+
+
Shares

मनहरीमा थपिए दुई पुल, पाँच वर्षमा बने पाँच पुल

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा पुल थपिएका छन् । २०७७ सालमा ठेक्का सम्झौता भएका दुईवटा पुलको शनिबार उद्घाटन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १५:३७

१ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा पुल थपिएका छन् । २०७७ सालमा ठेक्का सम्झौता भएका दुईवटा पुलको शनिबार उद्घाटन गरिएको छ ।

मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट निर्माण सम्पन्न गर्ने गरी २०७७ मा पाँचवटा पुलको ठेक्का सम्झौता गरेको थियो । तीमध्ये तीनवटा पुल एक वर्षअघि निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् ।

शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा पूर्वगृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले दुई पुलको उद्घाटन गरे । बागमती प्रदेश सभा सदस्यसमेत रहेका बानियाँले मनहरी गाउँपालिका ३ मा पर्ने हाँडीखोला र ठाडोखोलामा निर्माण गरिएको पुलको उद्घाटन गरेका हुन् ।

३५ मिटर लम्बाइको हाँडीखोला पुल भैरव/नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा निर्माण गरेको हो । ९० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको ठाडोखोला पुल हिराचन/बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माण गरेका हुन् ।

मनहरी–३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल, ३ र ४ नम्बर वडा नै जोड्ने मसिने खोला पुल, मनहरी १ र २ जोड्ने च्यापलखोला पुल गतवर्ष जेठमा उद्घाटन गरिएको थियो ।

ट्वाङ्ग्रा खोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा, मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा र च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

मनहरी गाउँपालिकाले पाँचवटै पुल गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण गरेको हो । करिब साढे ३३ करोड रुपैयाँको लागतमा पुल निर्माण गएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

यी पुल निर्माण हुनुअघिसम्म मनहरीका अधिकांश क्षेत्रलाई झोलुंगे पुलले जोडेको थियो । नयाँ संविधान बनेर २०७४ मा स्थानीय तह निर्वाचनपछि स्थानीय सरकार गठन भएयता मनहरीमा पूर्वाधार निर्माणले प्राथमिकता पाएको छ ।

गाउँपालिकाले निर्माण गरेको पाँचवटा पुलले ४ वटा वडालाई आपसमा जोडेको छ । तरकारी उत्पादनका पकेट क्षेत्र रहेका यी वडाहरूका किसानलाई आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन पुल निर्माणले सबैभन्दा बढी फाइदा पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?