+
+
Shares

फिल्म फेस्टिभलमा ९ मिनेटसम्म ताली पाएको एक भारतीय सिनेमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते ८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०१० मा नीरज घेवाणले ‘मसान’ फिल्ममार्फत कान्समा डेब्यू गरे।
  • उनले ‘होम बाउन्ड’ नामक नयाँ फिल्म बनाइयो, जुन २०२५ मा कान्समा देखाइयो।
  • फिल्मले जातीय विभेद र हाशियामा रहेका समुदायहरूको कथा संवेदनशील रूपमा प्रस्तुत गर्‍यो।

सन् २०१० मा भारतीय फिल्म निर्माता नीरज घेवाणले ‘मसान’ फिल्ममार्फत कान्स फिल्म महोत्सवमा डेब्यू गरेका थिए । बनारसको पृष्ठभूमिमा आधारित यस फिल्मले प्रेम, पीडा र जातीय विभेदको जटिलतामा फसेको जीवनहरूको कथा बोकेको छ।

यस फिल्ममा मुख्य भूमिका अभिनेता विक्की कौशलले निभाएका थिए । त्यहाँ उनले तथाकथित तल्लो जात र गंगाको किनारमा शवहरू जलाउने व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।

यस फिल्मलाई कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ वर्गमा देखाइएको थियो । यस वर्गमा त्यस्ता फिल्महरू राखिन्छन् जसले परम्परागत सीमा तोड्दै केही नयाँ, फरक र गहिरा कथा सुनाएका हुन्छन् । फिल्मले फेस्टिभलमा ‘प्रोमिसिङ फ्युचर प्राइज’ जितेको थियो ।

त्यसपछि निर्देशक घेवाण भारतका हाशियामा रहेका समुदायहरूको कथा खोज्न लागे ।

त्यसैबीच कोभिड महामारी आयो । र, यही समयमा उनका साथी सोमेन मिश्राले उनलाई न्यूयार्क टाइम्समा प्रकाशित ‘टेकिङ अमृत होम’ नामक लेख पढ्न सल्लाह दिए । यो लेख पत्रकार बशारत पीरले लेखेका थिए ।

उक्त लेखमा लकडाउनका कारण सार्वजनिक यातायात बन्द हुँदा शहरमा बसोबास गर्न स्रोत नभएका लाखौं भारतीयहरू सयौं/हजारौं किलोमिटर पैदल हिँड्दै आफ्ना गाउँ फर्किरहेको कुरा उल्लेख थियो । त्यसमा पनि एउटा मुस्लिम र दलित केटाबीचको बाल्यकालीन मित्रता बारेको प्रसंगले घेवाणलाई छोयो ।

त्यसपछि त्यही लेखमा आधार भएर उनले आफ्नो नयाँ फिल्म बनाउने निर्णय गरे । र जन्म्यो ‘होम बाउन्ड’

यो फिल्म सन् २०२५ मा भारतको तर्फबाट कान्स फिल्म फेस्टिभलमा छनौट भएको थियो । यसलाई पनि ‘अन सर्टेन रिगार्ड’ वर्गमा नै देखाइएको थियो । फिल्मको प्रिमियरपछि दर्शकहरूले ९ मिनेटसम्म उभिएर ताली बजाएका थिए । जुन भारतीय सिनेमाका लागि ठूलो उपलब्धि र दुर्लभ हो ।

हलमा फिल्म हेर्ने दर्शकमध्ये धेरैको आँखा रसाएका थिए । घेवाणले फिल्मका प्रमुख निर्माता करण जोहरलाई अँगालो हाल्दै भावुक भएर धन्यवाद दिएका थिए । तत्पश्चात् कान्स फेस्टिभलको सन्दर्भमा सो क्षणलाई दक्षिण एसियाली सिनेमाका लागि महत्त्वपूर्ण मध्येको एक बन्न पुगेको छ । किनकि विश्व सिने जगतका ठूल्ठूला हस्तीहरू त्यहाँ उपस्थित थिए ।

त्यसले गर्दा फिल्मले अन्तर्राष्ट्रिय रूपमा चर्चा पायो । सँगै फिल्ममा केही ठूला नामहरू समेत जोडिए । तीमध्येका एक हुन्, मार्टिन स्कोर्सेसे । अहिलेको समयमा नामुद चलचित्रकर्मी मध्येका एक हुन् उनी । यो फिल्ममा भने उनी कार्यकारी निर्माताको रूपमा जोडिएका थिए । त्यसअघि उनी पुराना भारतीय फिल्महरूलाई रिस्टोर गर्न त लागिपरेका थिए तर कुनै पनि समकालीन भारतीय फिल्म परियोजनामा संलग्न भएको त्यो पहिलो पटक थियो ।

यस फिल्ममा दुई मुख्य पात्रहरू छन्, – मोहम्मद शोएब अली (ईशान खट्टर) र चन्दन कुमार (विशाल जेठवा) । उनीहरू समाजका त्यस्ता पृष्ठभूमिबाट आएका छन्, जहाँ उनीहरूको समुदायले लामो समयदेखि जातीय विभेद झेलिरहेको छ । तर उनीहरूको एउटा साझा सपना छन्-जातीय सीमाहरू पार गर्ने, प्रहरी सेवामा भर्ती हुने र नयाँ पहिचान बनाउने।

निर्देशक घेवाण आफैं पनि दलित समुदायबाट आएका हुन् । उनका लागि ’पहिचान’ बाल्यकालदेखि नै जोडिएको विषय हो । जातका कारण प्रत्यक्ष भेदभाव नभोगे पनि ‘म समाजमा कहाँ उभिएको छु’ भन्ने अनुभूति भने सधैं भइरहेको उनी सुनाउने गर्छन् ।

घेवाणकै भनाइमा भारतको अधिकांश जनसंख्या गाउँमा बस्छ । तर हिन्दी फिल्महरूमा गाउँका कथाहरू कमै देखाइन्छन् । त्यहाँ पनि कुनै व्यक्तिको कथा भएको कुरालाई चलचित्रकर्मीहरूले बेवास्ता गरिरहेकोमा उनी दुखेसो गर्छन् । तर ती मध्ये पनि एक जनाको मात्रै कथा बुझ्न सकिए धेरै कुरा थाहा पाउन सकिने उनको भनाइ छ ।

यसैले यही फिल्म लेख्ने सन्दर्भमा घेवाण पात्रहरूको खातिर आफ्नो बाल्यकालमा गएका थिए । उनी हैदराबादमा हुर्केका हुन् । त्यहाँ उनको बालसखा असगर मुस्लिम समुदायका थिए । उनको कुराले पनि फिल्मको पात्रलाई अझ राम्रो बनाउन भूमिका खेलेको छ ।

त्यसमाथि यो फिल्मको छायाङ्कन उत्तर भारतका गाउँहरूमा गरिएको थियो । सोहीकारण मुस्लिम र दलित समुदायको दिनचर्या, संघर्ष र खुसीका स-साना पलहरूलाई अतिसूक्ष्म तरिकाले देखाइएको छ । फिल्मले अधिकांश समय दर्शकलाई बाँधिराख्छ । यससँगै २०२० को कोभिड महामारीको असरलाई पनि फिल्ममा संवेदनशील ढंगले देखाएको छ ।

यसरी कान्स फिल्म फेस्टिभलमा ९ मिनेटसम्म ताली पाएको ‘होम बाउन्ड’ चिसो मौसमको न्यानो घामजस्तै कोमल छ । र, सम्भवतः यसले हाशियामा रहेका समुदायप्रति पनि नयाँ दृष्टिकोण राख्न सहयोग गर्ने छ ।

बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?