+
+
Shares

तिलगाउँलाई सञ्चो भो ?

गत १ जेठमा हिमताल  फुटेर आएको बाढीले बिरामी परेको तिलगाउँ अहिलेसम्म पनि तंग्रिन सकेको छैन ।

नरजन तामाङ  नरजन तामाङ 
२०८२ जेठ ३१ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको तिलगाउँमा १ जेठको बाढीले हिमताल फुटेर बगाएको र गाउँका संरचनामा क्षति पुर्‍याएको छ।
  • बाढीले खानेपानी, सिंचाइ, सडक र घरहरूलाई क्षति पुर्‍याएको र ७ घरधुरी उच्च जोखिममा रहेका छन्।
  • गाउँलेहरूले रातको घटनालाई सम्झदा मन झसंग हुने र हिमताल खोज्न बिहानै हिँडेका थिए।

३१ जेठ, हुम्ला ।  बायाँपट्टि स्वा खाङ गुम्बा, दायाँपट्टि तिल जोङ खोला, बीचमा गुजुमुज्ज तिलगाउँ ।

गत १ जेठमा हिमताल  फुटेर स्वा खाङ गुम्बातिरबाट आएको बाढीले जमिन चिराचिरा पर्‍यो । त्यस दिनदेखि बिरामी परेको तिलगाउँ अहिलेसम्म पनि तंग्रिन सकेको छैन ।

स्वा खाङ गुम्बाको उत्तरतर्फ ५ हजार ३९० मिटर उचाइको हिमताल भासिएर आएको बाढीले तिलगाउँको खानेपानी मुहान, सिंचाइ कुलो, ५ वटा काठेपुल, २ वटा आधुनिक पानीघट्ट बगाएको छ ।

१ करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको १५ किलोवाटको लघु जलविद्युत आयोजनादेखि ५०/६० रोपनी जग्गा बाढीले बगाएपछि तिलगाउँका बासिन्दा १ जेठदेखि विस्थापित भए । स्थानीयवासीले एक साता त्रिपालमुनि बिताए ।

तिलगाउँको गोरेटो बाटो र पशुवस्तु चरिचरणमा क्षति पुगेको छ। बाढीले तिल गुम्बा जाने ३ किलोमिटर बाटो पूर्ण रूपमा क्षतविक्षत छ भने हिल्सा र हल्जी जोड्ने ०.५ किलोमिटर सडकमा क्षति पुगेको छ ।

२१ मध्ये ७ घरधुरी उच्च जोखिममा तिलगाउँमा बसोबास गर्ने २१ मध्ये ७ घरधुरी उच्च जोखिममा छन् । घर नजिक जमिन चिराचिरा भएपछि डरैडरमा दिन-रात काट्नुपरेको नाम्खा गाउँपालिका- ६ तिलगाउँका ३३ वर्षीय कन्चोक फुर्वु लामाले बताए । १४ घरधुरीलाई त्यति जोखिम नभए पनि ७ घरका नागरिकहरू डरैडरमा रहेको उनको भनाइ छ ।

घटना भएको रात सम्झिँदा अहिले पनि मन झसंग हुने कन्चोक बताउँछन् । ‘विमान भुइँमा बजारिएजस्तै गरी ठुलो आवाज आयो । त्यो आवाजले रातमा सन्नाटा छायो,’ उनले भने, ‘म हतारिएर घरको छतमा चढेँ । गाउँलाई नै खतरामा पार्दै हिलो र पानीसँगै चट्टान बगिरहेको देखेँ । त्यो दृश्य सम्झिँदा मेरो शरीर अहिलेसम्म पनि काप्छ ।’

त्यसपछि कान्चोकले आत्तिँदै श्रीमतीलाई उठाए। वृद्ध आमालाई बोकेर चिच्याउँदै घरबाट बाहिर निस्किएको उनले सुनाए ।

तिलगाउँकी ४२ वर्षीया सोनाम साङमु लामा अहिलेसम्म गड्यागुडुङ आवाज र माटोको ढिस्को खस्दा पनि शरीर काप्ने गरेको बताउँछिन् ।

उनी अनलाइनखबरलाई त्यो रातको घटना सुनाउँछिन्, ‘सुतिरहेका थियौं, खोला नजिकै ठूलो आवाज आयो । उठेर हेर्दा लेदोसहित बाढी आइरहेको थियो । हतारहतार घरमा आएर ७० वर्षीया आमा निमा ल्हामु लामालाई बोकेर भागें ।’ आमाको ज्यान बचाएपछि घरमा भएको धनसम्पत्तिको चिन्ता लाग्न थालेको उनले बताइन् ।

हिमताल खोज्न भोलिपल्ट त्रासैत्रासमा रात गुजारेका तिलगाउँबासी भोलिपल्ट बिहानै हिमताल खोज्न हिँडेका थिए । सोनाम साङमु लामाले भनिन्, ‘बिहान साढे ४ बजेको थियो । म र ४ जना पुरूष हिमताल पुटेको स्थान खोज्न त्यतातिर लाग्यौं ।’ ८ घण्टा हिँडेपछि हिमताल फुटेको स्थान पुगेको लामाले जानकारी दिइन् ।

समुन्द्री सतहबाट ५,३५० मिटर उचाइमा पुग्दा दुईवटा हिमताल फेला परेको कन्जोक फुर्वु लामाले जानकारी दिए। ‘हिमतालको जमिन भासिएर बाढी आएको देखियो,’ उनले अनलाइनखबरसँग भने । हिमताल  फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएपछि युवाहरूको टोली बेलुका साढे ७ बजे गाउँमा आइपुगे ।

२१  घरधुरी, जनसंख्या ४२  तिलगाउँमा २१ घरधुरीका ४२ जना बसोबास गर्दै आएका छन् । भर्खर जन्मिएकादेखि ५ वर्ष उमेर समूहका २ जना, १८ वर्षदेखि ५९ वर्षसम्मका १३ जना पुरूष, ११ जना महिला र ६० वर्षका ९ जना पुरूष र ७ जना महिला गरी ४२ जना रहेका छन् ।

तिलगाउँमा २४ पुरूष १८ जना महिलाको बसोबास छ । ५ वर्ष उमेर समूहका अधिकांश चीनको ताक्लाकोट र काठमाडौ लगायत शहरमा आमाबुबासँग गएको स्थानीयवासी बताउँछन् । गाउँमा वृद्धवृद्धा मात्रै घरको रेखदेख गरी बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?