
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनाका प्रतिवादीहरूको ८ दिनदेखि थुनछेक बहस जारी छ।
- प्रहरीले अनुसन्धानपछि ६१ जनाविरुद्ध मुद्दा दायर गरेको र मुख्य योजनाकार दुर्गा प्रसाईं रहेको निष्कर्ष निकालेको छ।
- प्रहरीले ९ समूहका ३९ व्यक्तिलाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएको आरोप लगाएको छ।}
२८ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस ८ दिनदेखि काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा अब सरकारी वकिलले जवाफी बहस गर्ने पालो आएको छ । ११ जेठमा दायर भएको मुद्दाको १७ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।
धेरै प्रतिवादी (६१) र ५ फरक मुद्दा भएका कारण बयान र थुनछेक बहसले लामो समय लिएको छ । एक/दुई दिनमा आदेश आउने सम्भावना रहेको बताइए पनि यकिन भने अझै भइसकेको छैन ।
हिंसात्मक भनिएको तीनकुने घटनामा अनुसन्धान गरेको प्रहरीले कसरी योजनाबद्ध तरिकाले काम भयो र राज्यसत्ता (राजद्रोह) पल्टाउनेसम्मको प्रयास भयो भन्ने विस्तृत अनुसन्धान रिपोर्ट तयार पारेको छ ।
प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागका तत्कालीन एसएसपी कृष्ण पंगेनी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एसपी प्रवीण धिताल, जिल्ला प्रहरी परिसर ललितपुरबाट मुद्दा शाखाका इन्स्पेक्टर नानिकाजी थापा, काठमाडौं अपराध अनुसन्धान कार्यालय आईटी शाखाका इन्स्पेक्टर राजेश महर्जन, हृदय सापकोटा र मुद्दाको लिड गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दको टिमले करिब दुई महिना लगाएर यो घटनाको अनुसन्धान गरेको थियो ।
प्रहरीले १०८ जनालाई मुद्दा चलाउन राय दिएको थियो । जसमध्ये ३४ जनालाई सरकारी वकिलले मुद्दा दायर नगर्ने निर्णय गर्दै ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा र ४ जना नाबालकको हकमा बाल अदालत भक्तपुरमा मुद्दा दायर गर्यो ।
ठूलो मिहिनेतबाट प्रमाण जुटाई मुद्दा दायर भएको परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् ।
‘प्रतिवादी धेरै र कसुर पनि धेरै भएकाले अनुसन्धान लामो भयो । यसमा हाम्रो तर्फबाट सक्दो सबुद प्रमाण पेस भएका छन्,’ एसपी बोहराले भने ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवसम्मको मुद्दा ६१ जनालाई लगाइयो ।
जसमध्ये आपराधिक उपद्रवको मुद्दा मात्रै लगाइएका ११ जना भने धरौटीमा रिहा भइसकेका छन् । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका छैनन् । अहिले ३९ जना प्रहरी हिरासतमा छन् ।
ज्यानदेखि आपराधिक उपद्रवसम्मको मुद्दामा प्रशस्तै प्रमाण भए पनि राजद्रोहको मुद्दा र संगठित अपराधको मुद्दामा प्रमाण जुटाउन प्रहरीले निकै मिहिनेत गर्नुपरेको अनुसन्धान अधिकृत बताउँछन् ।
‘घरमा आगो लगाएको भिडिओ, फोटोमा देखिएको छ । व्यक्तिको ज्यान गएको छ । गाडीले पेल्न खोजिएको छ । तोडफोड गरिएको छ । जसबाट ज्यानदेखि आपराधिक उपद्रवसम्मको मुद्दाको सबुद देखिन्छन्,’ एक अनुसन्धान अधिृकत भन्छन्, ‘तर आन्दोलन नै गर भनेर प्रशासनबाटै अनुमति दिएपछि त्यो कसरी संगठित अपराध भयो र राज्यविरुद्धको कसुर भयो ? यो प्रकरण स्थापित गर्न हामीले धरै मिहिनेत गर्नुपर्यो ।’
तोडफोड नहुन्जेलसम्म त्यो राजनीतिक कार्यक्रम थियो । प्रहरीले सुरक्षा दिएको थियो । त्यही अनुमति लिएर गरिएको आन्दोलन राज्यविरुद्धको अपराध भनेर स्थापित गर्न धेरै तथ्यहरू केलाइएको अनुसन्धान अधिकृतहरू सुनाउँछन् ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । तीनकुने घटनमा पक्राउ परेकाहरूलाई राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा मुद्दा चलाइएको छ ।
संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन’ भन्ने उल्लेख छ ।
यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । यही कसुरमा प्रहरीले प्रमाण जुटाएपछि मुद्दा दायर भएको हो ।
यसका लागि प्रहरीले तीनकुने घटनामा परिचालन भएका संगठनको पहिचान गरी तिनीहरूको कानुनी आधार समेत केलाएर मुद्दा दर्ता गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका-५ का ५४ वर्षीय विवादास्पद व्यक्ति दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई प्रशासनले आन्दोलन गर्न तीनकुनेमा स्वीकृत दिएको थियो ।
यो महाअभियान भने गैरनाफामूलक संस्थाको रूपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको पाइएको प्रहरीले बताएको छ । तर यो बाहेक प्रसाईंले खडा गरेका अन्य सैन्य संगठन भने अवैधानिक देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।
त्यसमा अनवरत तत्पर फौज (एटीएफ), नागरिक सुरक्षा बल (पीडीएफ), रोयल टाइटर फोर्स (एटीएफ) जस्ता कानुनले नचिन्ने संगठन तीनकुने घटनामा प्रयोग भएको प्रहरीको निष्कर्ष छ ।
कानुनले समेत नचिन्ने सैन्य संरचनासमेत खडा गरी अव्यवस्था सिर्जना गर्दै संगठित रूपमा काम गरेको निष्कर्ष प्रहरीले निकालेको छ । ‘कानुनले समेत नचिन्ने सैन्य संरचना खडा गर्ने, योजना बनाउने र संगठित भएर काम गर्ने र यसको मुख्य उद्देश्य संवैधानिक संरचना पल्टाउने देखिएकाले राजद्रोह र संगठित अपराध जोडिएको हो,’ एक अनुसन्धान अधिकृतले भने ।
संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराध पनि जोडिएको छ । ३ जनाभन्दा बढीको समूह बनाएर ३ वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ ।
को-को हुन् राज्यसत्ता पल्टाउन खटिएका ९ समूहका ३९ व्यक्ति ?
मुख्यगरी ९ समूहका ३९ जनाको भूमिकामा तीनकुने घटना भएको प्रहरीको निष्कर्ष छ । पक्राउ पर्ने र मुद्दा चल्ने व्यक्तिको संख्या धेरै भए पनि ३९ जना भने संगठित रूपमै राज्यसत्ता पल्टाउने नियतले खटिएको प्रहरीको रिपोर्ट छ ।
जसमा यसका मुख्य कमान्डर राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंको मुख्य भूमिका रहेको प्रहरीले निष्कर्ष निकालेको छ । २९ चैतमा भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई मुख्य योजनाकारका रूपमा प्रहरीले प्रस्तुत गरेको छ ।
सुरक्षाकर्मीलाई समेत मार्ने नियतले गाडीले पेल्ने योजनाले अघि बढेको भन्दै उनलाई ज्यान मार्ने उद्योगदेखि पत्रकार मृत्यु घटनामा ज्यान मुद्दासम्म लगाइएको छ ।
यही संयुक्त जनआन्दोलन समितिको तर्फबाट खेमराज सेढाईं (सल्लाहकार), सांसद धवल शमशेर जबरा, रवीन्द्र मिश्रलाई पनि जोडिएको छ । उनीहरूले भने सबै कार्यक्रम प्रसाईंकै आयोजनामा भएको र आफूहरू अथितिको रूपमा मात्रै गएको बताएका छन् ।
त्यस्तै संविधान विरोधी गतिविधि नगरेको र तोडफोडदेखि निषेधित क्षेत्रमा समेत नभएको उनीहरूको बयान छ ।
जसअनुसार संयुक्त जनआन्दोलन समितिबाट ४ जना, महाअभियानबाट ९ जना, एटीएफबाट ११ जना, पीडीएफबाट ६ जना, राप्रपाबाट ३ जना, शाही युवा शक्ति नेपालबाट २ जना, शिव सेना नेपालबाट २ जना, राष्ट्रिय शक्ति नेपालबाट १ जना, आरटीएफबाट १ जना गरी ९ समूहका ३९ जनाको मुख्य भूमिका औंल्याइएको छ ।
यसका साथै प्रसाईंका बडिगार्ड र चालक गरी ३ जनालाई प्रहरीले मुख्य भूमिकामा उभ्याएको छ ।
दुर्गा प्रसाईंको महाअभियानबाट केन्द्रीय सदस्य तथा कार्यालय सचिव हरिहर चौलागाईं, महाअभियानका खेलकुद विभाग प्रमुख विष्णुजंग बस्नेत, संगठन विभाग प्रमुख प्रेम थापा मगर, सचिवालयमा कार्यरत विष्णु पराजुली, सचिवालय सदस्य देवीप्रसाद संग्रौला, केन्द्रीय सदस्य ओमप्रसाद लुईंटेल, केन्द्रीय सदस्य अनिलकुमार थापा, महाअभियान समर्थक पुष्कर खतिवडा, अर्का समर्थक कुमार तामाङ छन् । उनीहरू योजनाबद्ध रूपमा राज्यविरुद्ध खटिएको प्रहरीको रिपोर्ट छ ।
यता, महाअभियानका समर्थक भनिएका पुष्कर खतिवडाले भने आफू महाअभियानमा नरहेको र राजावादी पनि नभएको बयान दिएका थिए । उनले आफू हिन्दूराष्ट्र स्थापनका लागि तीनकुनेमा गएको बताएका छन् । खतिवडाले इँटा उचाल्दै सुरक्षाकर्मीतर्फ हानेको फोटो समेत सार्वजनिक भएको थियो ।
त्यस्तै, एटीएफका संयोजक सन्तोषकुमार सिलवाल, उपाध्यक्ष सतिश न्यौपाने, गोकर्ण शाही, सरोज गौतम, रमेश राई, दिवस बोगटी, सरिता खत्री, हेमराज थारु, प्रेम श्रेष्ठ, मन कालाको भूमिका पनि मुख्य रहेको औंल्याइएको छ ।
एसटीएफकै केन्द्रीय सदस्य गोकर्ण शाही र सरोज गौतमले पत्रकार सुरेश रजक मृत भेटिएको तीनकुनेको घरमा आगो लगाएको निष्कर्ष प्रहरीको छ । ‘यो संगठन नै अवैधानिक छ । कानुनले नचिन्ने संगठनमा आबद्ध भएर राज्यसत्ता पल्टाउन खोज्ने र व्यक्तिको घरमा आगो झोसेर मान्छेको मृत्यु समेत भएकाले यसका आयोजक पनि दोषी हुन् । त्यहीअनुसार प्रसाईंसहित ८ जनालाई ज्यान मुद्दा पनि लगाइएको हो,’ एक अनुसन्धान अधिकृतले भने ।
पीडीएफका अध्यक्ष दुरेन राई पनि मुख्य भूमिकामा रहेको बताइएको छ । दुरेन भने अहिलेसम्म फरार नै छन् । यद्यपि, उनलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । पीडीएफका तारानाथ बोहरा, दान न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, तेजेन्द्र रायमाझीको पनि मुख्य भूमिका रहेको बताइएको छ ।
त्यसैगरी, शिवसेनाका तर्फबाट अनिल बस्नेत, मनोज सापकोटा, कुमार बस्नेत, डण्डपाणि रेग्मी, आरटीएफका तर्फबाट मुनिन्द्र भण्डारी, राप्रपाको तर्फबाट जीवलाल पुरी, मिनोज थापा, गोपाल मल्ल, राष्ट्रिय शक्ति नेपालका कमल विष्ट, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, दिलकुमार श्रेष्ठको पनि मुख्य भूमिका औंल्याइएको छ ।
यीमध्ये पशुपति खड्काले भने तीनकुने हिंसात्मक घटना आफू पुग्नुभन्दा पहिल्यै भएकाले कुनै भूमिका नरहेको दाबी गर्दै बयान दिएका थिए ।
प्रतिक्रिया 4