
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्यो।
- प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पहुँच विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
- आयोजनाको कुल लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको र ६३ प्रतिशत प्रगति भएको जानकारी दिइएको छ।
२ असार, काठमाडौं । रसुवामा निर्माणाधीन २ सय १६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
आयोजना प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सु मिनले सोमबार गाउँपालिकालाई एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरे ।
एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरी लगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक तथा सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थपोस्टले सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा सीईओ मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर उपलब्ध गराइएको बताए ।
आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावित हुने भएकाले सोही विषयलाई केन्द्रमा राखी प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम सञ्चालित रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष अर्यालले एम्बुलेन्सबाट विकट एवं दुर्गम भेगका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन सहयोग पुग्ने उनले बताए ।
आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम मार्फत हालसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको जनाएको छ ।
कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवा आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध लगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायत संरचना निर्माणाधीन छन् ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाको मुख्य निर्माण पुस २०७८ देखि सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँध लगायत सम्पूर्ण संरचना निर्माण भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत छ ।
आयोजनाको ९.५ किलोमिटर लामो सुरुङमध्ये ४ सय मिटरमात्र खन्न बाँकी छ । आयोजनामा हाल कार्यरत करिब १ हजार जनशक्तिमध्ये ४० प्रतिशत आयोजना प्रभावित रसुवाका छन् ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडेलमा कोरियाली कम्पनी डुसान एर्नबिलेटीले काम गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाली सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी (इक्विटी) छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।
उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ ।
कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया 4