत त्याग्न प्रेरित गर्‍यो ?

हामीले उनकै शब्दमा उनको अनुभव प्रस्तुत गरेका छौं ।

मैले सात कक्षामा पढ्दा चुरोट तान्न सिकें, साथीभाइको लहलहैमा । एकदिन आगो तापिरहेका बेला चुरोट तानेको नक्कल गर्दागर्दै मलाई चुरोट कस्तो हुन्छ होला भन्ने कौतुहलता जागेको थियो । त्यही कौतुहलता मेट्न मैले पहिलो पटक चुरोटको सर्को तानें ।

मैले जस्तै देखासिकीमा चुरोट तान्ने अरु साथी पनि थिए । हामी हरेक दिन स्कुलबाट बाहिरिएपछि चुरोट तान्न थाल्यौं । विस्तारै मलाई यसमा बानी पर्‍यो । बानी यसरी पर्‍यो कि, दिनमा एक वा दुई होइन चुरोटको पूरा बट्टा नै सिध्याउन थालें ।

दिनमा एक बट्टा चुरोट सक्न थालेपनि धित मरेन अनि गाँजा पनि तान्न थालियो । गाँजाको स्वाद लाग्न थालेपछि अरुतिर मन नै नजाने । केवल त्यसैको तलतल लागिरहन्थ्यो । त्यसैले पढाइ छाडें, ९ कक्षाबाट ।

यतिबेलासम्म म सबैको अगाडि खुलमखुला चुरोट खाने भइसकेको थिएँ । कसैलाई लुकाउनु वा कसैसँग डराउनु थिएन ।

गाँजा खाएपछि अलि शान्त र आनन्द भएको महसुस हुन्थ्यो । यसबाट आनन्द लिन छाडेपछि अरु रमाइलो त रमाइलो नै नलाग्ने । बरु रक्सी, जाँडमा ध्यान दिन थालियो ।
रक्सी खाएपछि आनन्दको डोज पनि बढेको जस्तो हुनथाल्यो ।

चुरोट, गाँजा, रक्सी । यति भएपछि अरु के चाहियो ?

त्यसबेला म दाजुहरूको साथमा पेन्टिङको काम गर्थें । घरमा रंगरोगन लगाएर केही पैसा पनि जम्मा हुन्थ्यो । पैसा जम्मा भएपछि रक्सी नखाइनहुने । पछि त पैसा नभएको बेला मागेर पनि रक्सी खान थालियो ।

यसरी नै चार वर्ष बित्यो ।

रक्सीले शरीर गलाउँदै लगेको थियो । आफैँलाई आफैँदेखि दिक्क लाग्न थालेको थियो । मैले मेरो वरिपरिका साथी को-को छन् ? भनी सोचें-रक्सी खाने साथीहरूमध्ये कति मृत्यु भइसकेको थियो भने कतिको घरबार लथालिंग थियो ।

मलाई एक दिन के लाग्यो भने, अब चाहिँ यो भन्दा बढी पिउनु हुँदैन । त्यसबेला मसँग दुई वटा विकल्प बाँकी थियो-एउटा बर्बादी रोज्ने र अर्को रक्सी त्याग्ने । मैले दोस्रो विकल्प रोजें ।

यो पक्कै सजिलो थिएन ।

रक्सी वा चुरोट चटक्कै छाड्न सम्भव थिएन । बरु पहिलेजस्तो बिहान-बिहान नखाने, जहाँ पायो त्यहीँ नखाने भनी मनमनै कसम खाएँ । चुरोट पनि एक बट्टाबाट १० वटामा झार्छु भनी मात्रा घटाउने उपाय अपनाएँ ।

यसरी मैले क्रमश: चुरोट र रक्सीको मात्रा घटाउँदै लगें । तर हप्ता दिनपछि तलतल लाग्यो र पहिलेकै जसरी खाइदिएँ ।

रक्सी चुरोट खान नछाडे पनि चार वर्षमा गाँजा भने छाडियो । रक्सी र चुरोट चाहिँ कहिले खाने र कहिले छाड्ने भइरहेको थियो ।

अब यसरी त हुँदैन । रक्सी छाड्नैपर्छ, चुरोट छाड्नैपर्छ भन्ने लाग्यो । कसरी छाड्ने त ? यसका लागि मसँग एउटा उपाय थियो रक्सी र चुरोट खाने साथीहरूको संगत चटक्कै छाड्ने । मैले त्यसै गरेँ ।

कतै जान परे एक्लै जाने, साथीहरूको जमघटमा नबस्ने, साथीहरूलाई सकेसम्म नभेट्ने । पहिले त म आफैँ साथीहरू खोज्दै जान्थेँ । अब भने म साथीहरूसँग लुक्न थालें ।
रक्सी र चुरोट खान मन लाग्थ्यो । तर, आज खान्न, भोलि खान्न भन्दै टार्दै लगें । हप्तामा दुई दिन, हप्तामा एक दिन, महिनामा दुई दिन गर्दै विस्तारै रक्सी छाडें ।

तीन वर्षमा म पूर्णत रक्सी र चुरोटबाट मुक्त भएँ ।

चुरोट खान थालेको १० वर्ष भएको रहेछ । रक्सी पनि लगभग त्यति नै खाइएछ । अहिले पछाडि फर्किएर ती दिनहरू सम्झदाँ बेहोसीमै जिन्दगी बिताइएछ जस्तो लाग्छ ।

रक्सी र चुरोट छाड्नका लागि न अरुले कसम खुवाएर हुन्छ, न आफैंले खाएर हुन्छ । मनबाटै हामीले त्याग्न चाहेको अवस्थमा भने सकिने रहेछ भन्ने मेरो अनुभव छ ।
रक्सी र चुरोट छाडेको दिन युद्ध जितेको जस्तो भयो ।

रक्सी र चुरोट खाइरहेको भए म यतिबेला कस्तो हुन्थें ? कल्पना गर्न सक्दिनँ । मेरो हालत के हुन्थ्यो ? मेरो घरबार के हुन्थ्यो ? मेरो स्वास्थ्य के हुन्थ्यो ? म सोच्न सक्दिनँ । किनभने मैले जति रक्सी खान्थें, त्यसले मलाई त्यो भन्दा बढी खाइरहेको हुन्थ्यो ।

रक्सी र चुरोट खाँदा पेट गडबड भइरहने । शरीर पनि कमजोर भए जस्तो लाग्थ्यो । अरुले पनि मलाई देखेर घिन मान्छ जस्तो लाग्थ्यो । रक्सी र चुरोट छाडेपछि सबैकुरा ठिक भएको छ ।

 

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?