+
+
Shares

इजरायलद्वारा इरानको सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते ७:२२
आईआरआईबीकी प्रस्तोता । उनले लाइभ गरिरहेकै बेला आक्रमण भएको हो ।

३ असार, काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण गरेको छ ।

इजरायलका सेनाले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)को कार्यालयमा सोमबार राति आक्रमण गरेका हुन् ।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला टेलिभिजन कार्यालयमा आक्रमण भएको दृष्य पनि प्रसारण भएको थियो । त्यही क्रममा कार्यक्रम प्रस्तोता कार्यक्रम बन्द गरेर बाहिर निस्किएको भिडियो अहिले भाइरल छ ।

आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ ।

सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘इरानी राष्ट्रको शत्रुले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’

प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।’

यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ धम्की दिएका थिए ।

‘इरानी प्रोपोगान्डा र उक्साउने मेगाफोन ध्वस्त हुन लागेको छ,’ उनले एक विज्ञप्ति जारी गरी भनेका थिए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान पनि भनेका थिए ।

त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?