
काठमाडौं । संसारभर कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा आधारित च्याट जीपीटीजस्ता च्याटबोटहरूको प्रयोग व्यापक मात्रामा हुन थालेको छ । विद्यालय र कार्यालयदेखि अनुसन्धान, पत्रकारिता, न्याय र प्रशासनसम्म एआई प्लाटफर्महरुको पहुँच फैलिसकेको छ ।
यसैबीच एआईको व्यापकतासँगै एउटा महत्त्वपूर्ण प्रश्न उठिरहेको छ । आखिर यस्ता च्याटबोटहरू चलाउँदा वास्तवमा कति ऊर्जा तथा प्राकृतिक स्रोत खर्च हुन्छ त ?
च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईका सीईओ स्याम अल्टम्यानले हालै एएटा रोचक तथ्य सार्वजनिक गरे । उनका अनुसार च्याट जीपीटीलाई प्रयोगकर्ताद्वारा सोधिएको एउटा साधारण प्रश्नको जवाफ दिनका लागि करिब ०.३४ वाट–घण्टा बिजुली र ०.००००८५ ग्यालन पानी खर्च हुने गर्दछ । यो बिजुली भनेको एउटा उच्च दक्षताको एलईडी बल्बलाई केही मिनेटका लागि बाल्न पुग्ने ऊर्जा हो । त्यस्तै पानीको सो परिमाण चाहिँ एक चम्चाको पन्ध्रौँ भाग हो ।
यद्यपि, च्याट जीपीटीलाई सोधिने प्रश्नको जटिलता र उत्तरको लम्बाइको अनुपातमा ऊर्जा खपतको परिमाण पनि बढ्छ । १० हजार टोकनको उत्तर दिने प्रक्रियामा २.५ वाट घण्टा र एक लाख टोकनमा ४० वाट घण्टा ऊर्जा खर्च हुने देखिएको छ ।
लागत १५० गुणा घट्यो, ऊर्जा दक्षतामा तीव्र वृद्धि
सन् २०२३ को जनवरीमा जारी भएको जीपीटी–३.५ संस्करणदेखि हालको जीपीटी–४ सम्म आइपुग्दा च्याट जीपीटीको प्रति उत्तर ऊर्जा खपतमा १५० गुणा कमी आएको छ ।
एआईको मूल्य अन्ततः बिजुलीको मूल्य बराबरमा सीमित हुने ओपन एआईका सीईओ अल्टम्यान बताउँछन् । तथर्स भविष्यमा एआई सेवा पुर्याउने खर्च झनै सस्तो र सर्वसुलभ बन्नेछ ।
डेटा सेन्टरहरू परमाणु र सौर्य ऊर्जातर्फ ढल्किँदै
एआई सेवा सञ्चालनको मूल केन्द्र डेटा सेन्टरहरू हुन्, जहाँ प्रशस्त बिजुली र पानी आवश्यक हुन्छ । माइक्रोसफ्टले अमेरिकाको थ्री माइल आइल्यान्ड न्यूक्लियर ऊर्जा प्लान्ट २० वर्षसम्म प्रयोग गर्न सहमति जनाएको छ, जुन पहिले बन्द भएको थियो ।
त्यस्तै, गुगलले Kairos Power सँग मिलेर तीनवटा साना परमाणु रिएक्टर निर्माण गर्दैछ, जसले २०३५ सम्म ५०० मेगावाट ऊर्जा आपूर्ति गर्नेछ ।
यी पहलकदमीहरू एआईको ऊर्जा आवश्यकता पूर्तिका लागि सस्तो, स्वच्छ र दीर्घकालीन विकल्पका रूपमा प्रस्तुत भइरहेका छन् ।
स्मार्ट प्रविधि तर भारी उत्सर्जन
फिनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार वर्तमान समयमा विश्वमा हुने कूल कार्वन उत्सर्जनमा एआई डाटा सेन्टरहरूबाट हुने उत्सर्जनको हिस्सा ३ प्रतिशत रहेको छ । यदि ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा संयोजनमा जोड नदिए यो परिमाण भविष्यमै अझै बढ्नेछ ।
एआईका प्रयोगकर्ताहरु विश्वमा ज्यामितीय रुपमा बढिरहेको अवस्थामा यसको आकर्षणले कुल ऊर्जा खपत र जल स्रोत उपयोगको दर पनि तीव्र गतिमा बढ्नेछ । त्यसैले स्मार्ट प्रविधिसँग पर्यावरणीय विनाश तथा उत्सर्जनमा बढावा हुने देखिन्छ ।
नीति निर्माण र पारदर्शिता : अबको प्राथमिकता
प्रविधिको यो तीव्र विकाससँगै सरकार, नियामक संस्था, र वातावरणविद्हरुको जिम्मेवारी पनि उत्तिकै बढेको छ । कुन एआई मोडेलले कति ऊर्जा खर्च गर्छ ? हरेक प्रश्नको जवाफबाट वातावरणमा कति असर गर्छ ? भन्नेजस्ता सवालको पारदर्शी उत्तर दिन नीतिगत रूपमा बाध्यकारी मापदण्ड र मापन प्रणाली आवश्यक छ ।
अहिलेका लागि प्रयोगकर्ताहरूलाई सजग गराउन जीपीटी फुटप्रिन्ट जस्ता टुलहरू उपलब्ध छन्, जसले ऊर्जा खपत र पानी प्रयोगको तथ्यांक राख्न सहयोग पुर्याउँछन् ।
वास्तवमा च्याट जस्ता एआई च्याटबोटहरूले शिक्षा, प्रशासन, सञ्चार र विज्ञानमा क्रान्ति ल्याइरहेका छन् । तर यी च्याटबोटले दिने प्रत्येक जवाफका पछाडि लुकेको ऊर्जा खपतलाई बेवास्ता गर्नु असावधानी हुनेछ ।
त्यसैले स्मार्ट प्रविधिको प्रयोगसँगै स्मार्ट ऊर्जा रणनीति, नवीकरणीय स्रोतहरूमा लगानी र वातावरणीय प्रभावको पारदर्शिताको विषय सर्वाधिक गहन विषय हो ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4