
News Summary
Generated by OK AI. Editorially reviewed.- गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनको मुद्दामा रवीन्द्र मिश्र र धवल शमशेर राणा फरार रहेका छन्।
- उनीहरूको सम्पर्कविहीनता र पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढिरहेको छ।
- मिश्र र राणा अदालतमा उपस्थित नभएपछि प्रहरीले पक्राउ गरी उपस्थित गराउने तयारी गरेको छ।
३० जेठ, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका प्रतिवादी रवीन्द्र मिश्र र धवल शमशेर राणा हाजिरी जमानीमा छुटे पनि अदालतमा उपस्थित भएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री तथा सांसद राणा सम्पर्कविहीन भएपछि उनीहरूको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइयो ।
जिम्मा लिएका तीनजनालाई जनही २५ हजार रुपैयाँका दरले अनुसन्धान अधिकृतले जरिवाना तिराए । अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरू सम्पर्कमा आएनन् । थुनछेक बहस सकिएर बिहीबार आदेश आउँदासम्म पनि उनीहरू न अदालतमा उपस्थित भए न त प्रहरीको सम्पर्कमा गए ।
कानुनी रूपमा मिश्र र राणा फरार प्रतिवादी हुन् । हिरासतमा रहेका ३९ प्रतिवादीको आदेश बिहीबार आए पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले फरार रहेका मिश्र र राणाको हकमा केही बोलेको छैन ।
अब उनीहरूको मुद्दाको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे आम चासो रहेको छ । यसबारे जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठ उनीहरूविरुद्ध अब पक्राउ पुर्जी जारी हुने बताउँछन् ।
‘उहाँहरूसहित फरार रहेकाको हकमा अदालतबाट पक्राउ पुर्जी जारी हुन्छ । त्यसपछि प्रहरीले पुनः खोजेर पक्राउ गर्ने बाटो खुल्छ । उहाँहरू आफैं अदालतमा पनि उपस्थित हुन सक्नुहुन्छ,’ सूचना अधिकारी श्रेष्ठले भने ।
गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । त्यसपछि २ जेठमा प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो ।
मिश्रभन्दा अगाडि ७ वैशाखमा राणा छुटेका थिए । उपचारका लागि भन्दै राणालाई छाड्नुपर्ने सरकारी वकिल कार्यालयको रायअनुसार प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । यो प्रकरणमा अदालतबाट आदेश आउँदासम्म उनीहरू सम्पर्कविहीन छन् ।
१५ चैतमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । जहाँ मिश्र र राणा पनि सहभागी थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो ।
यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो । प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए ।
तीनकुने घटनामा संलग्न भएको आरोपमा मिश्र र राणालाई राजद्रोह, आपराधिक उपद्रव, संगठित अपराधको मुद्दा लगाइएको छ । उनीहरुसँगै यो घटनामा ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ११ जेठमा मुद्दा दर्ता भएको थियो ।
जसमध्ये आपराधिक उपद्रवको कसुरमा मात्रै मुद्दा दायर भएका ११ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका थिएनन् । जसका कारण बिहीबार रातिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा ३९ जना थिए । ३९ प्रतिवादीहरूको एक साताभन्दा लामो थुनछेक बहस सकिएपछि बिहीबार अदालतले आदेश गर्यो ।
जसमध्ये राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिका जनकमान्डर तोकिएका दुर्गा प्रसाईं, कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत कारागार चलान भए । बाँकी ३२ जनालाई भने धरौटीमा छाड्न आदेश भयो ।
यसअघि अदालतमा उपस्थित हुँदा उनीहरूलाई पनि अन्य अभियुक्तसँगै हिरासतमा राख्न आदेश हुनसक्ने सम्भावना थियो । जसका कारण उनीहरू हिरासत छल्न अदालत उपस्थित भएनन् । यद्यपि, पार्टीका कार्यक्रममा भने उनीहरू निरन्तर उपस्थित थिए ।
उनीहरूकै जस्तो आरोप लागेका अन्य अभियुक्त पनि धरौटीमा छुटेकाले मिश्र र राणा पनि अब अदालतमा आफैं हुने सम्भावना पनि छ । अदालत उपस्थित नभएको अवस्थामा भने प्रहरीले पक्राउ गरी उपस्थित गराउने तयारी गरेको छ ।
प्रतिक्रिया 4