
१ असार, काठमाडौं । नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको उनको भनाइ थियो ।
‘यो बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन । विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था छैन,’ पूर्वअर्थमन्त्री समेत रहेका महतले भने, ‘वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजस्वको जुन लक्ष्य राखिएको छ, पहिले भन्दा घटाइएको छ । तै पनि, यो लक्ष्यलाई प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ ।’
डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।
‘बजेटले जुन आम्दानीको स्रोत देखाएको छ, त्यो अनुसार आम्दानी नजुट्ने र त्यो आय ऋणबाट होस्, अनुदानबाट होस् या राजश्वबाट प्राप्त हुने जुन विनियोजन छ, त्यो किसिमको आय नहुने हुनाले विनियोजनमा पनि अवश्य समस्या हुने कुरामा दुई मत छैन,’ महतले भने ।
आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4