+
+
Shares

रिलायन्सविरुद्ध झुटो प्रचार बन्द गर्न अदालतको आदेश

अदालतको आदेशले भ्रमपूर्ण कथा बनाएर पूँजीबजारमा आफ्नो स्वार्थसिद्ध गर्ने प्रवृत्तिमा लगाम लागेको रिलायन्सको भनाइ  छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध झुटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार बन्द गर्न अन्तरिम आदेश जारी गरेको छ।
  • रिलायन्सले खगेन्द्रराज कँडेल र अन्य विरुद्ध झुटो आरोप लगाउने समाचार रोक्न अदालतमा निवेदन दायर गरेको थियो।
  • रिलायन्सको आईपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण प्रक्रियामा छ र १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गरिएको छ।

२४ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध प्रकाशन तथा प्रसारण भएका झुटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार बन्द गर्न आदेश दिएको छ ।

खगेन्द्रराज कँडेल (रविन) समेतका विरुद्ध दायर निवेदनमा जिल्ला अदालतबाट बिहीबार यस्तो आदेश जारी भएको हो । रिलायन्सले कँडेलका साथै नेपाल सेयर बजार लगानीकर्ता संघ लगायतले अर्थसंसार, बिजशाला, अर्थसंसार युट्युब च्यानल, टंक दाहाल नामक युट्युब च्यानलजस्ता प्ल्याटफर्मबाट झुटो र भ्रमपूर्ण लेख तथा समाचार प्रसारण तथा प्रकाशन गरेको, कम्पनीको विवरणपत्रमा उल्लेखित विषयबारे अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगीजस्ता अप्रमाणित र मानहानिपूर्ण आरोप लगाइ कम्पनी र कम्पनीको संस्थापकलाई बेइज्जत गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रसारण गरिएको भन्दै बुधबार निषेधाज्ञा तथा गाली बेइज्जती मुद्दा दायर गरेको थियो ।

न्यायाधीश रामचन्द्र खड्काको इजलाशले बिहीबार सुनुवाइ गर्दै प्रथम दृष्टिमै ती लेख र समाचारलाई झुटो, भ्रमपूर्ण र अनर्गल भनेको छ ।

‘उल्लेखित शीर्षक सम्बन्धी सामाग्री सञ्चारमाध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रसारण नगर्न नगराउन र प्रकाशन प्रसारण गरिसकेका उक्त सामाग्री थप सम्प्रेषण हुन नदिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ अदालतको आदेशमा छ ।

अदालतको आदेशले भ्रमपूर्ण कथा बनाएर पूँजीबजारमा आफ्नो स्वार्थसिद्ध गर्ने प्रवृत्तिमा लगाम लागेको रिलायन्सको भनाइ  छ । रिलायन्सको आईपीओ रोक्न करिब २ वर्षदेखि विभिन्न मुद्दामामिला गरे पनि अदालतको आदेशबाट सेयर निष्कासन भएपछि उक्त समूहले केही अनलाइन मिडिया र सामाजिक सञ्जाल मार्फत भ्रमको खेती गरेको कम्पनीको जनाएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकरण प्रक्रियामा गइसकेको छ । रिलायन्सले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६ सय  कित्ता सेयर निष्कासन गरेको थियो ।

बुक बिल्डिङ विधिमार्फत निष्कासित कूल सेयरको ४० प्रतिशत (७ लाख ७० हजार ६ सय ४० कित्ता) योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिएको छ । संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले बिक्री गरिएको थियो ।

बुक बिल्डिङ निर्देशिका बमोजिम ६० प्रतिशत सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फन्ड तथा कर्मचारीलाई बाँडफाँट गरिएको छ ।

निर्देशिका अनुसार संस्थागत लगानीकर्तालाई बिक्री गरिएको ‘कट अफ’ मूल्यको १० प्रतिशत डिस्काउन्ट गरेर प्रतिकित्ता ८२०.८० रुपैयाँ तय भएको थियो । ग्लोबल आईएमई क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा भएको आईपीओमा गोलाप्रथाबाट प्रतिआवेदक न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्दा २१ हजार ८ सय ७ जनाले पाएका छन् ।

सर्वसाधारणतर्फ १८ हजार ४ सय ९५ जना र वैदेशिक रोजगारी समूहतर्फ २ हजार ३ सय ११ जनालाई सेयर बाँडफाँट गरिएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । तीन वटै समूहमा गरी ५ लाख ७४ हजार ६ सय ९२ आवेदक थिए, जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५ सय ३२ रुपैयाँ संकलन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?