
News Summary
Generated by OK AI. Editorially reviewed.- सिस्नुपानी नेपालले 'कर्नालीमा सिस्नुपानी' हास्यव्यङ्ग्य यात्रा सम्पन्न गर्यो।
- कार्यक्रमले सामाजिक सचेतनामूलक र भ्रष्टाचारविरोधी सन्देश प्रवाह गर्यो।
- विभिन्न जिल्लामा आयोजित कार्यक्रमले स्थानीय र राष्ट्रिय नेताहरूको सहभागिता र मनोरञ्जन प्रदान गर्यो।
१ असार, काठमाडौ । समाजका विकृति र बिसंगतिका बिरुद्धमा कडा व्यङ्ग्य वाण चलाउँदै हास्य व्यङ्ग्यका माध्यमबाट समाज सुधार अभियानमा क्रियाशील संस्था सिस्नुपानी नेपालको ‘कर्नालीमा सिस्नुपानी’ हास्यव्यङ्ग्य यात्रा सम्पन्न भएको छ ।
व्यङ्ग्यायात्मक देउसी भैलो कार्यक्रमबाट लोकप्रिय यस संस्थाले बिगतमा ‘बा’, ‘छोरी’, ‘राष्ट्र’ जस्ता कार्यक्रमहरू र विदेशमा ‘दुई थोपा हाँसो’ कार्यक्रमका विभिन्न चरणहरू साथै स्वदेशमा विभिन्न भ्रष्टाचार बिरोधी सङ्घ संस्थाहरूसँगको सहकार्यमा सामाजिक सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसपालीको ‘कर्नालीमा सिस्नुपानी’ कार्यक्रम भने ट्रान्सपरेन्सी ईन्टरनेसनलको सहकार्य तथा राष्ट्रिय वाणिज्य बैंकको सौजन्यमा कर्णाली क्षेत्रका जिल्ला सदरमुकाम स्थित नगरपालिकाहरूको संयोजनमा सम्पन्न भएको थियो ।
रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका स्थित सहिद प्रतिष्ठानको सभाहलमा २०८१ जेठ ७ गते सुरु भएको कर्नालीमा सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा जेठ ८ गते जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित होटल रिद्धि सभाहल, खलङ्गा, माथिल्लो थाप्ले, जेठ ९ गते दैलेख जिल्लाको नारायण नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहल, जेठ १३ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका स्थित उद्योग वाणिज्य संघको सभाहल हुदै जेठ १५ गते मुगु जिल्लाको छायानाथ रारा नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहल, गमगडी बजार पुगेर समापन भएको थियो।
मुसिकोटको कार्यक्रममा मेयर श्री महेन्द्र के सी सभाध्यक्ष हुनुहुन्थ्यो भने जिल्ला समन्वय समितिका उप प्रमुख श्री देवबहादुर बि क प्रमुख अतिथि थिए । भेरी न पा मा मेयर श्री चन्द्रप्रकाश (सि पी) घर्ती को अध्यक्षता र जिल्ला समन्वय समितिका सभापतिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
यसैगरी नारायण न पा मा सभाध्यक्ष श्री लोमन शर्मा (मेयर) र प्रमुख अतिथि श्री कुलप्रसाद पाण्डे (दैलेख जिल्ला न्यायाधीश), चन्दननाथ न पा मा सभाध्यक्ष श्री राजुसिं कठायत (मेयर) र प्रमुख अतिथि श्री गौरीनन्द आचार्य (जिल्ला समन्वय समिति सभापति) र छायानाथ रारा न पा को कार्यक्रममा सभाध्यक्ष श्री ऐश्वर्य मल्ल (उपमेयर) र प्रमुख अतिथि श्री धर्मबहादुर शाही (सोरु गा पा अध्यक्ष) थिए ।
जिल्ला स्थित प्राय संपूर्ण संस्थाका प्रमुखहरू, विभिन्न पार्टीहरूका स्थानीय नेताहरू, समाजसेवी, कलाकार, साहित्यकार तथा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सिस्नुपानी टिमको प्रस्तुति सुरु हुनु भन्दा अगाडि केही स्थानीय कवि कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
यसरी आफ्नो प्रस्तुति दिनेहरुमा रुकुम पश्चिममा मुकुन्दप्रसाद शर्मा, गिरिप्रसाद बुढा, ओमबहादुर खत्री र मनलाल ओली, जाजरकोटमा सशस्त्र प्रहरी प्रमुख डि एस पी लालबहादुर (एल बी) चन्द र छात्रा सपना बोहरा, दैलेखमा तीर्थ भण्डारी, कृष्ण देवकोटा र बबिता बिष्ट, जुम्लामा लक्ष्मी खत्रीको जोडी तथा मुगुमा सिपी सङ्घर्ष प्रिय पत्थर उपनामका शिक्षक चन्द्रप्रकाश बढुवाल र स्थानीय ठाडीभाखा तथा देउडा समूहहरू थिए ।
स्थानीय कवि कलाकारहरूका रचना तथा सांस्कृतिक प्रस्तुतिबाट प्रारम्भ भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले कार्यक्रमको उद्देश्य प्रष्ट पारेपछि सिस्नुपानी नेपालका कवि कलाकारहरुले दुई घण्टासम्म स्रोता दर्शकलाई सचेतनामूलक हास्यव्यङ्ग्यका प्रस्तुतिहरुद्वारा मनोरन्जन दिएका थिए।
व्यङ्ग्य कविताका अतिरिक्त नेपालमा भ्रष्टाचार गरेर पनि दण्ड सजाय नपाई उम्केर यमलोक पुगेमा त्यहाँ भने कसैगरी उम्किने उपाय नभएको बताउँदै यमलोकमा उदण्ड भ्रष्टाचारीलाई दण्ड दिने नियमावली सुनाएर सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले स्रोता दर्शकलाई राम्रैसँग हँसाएका थिए । अत्यन्त तिखा व्यङ्ग्य कविताका लागि चर्चित कवि अर्जुन पराजुलीका छोटा र तिक्ष्ण व्यङ्ग्य कविताले हाँसो र तालीको गडगडाहट प्राप्त गरेको थियो ।
कार्यक्रम सञ्चालक सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्यको मुक्तक, चुट्किला, हसिमजाक र उत्प्रेरणा सहितको मनोरन्जक शैलीले दुई घण्टा लामो कार्यक्रमलाई खँदिलो र उल्लासमय बनाएको थियो ।
सरकारी सेवाका सिलसिलामा करिब चार दशक अघि लामो समय कर्णालीका बिताएका कवि/गायक धीरेन्द्र प्रेमर्षिको देउडा गायन तथा प्यारोडीले उत्तिकै प्रभावशाली भूमिका निर्वाह गरेको थियो । चर्चित गायक शिशिर योगीको सदाबहार लोकप्रिय गीत ‘कर्णाली पारी छैन खेतबारी’मा स्रोता दर्शकले समेत सँगसँगै गाएर यस गीतको लोकप्रियतालाई थप पुष्टी गरेका थिए ।
विगत केही वर्षदेखि स्वर्गीय विपी कोइरालाको प्रतिकृति जस्तै लाग्ने जिउडाल र भेषभुषाको अनुकृतिद्वारा चर्चामा आएका कलाकार चक्र दवाडीको अभिनय तथा समसामयिक व्यङ्ग्यले उत्तिकै मनोरन्जन दिएको थियो । वर्तमान समयका चर्चित युवा हास्यव्यङ्ग्य कलाकार सुवोध गौतमको घनघोर प्रस्तुतिले सभा हल निरन्तर हाँसो र तालीले गुन्जायमान भएको थियो ।
टेलिभिजिनका पर्दामा समेत काम गरिरहेका सुवोध गौतमको लोकप्रियता साँच्चै नै लोभलाग्दो देखिन्थ्यो । उनकाका वरिपरि बालबालिका तथा युवायुवतीहरु सेल्फी लिन र कुरा गर्न निरन्तर झुम्मिरहेका हुन्थे । यो क्रम कर्णालीका सबै जिल्लामा र यात्राका क्रममा बाटोमा जताजतै कायम रहेको थियो ।
‘कर्णाली यात्रा’ कर्णालीको आशा, पहिचान, सम्भावना र सुशासन बहसमा केन्द्रित अभियान रहेको साथै कर्णालीको स्थानीय सरकारका प्रतिनिधिहरूलाई सुशासनका लागि जिम्मेवार बनाउनु यात्राको उद्देश्य रहेको संयोजक एवं अभियन्ता टङ्क आचार्यले बताए ।
प्रतिक्रिया 4