+
+
Shares

होटल सोल्टीमा मेरिअट ब्रान्ड ‘अटोग्राफ कलेक्सन’ प्रवेश

सोल्टी प्रवेश गरेको मेरिअटको अटोग्राफ कलेक्सन दक्षिण एसियामै पहिलो हो । अब सोल्टीको ब्रान्ड नेम ‘द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन’ भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १९:२९

२ असार, काठमाडौं । नेपालकै पहिलो पाँचतारे होटल सोल्टीमा अर्को विश्वप्रसिद्ध होटल ब्रान्ड मेरिअटको ‘अटोग्राफ कलेक्सन’ प्रवेश गरेको छ ।

सोल्टी प्रवेश गरेको मेरिअटको अटोग्राफ कलेक्सन दक्षिण एसियामै पहिलो हो । अब सोल्टीको ब्रान्ड नेम ‘द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन’ भएको छ ।

सुइटसहित २ सय ८५ कोठा रहेको सोल्टीका लागि मेरिअटको अटोग्राफ कलेक्सन ब्रान्ड प्रवेशले अन्तर्राष्ट्रिय बजार विस्तार गर्न उल्लेख्य सहयोग पुग्ने होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

‘अटोग्राफ कलेक्सनको प्रवेश भनेको एकखालको लोयल्टी प्रोग्राम हो, अझ भन्नुपर्दा डिस्ट्रिब्युनि च्यानल हो,’ चापागाईंले अनलाइनखबरसँग भने, ‘दुई कम्पनीबीच भएको सम्झौता अनुसार अब अटोग्राफ कलेक्सन मार्फत आउने हाई इन्ड पर्यटकले सोल्टीका कोठा बुकिङ गर्नेछन् । यो भनेको सोल्टीको पहिचान विश्वव्यापी हुनु हो ।’

उनका अनुसार होटलको नाम परिवर्तन वा व्यवस्थापन परिवर्तन केही पनि हुने होइन, यी सबै काम सोल्टी व्यवस्थापन आफैंले गर्छ ।

५९ वर्षअघि स्थापित पाँचतारे होटल सोल्टीमार्फत अटोग्राफ कलेक्सन ब्रान्डलाई दक्षिण एसियामै पहिलो पटक नेपाल प्रवेश गराउन पाउादा गौरव महसुस भएको मेरिअट इन्टरनेसनलकी क्षेत्रीय उपाध्यक्ष रञ्जु एलेक्सले बताइन् ।

‘दक्षिण एसिया मेरिअट इन्टरनेसनलको श्रीवृद्धिका लागि महत्त्वपूर्ण बजार हो र सांस्कृतिक हिसाबमा धनी गन्तव्य काठमाडौंको लिगेसी बोकेको होटल सोल्टीमार्फत प्रवेश गर्न पाउनु थप गौरवको विषय हो,’ एलेक्सले भनिन् ।

होटल सोल्टीका महाप्रबन्धक अभिनाश देशमुखले दक्षिण एसियामा सोल्टीमार्फत मेरिअटको अटोग्राफ कलेक्सन भित्र्याउन पाउँदा अत्यधिक खुसी लागेको बताए ।

‘होटल सोल्टीका लागि अब नयाँ अध्याय सुरु भएको छ,’ उनले भने, ‘यसबाट अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?