
नेपालमा लिभिङ टुगेदर सम्बन्ध बढ्दै गइरहेको छ भन्ने भनाइ र अनुमानको सिलसिलामा यो लेख तयार गर्नको लागि मैले काठमाडौं उपत्यकाभित्र लिभिङ टुगेदर सम्बन्धमा रहेका २० जना व्यक्तिहरूसँग प्रत्यक्ष भेटेर अन्तरवार्ता गरेकी थिएँ । अन्तरवार्ता गरिएका व्यक्तिहरू, एक पटकमा एउटा व्यक्तिसँग मात्रै पार्टनरको रूपमा निरन्तर चार महिनादेखि १६ वर्षसम्म सँगै एकै परिवारको रूपमा बस्ने, एकै ठाउँमा पकाएर खाने, आर्थिक रूपमा एक भएको र रात एकैठाउँमा बिताउने २० जोडीका एक एक जनालाई लिइएको हो ।
अन्तरवार्ता लिने बेलामा सबै जनाले परिचय नखुलाउने, पहिचान नखुल्ने गरी विषय केन्द्रित सवाल मात्रै सार्वजनिक गर्ने शर्तमा राजीखुशीमा अन्तरवार्ता दिनुभएको थियोे । यसरी अन्तरवार्ता दिने व्यक्तिहरूमध्ये १४ जना महिला, चार जना पुरुष र दुई जना यौनिक अल्पसंख्यक हुनुहुन्थ्यो । काठमाडौं उपत्यकामा भएका व्यक्तिहरूको अन्तरवार्ता लिएको भए पनि २० जनामध्ये १९ जना काठमाडौं बाहिरका व्यक्तिहरू समावेश हुनुहुन्थ्यो ।
अन्तरवार्ता गरिएका २० जना मध्ये १० जना अर्थात् आधा उत्तरदाताले आफ्नो सम्बन्ध लामो समयसम्म टिक्दैन होला भन्ने आधारमा विवाहलाई भन्दा लिभिङ टुगेदर सम्बन्धलाई अँगालेको अन्तरवार्ताको क्रममा बताएका थिए । जसमा सात जना महिला र तीन जना पुरुषहरू रहेका थिए । यसरी सम्बन्ध टिक्दैन कि भन्ने सोच आउनुका पछाडि महिला र पुरुष उत्तरदाताका उत्तर भने फरक–फरक थिए । “किन सम्बन्ध लामो समयसम्म टिक्ला जस्तो लागेन त ?” भनेर सोधेको प्रश्नमा सात जनामध्ये पनि चार जना महिलाहरूले जीवनभरिको सम्बन्धमा विश्वास नहुनुका पछाडि सानै उमेरमा भएको विवाह, विवाह पछि श्रीमान्को घरमा भोगेको विभेद र हिंसा अनि घरै छोडेर एक्लै वा बच्चासहित हिंड्न परेको निकट विगत भएको बताएका थिए ।
यसले उनीहरूको मनमा ‘जीवनमा जुनसुकै बेला जोसुकैले पनि धोका दिन सक्छ र जे सुकै पनि हुन सक्छ’ भन्ने त्रास भरिएको बताएका थिए । बाँकी चार जना महिलाका फरक–फरक कथा छन् । कसैका बा–आमासँग कुनै पनि कुरा खुलेर गर्ने वातावरण नभएर, कसैको विवाह भन्ने संस्थाप्रति विश्वास नभएर, कसैलाई आफू ‘हाउसवाइफ टाइपको महिला’ नभएकोमा आफैंबाट सम्बन्ध टिक्छ भन्ने भरोसा नभएको कारण पनि लिभिङ टुगेदरमा बस्न परेको बताएका थिए ।
सम्बन्धमा, लामो समयसम्मको प्रतिबद्धता नभएका बाँकी तीन जना पुरुष उत्तरदाताहरूले भने आफ्ना पहिलो प्राथमिकतामा यौन सम्बन्ध वा यौन रुचि भएको उल्लेख गरेका थिए । ती तीन जनामध्येका पनि दुई जना पहिला नै विवाहित र सन्तानका पिता थिए भने एक जना विवाह नभएका तर पटक–पटक प्रेममा परेका व्यक्ति थिए ।
२० जना उत्तरदातामध्ये तीन जना उत्तरदाताले आफू पूर्ण रूपमा आफ्नो सम्बन्धमा प्रतिबद्ध भएको कारण लिभिङ टुगेदर सम्बन्धमा रहेको बताएका थिए । दुई जना उत्तरदाताले विवाह भन्ने संस्थालाई नै भत्काउनुपर्छ भन्ने सोच भएको र लिभिङ टुगेदर सम्बन्धलाई उपयुक्त ठानेको बताएका थिए । पाँच जना महिलाहरूले आफूहरू लिभिङ टुगेदरको सम्बन्धमा बस्दै गर्दा सम्बन्ध राम्रो नराम्रो, भविष्यमा के होला भन्ने बारेमा सोच्न सक्ने हालतमा नभएको (नाबालक भएर होइन अत्यधिक समस्याबाट गिजोलिएको अवस्थाका कारण) आफ्ना कथाहरू सुनाएका थिए । ती पाँचै जना महिलाहरू पहिला नै विवाहित र बच्चाका आमाहरू छन् । तीमध्ये सम्झनाको कथा यहाँ जोड्न सकिन्छ ।
सम्झनाको मागी विवाह भएको थियो, सामाजिक रूपमा प्रतिष्ठा प्राप्त परिवारमा । विवाह भएको केही वर्षपछि उनलाई आफ्नो विवाह बाहिरबाट हेर्दा असल, सम्पन्न र राम्रो व्यक्तिसँग भए पनि आफ्नो कुनै पनि कुरा नमिल्ने रहेछ भन्ने थाहा भयो । यसरी थाहा पाएकी उनले आफ्ना माइती पक्ष र श्रीमान्लाई ‘डिभोर्स गरौं, मसँगै बस्न सक्दिनँ’ भनिरहिन् । शुरूमा सबैले उनलाई समाज, परिवार, परम्परा र इज्जत देखाएर सम्बन्धविच्छेद नगर्न सुझाव, सल्लाह र दबाब दिए । उनलाई मन नमिलिरहेको मानिससँग श्रीमतीको रूपमा बाँचिरहन सकस भइरह्यो । त्यो बीचमा उनको एक सन्तान पनि भयो । सन्तान जन्मेर हुर्के पनि उनी र उनको श्रीमान् बीचको सम्बन्ध राम्रो हुन सकेन । उक्त सकसपूर्ण सम्बन्धले उनी पहिला डिप्रेसनमा परिन्, विस्तारै सेभियर डिप्रेसनमा गइन् । सेभियर डिप्रेसनमा गएपछि उनका श्रीमान्ले नै डिभोर्स गरे । उनले डिभोर्स मात्रै गरेनन्, सम्झनाको चरित्र हत्या हुने गरी आफूले निकाल्दै गरेकोे किताबमा सत्र वर्ष पहिला पढाएका विद्यार्थीको नाम समेत जोडेर लेखे र किताब प्रकाशित गरे । सम्झनाका श्रीमान्ले सम्झनालाई चरित्रहीन भन्न जो मानिसको नाम जोडेका थिए, उक्त किताब प्रकाशित हुँदै गर्दा ती विद्यार्थी विदेशमा पीएचडी गरिरहेका थिए । साथै आफ्ना छोराछोरी र वैवाहिक जीवन बाँचिरहेका थिए । सम्झनाका पूर्वपतिले गरेको चरित्रहत्याको बारेमा सम्झना त डिप्रेसनमा रहेका कारण बेखबर थिइन् तर, उनको नाम जोसँग जोडिएको थियो उनी र उनको परिवार उक्त घटनामा बेखबर थिएन । आफ्नो नाम समेत जोडेर चरित्रहत्या गरिएको र आफ्नो प्रिय शिक्षिका डिप्रेसनबाट गुज्रिरहेको थाहा पाएपछि सम्झनालाई खोज्दै उनका विद्यार्थी काठमाडौं आए । सम्झना भन्छिन्, “त्यो बेला त मलाई थाहा पनि थिएन, उनी कहाँबाट आएका हुन् । आए मेरैमा बसे, अस्पताल लैजाने, खाना पकाउने, स्याहार गर्ने, औषधि खान सम्झाउने गर्न थाले ।” घरपरिवार छोडेर मसँग बस्न आएपछि त अब मेरो पार्टनर होइन कसरी भन्ने ! कहिलेदेखि उसैले हेरविचार गरिरहेको छ । त्यसपछि सम्झना ती व्यक्तिसँग निरन्तर पाँच वर्षसम्म लिभिङ टुगेदर सम्बन्धमा रहिन् । पछि उनलाई लाग्यो, उसको परिवार, बच्चाबच्चीबाट उसलाई छुटाउन हुन्न । त्यसैले ती पुरुषको पारिवारिक (श्रीमतीसँगको) सम्बन्ध नबिगार्नको लागि छुट्टै बस्ने व्यवस्था सम्झनाले गरिदिइन् । अहिले उनीहरू प्रेममा त छन् तर, लिभिङ टुगेदर सम्बन्धमा छैनन् ।
सम्झनाको जस्तै छ बाँकी चार जनाको कथा पनि । सम्झनाको औपचारिक सम्बन्धविच्छेद भएको र सन्तानको जिम्मेवारी पिताको पक्षमा भएको थियो भने, बाँकी चार महिलाहरूका सन्तान पनि साथमा नै हुर्काइरहेका छन् ।
विवाह संस्थाभित्रको विभेद र त्यसलाई भत्काउने रहर
२० जना उत्तरदातामध्ये दुई जना उत्तरदाताले लिभिङ टुगेदरमा बस्नुको कारणको रूपमा विवाह संस्थाप्रति आफ्नो विरोध भएको बताएका थिए । यसरी विवाह संस्थामाथि विश्वास नहुनुको कारण भने आ–आफ्नै छ । एक जना प्रतिबद्ध महिला अधिकारकर्मी हुनुहुन्छ, जो आफूलाई कसैको श्रीमती भनेर चिनाउन चाहन्नन् । अर्का उत्तरदाताको जोडी भने कम्युनिष्ट क्रान्तिकारी जोडी छ, उनीहरू दुवै जना विवाहको नाममा हुने विविध प्रकारका विभेदको विरुद्धमा नयाँ प्रकारको सम्बन्ध विकास गर्नुपर्ने विश्वास राख्छन् ।
विवाह संस्था भत्काउने विषयमा चासो नभए पनि विवाहका क्रममा महिला माथि गरिने सामाजिक सांस्कृतिक प्रहारले पनि विवाह भन्दा लिभिङ टुगेदर सम्बन्ध छानेको पाँच जना युवा महिलाले बताउनुभएको थियो । उदाहरणको रूपमा उर्मिलाको कथा यहाँ जोड्न चाहन्छु ।
उर्मिलाको परिवारमा भाइ नभएको आफू र बहिनीहरू मात्रै भएको कारण समाजमा मानिसहरूले ‘छोरी भनेको अर्काको घर जाने जात हो’, ‘छोरी त अर्काको घरमा गइहाल्छन्, छोरा नभए त बुढेसकालमा एक्लै हुन्छन्’ भन्ने कुरा सुन्दै सुन्दै हुर्केकी थिइन् । जसले गर्दा उनको मनमा सानै उमेरदेखि विवाह नगरी आमा–बासँग बस्ने वा विवाह गरे पनि आमा–बासँगै बस्ने गरी विवाह गर्ने भन्ने सोच आउँथ्यो । त्यसैले उनले विवाह भन्दा लिभिङ टुगेदरको सम्बन्धलाई रोजिन् । उनी र उनका पार्टनर तीन वर्ष सँगै बसेपछि विवाह गर्ने सल्लाह भयो । विवाहमा खासै रुचि नभएकी उनी विवाहद्वारा आफ्नो सम्बन्धलाई सामाजिक रूपमा चिनाउन सकिन्छ भन्ने आधारमा विवाह गर्न राजी भएकी थिइन् । विवाह गर्ने भनेपछि विदेशमा बसिरहेकी उनका पार्टनरकी बहिनी उत्साहित हुँदै आइपुगिन् । र, अब भाउजूलाई यसरी भित्र्याउने, उसरी भित्र्याउने भनेर उत्साहित हँुदै योजना बनाउन थालिन् । उर्मिला भन्छिन्, ‘अनि घरमा भित्र्याउने भन्ने कुराले मलाई पीडा दिने र विवाह गर्छु भनेर सोच्दा पनि पीडा हुन थाल्यो ।’ विवाह गर्ने भनेपछि पार्टनरका परिवारका मानिसहरू खुशी भएको देखेर उनलाई बेलाबेलामा ‘यो विवाह मेरो र मेरो पार्टनरको विवाह हो, तर यो हाम्रो मात्रै हैन रहेछ’ जस्तो भयो । उनी भन्छिन्, ‘विवाह त उनीहरूको पो रहेछ, उनको पो रमाइलो, तयारीदेखि लिएर हरेक कुरा हामीले डिसिजन गरेको हाम्रो चोइस त केही म्याटर नै नगर्ने रहेछ भन्ने फिल भयो ।’ विवाह गर्ने भनेपछि साना–साना कुरामा उनको मन भाँचियो । केटा पक्षले दिएको साडीको रंग, सुन किन्नुपर्छ, लगाउनुपर्छ, दिएको बेलामा लिनुपर्छ भनेर दिएका सल्लाह, साना साना सामान किन्न जाँदा, ‘यो अहिले फेसनमा छ, तिमीले छानेको भन्दा यो राम्रो छ’ भन्ने कुराले उनलाई विवाह पछि त मेरो साना–साना कुरामा पनि अरूको नियन्त्रण हुने रहेछ, अरूलाई मन परेको तर आफूलाई मन नपरेको लगाउन पर्ने रहेछ भनेर दिक्क लागेको बताउँदै उर्मिला भन्छिन्, ‘विवाह भनेको त सम्झौतामा चल्ने रहेछ, पाइला पाइलामा सम्झौता गरेर चल्न सकिन्छ र ? भन्ने लागेर फेरि भो अहिले विवाह नगरौं भनेर बसेको ।’
असफल वैवाहिक सम्बन्ध
व्यक्तिले विवाहलाई भन्दा लिभिङ टुगेदर सम्बन्धलाई अगाडि बढाउनमा पहिलो वैवाहिक सम्बन्धमा भएको असफलतालाई ११ जना उत्तरदाताले बताएका छन् । यसरी वैवाहिक सम्बन्ध असफल भएका उत्तरदातामा ९ जना महिला र दुई जना पुरुष रहेका छन् । जसमा ९ जनाका पहिलो विवाहबाट सन्तान पनि भएको र सन्तानप्रतिको उत्तरदायित्वले पनि अर्को व्यक्तिसँग वैवाहिक सम्बन्धमा बाँधिन नसकिएको उत्तर दिएका थिए ।
डोल्माको कथा
डोल्माको बाल्यकालमा नै विवाह भएर एक सन्तान पनि छ । सन्तान जन्मेपछि उनलाई श्रीमान्ले वास्ता गर्न छोडे । उनी आफ्नो माइती पक्षका मानिससँग काठमाडौंमा सन्तानलाई हुर्काइरहेकी थिइन् । घरमा गरिबी थियो । घरमा मानिसहरू बिरामी परिरहन्थे, डोल्मा सानोतिनो काम गर्थिन् । तर, बिरामी पर्दा उपचार गर्न आवश्यक कुरा जुटाउन उनलाई धौ–धौ पथ्र्यो । घरमा समस्या परेपछि टोलमा हल्लाखल्ला हुन्थ्यो, यस्तै आम गज्याङगुजुङको दिन एक जना व्यक्ति बाइक लिएर आए र उनका परिवारका बिरामीलाई बोकेर अस्पताल गए । उनी अस्पताल बसिरहँदा तिनैै व्यक्तिले खाना ल्याइदिने काम पनि गरे । डोल्मालाई समस्या परिरहन्थ्यो, उक्त व्यक्ति बाइक लिएर आइरहन्थे । सहयोगको सिलसिला शुरू भएको ६ महिनापछि डोल्माले एक दिन ‘हेल्मेट खोल्नु न चिन्न पर्यो’ भनिन् । डोल्मा भन्छिन्, ‘परेको बेलामा आएको छ, हेरेको छ, उसको बाइकमा मेरो घरका सबै मानिस बसिसके, तर बाइकमा हामीलाई बोक्ने मान्छे हामीले चिन्दैनौं ।’ केटाले हेल्मेट खोलेर केही बेर सामान्य गफ गरेपछि डोल्मालाई मान्छेको मन राम्रै भएर त सहयोग गरेको होला भन्ने लाग्यो । विस्तारै उनीहरूको सम्बन्ध बढ्यो । डोल्माको लागि उक्त व्यक्तिले कार्यालय खोलिदिए । डोल्मा भन्छिन्, ‘यत्ति गरेको मानिसलाई म प्रेम गर्दिनँ त ? बच्चामा आमा–बाको माया नपाएको, जवानीमा श्रीमान्को माया नपाएको, उसले गरेको व्यवहारले त हुरुक्क भइगएँ नि !’
भगवतीको कथा
भगवतीकी आमा दलित, बुवा जनजाति हुन् । दुई जना सन्तान छोरी–छोरी जन्मेपछि भगवतीका बाले श्रीमती र दुई छोरीलाई घरबाट निकालिदिए । बाले घरबाट निकालिदिएको केही समयमा भगवतीकी आमाले अर्कासित विवाह गरिन् । भगवती र उनीकी बहिनी नयाँ बा र आफ्नी आमासँग बस्न थाले । नयाँबाट आमाले फेरि बच्चा जन्माउन थालिन् । हुर्किरहेकी भगवतीलाई लाग्न थाल्यो ‘मलाई त आमाले माया नै गर्दिनन् ।’ भगवती भन्छिन्, ‘आमाले माया गर्दिनन् भन्ने धेरै लाग्थ्यो बच्चा बेलामा । त्यो बेला, अहिले सम्झँदा माया नै गरेका रहेछन् भन्ने लाग्छ ।’ भगवती १७ वर्ष पुग्दै थिइन्, उनको प्रेम भयो काठमाडौंको केटासित । प्रेममा परेकी उनी काठमाडौं आइन् र प्रेमीसँग विवाह गरेर बस्न थालिन् । एउटा सन्तान जन्माएपछि उनलाई थाहा भयो, केटा कुनै टेक्ने समाउने (आर्थिक सामाजिक सम्बन्धको भर)आधार पनि छैन, विश्वास गर्न पनि सकिन्न । लागूपदार्थको दुव्र्यसनमा परेका उनका श्रीमान्ले भगवतीलाई पनि ट्याब्लेट खान सिकाए, केही पटक सिरिन्ज पनि हानिदिए । भगवती भन्छिन्, ‘कोठामा खानेकुरा नभएको र खल्तीमा पैसा पनि नभएको दिन उसले सिरिन्ज हानिदिन्थ्यो ।’ जसको कारण बेला–बेला उनी बेहोसमा हुन्थिन् । होसमा भएको बेलामा उनी घरेलु कामदारको रूपमा काठमाडौंका घरहरूमा भाँडा, लुगा र भुईं घोटिरहन्थिन् । उनका श्रीमान् भगवतीको साथमा पैसा छ भन्ने थाहा भइन्जेल सँगै बस्थे, बाँकी समय साथीहरूसँग बस्थे । त्यही बीचमा उनको अर्को बच्चा पनि जन्मियो । बच्चाको खर्च, आफ्नो खर्च, घरभाडा र महँगी । कतै पनि साथ दिने कोही छैन । एकदिन उनले आत्महत्याको कोसिस पनि गरिन् । भगवती भन्छिन्, ‘सुख कस्तो हुन्छ देखेकै छैन, जहिल्यै दुःख, जहिल्यै दुःख, यस्तो जीवन पनि कोही बाँच्छ ?’ भन्ने लाग्यो । तर, उनको आत्महत्याको कोसिस सफल भएन । कसैले उनलाई बचायो । उनी राम्ररी ठीक नहुँदासम्म उनको ख्याल राख्यो, उनका छोराछोरीको लागि खाना पकाउने, विद्यालय पठाउने, खुवाउने काम गर्यो । उनी ठिक हुँदासम्म उनका छोराछोरीले उनलाई बचाउने मानिसलाई अंकल भन्दाभन्दै बुवा भन्न थाले । अनि उनले आफ्नो कोठाबाट निस्केर जा भनेर भन्न सकिनन् । भगवती भन्छिन्, ‘सबै त उसैले गरिरहेको छ, अब मैले उसलाई कसरी निस्केर जा भन्ने हो ? माया पनि उसैले गर्छ सबैको ख्याल पनि उसैले गर्छ ।’
कल्पनाको कथा
अहिले ३५ वर्षकी कल्पनाको विवाह सानै उमेरमा भएको थियो । वैवाहिक सम्बन्ध राम्रो नभएपछि २१ वर्षकै उमेरमा उनी कुवेत गइन् । त्यही बेलामा सामाजिक सञ्जाल फेसबुक खोलिन् । फेसबुकमा लाइक कमेन्ट गर्दा गर्दै एक जनासँग चिनजान गहिरियो । दश वर्ष कुवेतमा कमाएको पैसाले उनले बीचमा काठमाडौंमा घर किनेकी थिइन् । विवाह टुटेर, वैदेशिक रोजगारमा गएकी कल्पनाको सम्बन्ध विवाह गरेका घरपट्टि त राम्रो थिएन नै, माइती पट्टि पनि खासै गतिलो सम्बन्ध थिएन । उनी नेपाल फर्केपछि काठमाडौंमा आफैंले कमाएर किनेको घरमा बस्न थालिन् । काठमाडौं आएपछि उनले फेसबुकमा चिनेका मानिससित पनि भेट भयो । पहिलो भेटमा नै ती व्यक्तिले आफ्नो नाडीमा कल्पनाको नाम र पाखुरामा उनको ट्याटु खोपाएको देखाएर आफूले कल्पनालाई धेरै नै माया गर्ने गरेको बताए । कल्पना भन्छिन्, ‘मलाई कस्तो भयो होला भन्नु न कहिल्यै कसैको माया नपाएको मान्छेको नाम र फोटो कसैले आफ्नो हातमा खोपाएर हिंडेको छ ।’ कल्पना खुशी नै भइन् ती व्यक्तिलाई देखेर । उनीहरूको बीचमा साथीको जस्तो सम्बन्ध चल्दैथियो । केटा प्रेम जाहेर गरिरहन्थे, कल्पना पहिलो विवाहबाटै तर्सेको कारण फेरि प्रेम, विवाहमा उनलाई मन थिएन । तर, भेटघाट बाक्लिंदै गएपछि यौन सम्बन्ध पनि भयो । विस्तारै ती व्यक्ति कल्पनाको घरमा नै बस्न थाले । कल्पनाले ‘आफ्नै घर जानुस्’ भनेर त भनिन्, तर जबरजस्ती निकाल्न सकिनन् । उनी भन्छिन्, ‘तिमी बाहेक मेरो कोही पनि छैन, म तिमी विना बाँच्नै सक्दिनँ भनेपछि मैले जबरजस्ती निकाल्न पनि सकिनँ ।’
फरक यौनिक व्यवहार र समाजको दबाब
व्यक्तिको फरक यौनिक पहिचानलाई नस्वीकार्ने वा फरक यौनिकता भएको भनेर समाजमा गर्ने फरक व्यवहारले पनि व्यक्तिलाई लिभिङ टुगेदर सम्बन्धमा धकेल्ने गरेको अध्ययनको क्रममा थाहा भएको छ । अनुसन्धानको लागि लिएका दुई जना उत्तरदाता यौनिक अल्पसंख्यक समुदायका व्यक्तिसँग पनि अन्तरवार्ता गरिएको थियो । प्रश्न सोधिएका दुवै उत्तरदाताका पार्टनरको सानै उमेरमा विपरित लिंगका व्यक्तिसँग विवाह भएको थियो । दुई जनामध्ये एक जनाको जोडीले एक वर्षको लिभिङ टुगेदर सम्बन्ध पछि २०७४ सालमा नै सामाजिक रूपमा यौनिक अल्पसंख्यकको आयोजनामा पहिला नै विवाह गरिसकेका छन् । तर, सामाजिक रूपमा विवाह गरेको सात वर्षपछि मात्रै विवाह दर्ता गर्न पाएको बताउँछन् । भन्छन्, ‘साथीभाइलाई राखेर सामाजिक रूपमा विवाह त गर्यौं, तर हाम्रो विवाह दर्ता गर्न वर्षौं लामो कानुनी लडाईं लड्नुपर्यो, बस्न त लिभिङमा एक वर्ष र पछि विवाहित नै बसेको हो, फेरि हाम्रो विवाह गरेको सात वर्षपछि मात्रै दर्ता भयो, त्यसैले कानूनी मान्यता नपाउँदासम्मको ८ वर्षको सम्बन्धलाई लिभिङ टुगेदर भन्न सकियो ।’ अर्को जोडी भने परिवार र समाजले स्वीकार नगरेका कारण लिभिङ टुगेदर सम्बन्धमा बसिरहेका छन् ।
रमन जोडीको कथा
रमन जन्मले महिला हुन् । शहरमा पढेका उनी गाउँमा लामो समय बस्न गएपछि उनको सम्बन्ध गाउँकै एक जना महिला, जो आफ्नै उमेरकीसँग बढ्दै गयो । सानै उमेरमा विवाह गरेकी उनको पार्टनरको पहिलो विवाहबाट एउटा सन्तान पनि छ । सम्बन्ध बढ्दै गएपछि गाउँका मानिसलाई पनि थाहा भयो र पहिलो पटक गाउँमा केटीको केटीसँग प्रेम भएको हल्ला बेस्सरी फैलियो । हल्लासँगै रमनकी पार्टनरलाई उनका श्रीमान्ले डिभोर्स दिए । डिभोर्सपछि रमनकी पार्टनर र सन्तानलाई माइतीले लिएर गए । रमन भन्छन्, ‘यो बीचमा के के भयो के के, उहाँका अभिभावकले धामी–झाँक्री लगाउनेदेखि मानसिक उपचार गर्नसम्म लैजानुभयो ।’ रमनको परिवारतर्फ झमेला नभए पनि उनको पार्टनरको तर्फ भने बा–आमाले भनिरहनुहुन्छ, ‘छोरीले केटा मन पराएको भए केही फरक पर्दैनथ्यो, छोरीले अर्को छोरी मान्छे नै मन कसरी पराउन सक्छे, बिहे कसरी हुन सक्छ ?’ विगत दुई वर्षदेखि रमन र पार्टनर काठमाडौंमा सँगै बसिरहेका छन् । तर, परिवारले उनीहरूको सम्बन्धलाई स्वीकार गर्न सकिरहेको छैन । बच्चालाई माइतीमै छोडेर आएकी रमनकी प्रेमिका बेलाबेला छोरी सम्झेर, सानैमा विवाह गरिदिएका बा–आमालाई दोषी सम्झेर र कहिले आफ्नै मन र भावनालाई दोष दिएर रोइरहन्छिन् । विद्यालय तहको पढाइ पनि नसकेकी उनलाई राम्रो जागिरमा लगाइदिन शिक्षाले पुग्दैन । जस्तो पायो त्यस्तै काम लगाइदिन रमनको मनले मानेको छैन । रमन दिनभर काममा हुन्छन्, उनकी पार्टनर दिनभर कोठामा हुन्छिन् । रमन भन्छन्, ‘उनलाई मैले छोड्छु कि, धोका दिन्छु कि भन्ने लाग्छ होला । विवाह दर्ता गर्न पाए भरोसा हुँदो हो । विवाह दर्ता गर्न नेपालको कानून सहज अझै छैन । मुद्दा लडेर विवाह दर्ता गर्नुपर्छ ।’
असफल प्रेम सम्बन्ध
पटक–पटकका असफल प्रेम सम्बन्धले लामो समयसम्म प्रतिबद्ध भएर एकै व्यक्तिसँग बस्न सकिन्न भन्ने मानसिकता विकास गराउने गरेको र प्रेममा परेपछि जे–सुकै होला भनेर लिभिङ टुगेदरमा बस्ने गरेको २० जना उत्तरदातामध्ये दुई जनाले बताउनुभएको थियो । यसरी लामो समयसम्म सम्बन्ध टिक्छ भन्ने विश्वास नभएका उत्तरदाता एक जना महिला र एक जना महिला हुनुहुन्थ्यो ।
विपिनको कथा
काठमाडौंको प्राइभेट क्याम्पस पढाइरहेका विपिन क्षेत्री (नाम परिवर्तन) ३५ वर्षको उमेरसम्म आइपुग्दा उनको पटक पटक प्रेम र विछोड भएको उनी बताउँछन् । यसरी पटक पटकको प्रेम सफल नभएपछि आफ्नो सम्बन्ध लामो समयसम्म टिक्छ भन्नेमा आफ्नो विश्वास उठेको र प्रेममा महिलाले सम्पत्ति र पुरुषले यौनको कुराले आकर्षण हुने रहेछन् भन्ने आफ्नो धारणा विकास भएको उनी बताउँछन् । पछिल्लो पटक उनको प्रेम आफ्नै कलेज पढ्ने विद्यार्थीसँग भयो । शुरूमा फेसबुकमा लाइक, कमेन्ट गर्ने क्रमबाट उनीहरूको सम्बन्ध प्रेममा बदलियो । सम्बन्ध प्रेममा बदलिएपछि जब सँगै बस्ने कुरा भयो विपिनले आफ्नो पार्टनरलाई ‘यो सम्बन्ध रमाइलोको लागि मात्रै हो’ भनेर स्पष्ट पारेको बताउँछन् । आफूभन्दा पन्ध्र वर्ष सानी पे्रमिकाले उनको कुरा सहजै लिएको उनको भनाइ छ । विपिन भन्छन्, ‘हेर हाम्रो जात पनि मिल्दैन, उमेर पनि मिल्दैन । तिमीले मभन्दा कस्तो कस्तो राम्रो केटा पाउँछौ भनेर भन्थें ।’ सुरु सुरुको समयमा उनको मुख्य चासो प्रेममा भन्दा पनि टाइमपास वा रमाइलोको लागि सम्बन्ध बढाएको उनी बताउँछन् । उनी भन्छन्, ‘बाहिर जे–जे कुराले फुलबुट्टा भरेको भए पनि केटा मानिसको अल्टिमेट सर्च त सेक्सकै हुन्छ । म आफू कसरी अछुतो हुन सक्छु ?’ विस्तारै विपिनलाई आफ्नो पार्टनर भेट्दा यौन सम्बन्ध भन्दा पनि सँगै बस्ने, खाने, फिल्म हेर्ने, गफ गर्ने कुरामा चासो लाग्दै गयो । उनी भन्छन्, ‘ऊसँग बस्दा अब मलाई आफ्नो आत्म ‘हिल’ भइरहेको जस्तो लाग्न थाल्यो ।’ पटक पटकका पे्रेम र धोकाहरू उनले बिर्सन थाले । ६ महिना सँगै बस्दा विपिनलाई थाहा भयो, उनको प्रेमिकाकी आमा छैनन्, बुवाले पनि खासै वास्ता गर्दैनन् । विपिन भन्छन्, ‘विस्तारै यस्तो लाग्न थाल्यो कि म बाहेक त यसको कोही पनि रहेनछ, अनि माया लाग्न थाल्यो । मैले छोडें भने यसको के होला भन्ने लाग्न थाल्यो ।’
शर्मिलाको कथा
काठमाडौं बाहिरबाट आएर यहाँ संघर्ष गर्दै छोराछोरी पढाइरहेको निम्न मध्यम परिवारमा जन्मिएकी शर्मिलालाई सानैदेखि राम्री देखिन, रेस्टुरेन्टमा जान, नयाँ–नयाँ लुगा लगाउन र लक्जरियस जीवनले आकर्षित गर्थे । उनका रहरका पखेटा फट्फटाए पनि अभिभावकको हैसियत उनलाई सामान्य जीवन दिने भन्दा माथिको थिएन । शर्मिला भन्छिन्, ‘अनि म अलि धनी साथीहरूको संगतमा लाग्थें, उनीहरूकैमा बसिदिन्थे । यस्ता साथीहरू केटी मात्रै थिएनन्, केटा पनि थिए । अनि म देख्दा राम्री, स्मार्ट प्रेम (मेरो तर्फबाट प्रेम भए पनि अर्को तर्फबाट त्यो यौन आकर्षण मात्रै रहेछ भन्ने मलाई अहिले लाग्छ)मा परिरहन्थे । एक जनासँग ब्रेकअप भयो फेरि अर्को मानिससँग पहिलाको प्रेम भुलाउन अर्को प्रेममा पर्थें । यस्तो सिलसिला धेरै नै चल्यो केही महिना प्रेम, केही महिनामा ब्रेकअप अनि फेरि प्रेम अनि फेरि ब्रेकअप, तर पछिल्लो सम्बन्ध पाँच वर्षदेखि चलिरहेको छ । अब त हामी पनि परिपक्व भयौं, कमिटेड पनि छौं, तर शुरूमा त कमिटमेन्ट नै थिएन नि !’
जातीय विभेद
जातीय विभेदका कारण दलित–गैरदलित सम्बन्धलाई स्वीकार नगरिएको कारण पनि व्यक्ति लिभिङ टुगेदर सम्बन्धमा धकेलिने गरेको अध्ययनको क्रममा पाइएको छ । अध्ययन गरिएका २० जना उत्तरदातामध्ये एक जनाको उत्तरदाता दलित समुदायका व्यक्ति थिए । उहाँहरूको सम्बन्ध विकसित हुँदै गएपछि ब्राह्मण परिवारका उनकी पार्टनरका अभिभावकले उहाँहरूलाई छुटाउन धेरै कोसिस पनि गरे । अभिभावकले छुटाउने कोसिस गरिरहने र आफूहरूलाई पनि वैवाहिक सम्बन्ध दमनमा आधारित सम्बन्ध हो भन्ने वैचारिक बुझाइका कारण उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेर सँगै बसिरहेका छन् ।
अन्त्यमाः लिभिङ टुगेदर सम्बन्धमा मानिस किन बस्छ भन्ने प्रश्नका फरक–फरक उत्तर पाउन सकिन्छ । मैले अध्ययनका क्रममा प्राप्त गरेको केही मिल्दाजुल्दा कुराहरूलाई यहाँ राखिएको छ, पहिलो त समाजले गरेको समग्र विभेद, महिलाको भावना र अवस्थाप्रतिको बेवास्ता, पहिलो प्रेम वा विवाह सफल नहुनु, विवाह असफल भएपछि छोराछोरी साथमा हुनु जस्ता कारण महिलाहरू आडभरोसा विहिन अवस्थामा जसले सहयोग गरेको छ उनीहरूसँग लिभिङ टुगेदर सम्बन्धमा धकेलिएका छन् । त्यसैगरी फरक यौनिक सम्बन्धलाई स्वीकार नगर्नु, समलिंगी विवाहमा भएका झमेला, दलित–गैरदलित सम्बन्धलाई नस्वीकारिनु पनि सामाजिक विभेदकै हिस्साको रूपमा लिन सकिन्छ । यस्तो अवस्था अलि प्रभावशाली छ । पुरुष उत्तरदाताहरूले यौन चाहनालाई अलि बढी कारकको रूपमा उल्लेख गरे पनि सबै पुरुषमा भने लागू हुन्न । तेस्रो वर्तमान विवाह पद्धतिले थोपरेको आर्थिक, सामाजिक र सांस्कृतिक विभेदका कारण विवाह संस्थालाई नै भत्काउने उद्देश्य राखेर वा विवाह गर्न हुन्न भन्ने सोचले मानिसहरू लिभिङ टुगेदरमा धकेलिएको पाइन्छ । यी बाहेक, आर्थिक रूपमा एकता, आडभरोसा, समाजको नजरबाट बच्न पनि मानिसहरू लिभिङ टुगेदरमा सम्बन्धमा रहेको पाइन्छ । त्यसैगरी एक जना मानिस एउटा मात्रै कारणले लिभिङ टुगेदरमा छैनन्, दुई जना बाहेक सबै उत्तरदाताका आ–आफ्ना विविध सामाजिक अवस्थाले धकेलिएर लिभिङ टुगेदरमा रहेका छन् । काठमाडौंमा सानो मात्रामा गरिएको अनुुसन्धानबाट आएका यी तथ्यहरूले यस्तो अवस्था रहेछ भन्ने जानकारी त दिन्छन् तर, सामान्यीकरण गरेर व्याख्या गर्न भने मिल्दैन ।
प्रतिक्रिया 4