 
																			२८ जेठ, पोखरा । ‘युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित युवा उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ ।
नव युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषदले युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन आयोजना गरेको हो । सम्मेलन उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवाहरुलाई स्वदेशमै आशा, भरोसा र विश्वास जगाउन प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।
गण्डकी प्रदेश सरकारले आगामी बजेटमा युवा उद्यमशीलता मैत्री बजेट ल्याउने दावी गरे । पाण्डेले भने, ‘हामी युवालाई स्वदेशभित्रै आशा जगाउने खालको बजेट ल्याउन खोजिरहेका छौं ।’ मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कृषि, पर्यटन र युवा उद्यमशीलतामा जोड दिने बताए ।
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशको विशेषता अनुसारको उद्यममैत्री वातवरण निर्माण गर्न आफूहरु क्रियाशील रहेको बताए । मन्त्री बस्यालले युवा उद्यमीलाई साथ, सहयोग र प्रोत्साहन गर्न उद्योग मन्त्रालय तयार रहेको बताए ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारवाट सञ्चालित युवा लक्षित् कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए । बस्नेतले उद्यमशीलता प्रवद्र्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिवृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले युवा उद्यमशीलताका लागि महानगरले अलग्गै व्यवसाय प्रवद्र्धन केन्द्रको गठन गरी युवाको सीप तथा व्यावसायिक उद्यमशीलता प्रवद्र्धन गरिरहेको जनाए । मेयर आचार्यले युवाको नवीन सोचलाई उद्यममा परिणत गर्न महानगरले काम गरिरहेको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले युवालाई केन्द्रबिन्दुमा नराखी मुलुक अघि बढ्न नसक्ने जिकिर गरे । क्षेत्रीले गण्डकी प्रदेशका सम्भावना र चुनौतीबारे चर्चा गर्दै युवा उद्यमशीलतामा जोड दिए ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा कृषि समितिकी दयमन्ती रुचालले पछाडि पारिएका महिला र दलित युवाको सशक्तीकरणमा जोड दिइन् । रुचालले युवा उद्यमशीलतामा बैंकिङ प्रणाली असाध्यै झन्झटिलो रहेको जिकिर गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम लगायतले पनि धारणा राखेका थिए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट अनलाइन फर्म मार्फत् छनौट भएका युवा उद्यमी तथा सहभागीले खुल्ला छलफलमा भाग लिएका थिए ।
परिषदले यसअघि कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको जनकपुरमा प्रदेश स्तरीय युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन आयोजना गरिसकेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4