+
+
Shares

डोजरले जग्गासँगै मन पनि खन्यो

नगरपालिकाको स्वीकृति र प्रहरीको सुरक्षामा चलिरहेको छ उत्खनन्

अघिल्लो सोमबार डोजरले खन्न लागेपछि कृष्णमाया डोजरमै चढेर उत्खनन् रोकिन् । तर, भोलिपल्ट केही जनप्रतिनिधिहरूसहित डोजर फेरि आयो । यति बेला उनको हारगुहार सुन्ने कोही थिएन । ‘जनप्रतिनिधिहरूले मलाई कानुन पढाए’, उनी भन्छिन्, ‘तर कानुनले मेरो पीडालाई तौलन सक्दैन ।’

सविन लामिछाने सविन लामिछाने
२०८२ जेठ २८ गते २१:१४
उत्खनन रोक्न खोज्दै डोजरमा चढेकी कृष्णमाया ढकाल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृष्णमाया ढकालले आफ्नो निजी जग्गामा भइरहेको उत्खननको विरोध गरेकी छन्।
  • भिमाद नगरपालिकाले कानुनी प्रक्रिया पुरा गरी क्रसर उद्योगलाई अनुमति दिएको बताएको छ।
  • स्थानीयहरूले वातावरणीय प्रभाव र पहिरोको आशङ्कामा विरोध जनाउँदै प्रहरीको सुरक्षा व्यवस्था समेत माग गरेका छन्।

२८ जेठ, दमौली । तनहुँको भिमाद नगरपालिका–७ रातढुङ्गेकी ४३ वर्षीया कृष्णमाया ढकालको जग्गा नजिकै अघिल्लो हप्ताको सोमबारदेखि डोजरले खनिरहेको छ । गिटी–माटो उत्खनन् गर्न चलिरहेको डोजरले निजी जग्गासँगै कृष्णमायाको मन पनि खनेको छ ।

अघिल्लो सोमबार डोजरले खन्न लागेपछि कृष्णमाया डोजरमै चढेर उत्खनन् रोकिन् । तर, त्यो एक दिनको लागि मात्र शान्ति मात्र थियो । भोलिपल्ट केही जनप्रतिनिधिहरूसहित डोजर फेरि आयो । यति बेला उनको हारगुहार सुन्ने कोही थिएन ।

उनको विरोधलाई कानुनी भाषामा खारेज गरियो । ‘जनप्रतिनिधिहरूले मलाई कानुन पढाए’, उनी भन्छिन्, ‘तर कानुनले मेरो पीडालाई तौलन सक्दैन ।’

भिमाद नगरपालिकाको स्वीकृतिमा विधान जोशीको निजी जग्गामा शिवशक्ति ढुङ्गा, रोडा, बालुवा क्रसर उद्योग प्रालिले उत्खनन् कार्य थालेको हो । हाल एक्साभेटर र ६ वटा टिपर प्रयोग गरी दैनिक गिटी–माटो निकाल्ने काम भइरहेको छ ।

कृष्णमायासँगै केशव ढकाल, चन्द्र ढकाल, शिवु ढकाल लगायतका अन्य स्थानीयवासी पनि उत्खनन्‌को विरोधमा उत्रिएका छन् । कृष्णमायाले भनिन्, ‘दुई छोरा छन्, भविष्यका लागि केही राहत होला भनेर यो जग्गा नबेची राखेकी थिएँ । अब उत्खनन्ले खस्कियो भने म कहाँ जानु ?’ उत्खनन् भएपछि उनको जग्गामा पहिरो जान्छ भनेर उनले विरोध गरेकी हुन् ।

यता, भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले भने शिवशक्ति ढुङ्गा, रोडा, बालुवा क्रसर उद्योग प्रालिलाई सबै कानुनी प्रक्रिया पुरा गरेर उत्खनन्‌को अनुमति दिइएको बताएका छन् ।

उनले भने, ‘सबै कानुनी प्रक्रिया पुरा गरेर क्रसर उद्योगलाई अनुमति दिइएको हो । उद्योगले कर तिरेको छ र काम कानुनअनुसार भइरहेको छ’ उनले अघि भने, ‘गत वर्ष नै स्थानीय सरोकारवालासँग छलफलपछि अनुमति दिइएको हो। सबै प्रक्रिया पुरा गरेर मात्र स्वीकृति दिइएको हो ।’

तर, कागजमा देखिने प्रक्रिया र भोगिएको वास्तविकता बीच स्थानीयहरूको मनमा गहिरो दूरी देखिन्छ । स्थानीय शिव ढकालले भने, ‘पहिल्यै पनि यस्तै उत्खनन्‌का कारण यहाँ पहिरो आएको थियो। अहिले त हाम्रो गाउँ धुलो र हल्लाले भरिएको छ ।’

उनले नगरपालिकामा पटक–पटक निवेदन दिए पनि त्यो आवाज नसुनिएको बताउँछन् । अर्का स्थानीय केशव ढकालले भने, ‘उत्खनन् सुरु गर्दा न हामीसँग सहमति लिइयो, न राम्रोसँग वातावरणीय प्रभाव मूल्याङ्कन नै गरियो ।’

उनका अनुसार, कम्तीमा पनि ४० घरधुरी प्रत्यक्षरूपमा यसको असरमा परेका छन् । उत्खनन्‌को क्रममा असहज वातावरण सिर्जना भएपछि आइतबारदेखि प्रहरी समेत उत्खनन् स्थलमा खटाइन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापा भन्छन्, ‘स्थानीयहरूले कार्यमा निरन्तर विरोध जनाएपछि, नगरपालिकाको आग्रहमा सुरक्षा व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको हो ।’ तर प्रहरीले उपस्थिति जनाएपछि स्थानीयको डर झन् बढेको छ । ‘अब त हामीलाई आफ्नै ठाउँमा बोल्न समेत डर लाग्न थालिसक्यो’, स्थानीय दिपा भण्डारीले भनिन् ।

नगरप्रमुख सुवेदीले भने समस्या समाधानका लागि स्थानीयहरूसँग संवाद गर्न आफू तयार रहेको बताउँदै भने, ‘तत्कालका लागि सोमबारदेखि काम रोकेका छौं । छलफल गरेपछि के गर्ने भन्नेबारे निर्णय लिइनेछ ।’

भिमाद नगरपालिकाले २०८१ मंसिर ६ गते स्थानीय राजपत्रमा प्रकाशित निजी जग्गा व्यवस्थापनमा ढुङ्गा, गिट्टी, बालुवा माटो आदि उत्खनन्, संकलन तथा व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०८१ जारी गरेको थियो ।

राजपत्र अनुसार सम्झौताका सर्तहरु बमोजिन कार्य नगरी प्रतिकूल कार्य गरेको, वरपरको कुलो बाटो लगायत वातावरणमा नकारात्मक असर गर्ने काम गरेको अवस्था देखिएमा निजको धरौटी रकम जफत गरी नगरपालिकाले उक्त असरको न्यूनीकरणमा गर्नुपर्ने क्रियाकलापमा खर्च गर्न सक्नेछ भन्ने कुरा स्पष्ट उल्लेख गरेको छ ।

नगरपालिकाका नगरप्रमुख सुवेदीका अनुसार उत्खनन्‌का लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको बताए । वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा स्थानीय बासिन्दाहरुको सहमति लिनुपर्ने प्रावधान रहेको छ तर स्थानीयले पालिकामा उत्खनन् रोक्नका लागि पटक पटक निवेदन पनि दिएका छन् ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उत्खनन् भइरहेको क्षेत्रमा छिट्टै अनुगमन गरिने जानकारी दिएका छन् । उनले भने, ‘कानुनी प्रक्रिया पुर्याएर नगरपालिकाले उत्खनन् गर्न दिएको भन्ने कुरा आएको छ । हाम्रो अनुगमन टोलीले केही दिनभित्र त्यहाँ निरीक्षण गर्नेछ ।’

त्यस्तै व्यास नगरपालिकाले केही वर्ष अघि व्यास ११ मा रहेको निजी जग्गाबाट ढुङ्गा उत्खनन्‌का लागि अनुमति दिएको र अख्तियारको झमेलामा परेको व्यास नगरपालिकाका नगरप्रमुख बैकण्ठ न्यौपाने सम्झिन्छन् ।

उनले भने, ‘कार्यविधि नबनाई स्वकृती दिँदा अख्तियारको झमेलामा परियो, अहिले हामीले ऐन नै बनाएका छौं ।’ नगरपालिकाकाले २०८२ वैशाख २४ गते निजी जग्गाको ढुङ्गा गिटी बालुवा उत्खनन् संकलन तथा ढुवानी व्यवस्थापन कार्यविधि २०८१ पारित गरेको छ ।

लेखक
सविन लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?