+
+
Shares

‘हिप्पोक्रेसी’बाट आक्रान्त राजनीति

विश्व–राजनीतिमा देखापरेको मौकापरस्तवाद वासिङ्टनदेखि सिंहदरबारसम्म मौलाइरहेको छ । यसबाट पार पाउने उपाय भनेको विचारको विकास, विचारको बहस र विचारकै प्रतिस्पर्धा हो ।

खिमलाल देवकोटा खिमलाल देवकोटा
२०८२ असार ३ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आलेखले ट्रम्प–मस्कका साथै नेपाली नेताहरूको सम्बन्धलाई स्वार्थ र उपयोगितामा आधारित हिप्पोक्रेसीको उदाहरणका रूपमा चित्रण गर्दछ।
  • नेपाल र विश्वव्यापी राजनीति स्थिर विचारधाराभन्दा व्यक्तिगत फाइदामा केन्द्रित भएको बताइन्छ।
  • विचारको अन्त्य र हिप्पोक्रेसीले लोकतन्त्र र पारदर्शितामा चुनौती पैदा गरेको विश्लेषण गरिएको छ।
  • यसबाट पार पाउने उपाय भनेको विचारको विकास, विचारको बहस र विचारकै प्रतिस्पर्धा हो । तर आज त्यही चिजको खडेरी छ ।
  • आलेखमा हिप्पोक्रेसी आजको समस्या हो भनिएको छ ।

एक बेलामा जोडतोडका साथ बोलिएको कुरा अर्को बेलामा ठीक उल्टो बोल्न सक्ने क्षमतालाई हिप्पोक्रेसी भनिन्छ । यो प्रवृत्ति राजनीतिमा हावी छ । त्यसमा पनि वासिङ्टनदेखि सिंहदरबारसम्म फैलिएको छ । शक्तिका खेलाडीहरू बीचको सम्बन्ध प्रायः अनपेक्षित रूपमा कहिले सुल्टो कहिले उल्टो सम्बन्धमा देखिन्छन् । कहिले औधी प्रशंसा, कहिले औधी घृणा गर्ने चलन छ । पात्र उही, घटना उही; खाली आफ्नो संगत फरक भएकै आधारमा आफ्नै बचनलाई उल्टाउन सक्ने चरित्र राजनीति बाहेक अन्यत्र विरलै देखिएला ।

अमेरिकामा बन्दै र भत्कँदै गरेको डोनाल्ड ट्रम्प र एलन मस्क बीचको सम्बन्धदेखि नेपालमा केपी ओली, प्रचण्ड, देउवा, माधव सहित रवि र राजेन्द्र लिङ्देनहरूसँगको प्रशंसा र घृणाका शृंखला अनुभूति गर्न सकिन्छ । राजनीतिक नेताहरूबीचको अस्थिर, अनपेक्षित र अपारदर्शी गठबन्धनसम्मका सम्बन्धहरू फाइदा, लेनदेन र अवसरवाद बढ्दो रूपमा प्रवृत्त र प्रमाणित पनि छन् ।

यस आलेखले ट्रम्प–मस्क लभ एन्ड हेट रिलेशन र नेपालका बहुरंगी गठबन्धन बीचका भिन्नता र समानताको चित्रण गर्दछ । कसरी आधुनिक राजनीति स्थिर विचारधारा भन्दा व्यक्तिगत फाइदावादको रसायनले बढी भूमिका निर्वाह गर्दछ भनेर बुझ्न सघाउने अपेक्षा पनि छ ।

ट्रम्प–मस्क : राजनीतिक मित्रताको नयाँ प्रकार

अमेरिकामा डोनाल्ड ट्रम्प र एलन मस्कले राजनीति र व्यवसायमा दुई उच्च व्यक्तित्वको प्रतिनिधित्व गर्छन् । अघिल्लो निर्वाचनका बखत ट्रम्पका विरोधी मस्क एकाएक ट्रम्पका कट्टर समर्थक मात्र भएनन् उनका मुख्य क्याम्पेनर नै भएर ट्रम्पलाई ह्वाइट हाउस भित्र्याउने काम गरेर उनी आफू समेत महत्वपूर्ण भूमिका सहित भित्रिए ।

अमेरिकी प्रशासनको खर्च कटौतीको महत्वपूर्ण विभागको प्रमुखका रूपमा भित्रिएका मस्क क्याबिनेट बैठकमा पनि बस्न थाले । ट्रम्पका भित्रिया सहयोगीका रूपमा रहेका मस्कलाई ट्रम्पले भावी राष्ट्रपतिसम्म भन्न भ्याए । यही मेसोमा ह्वाइट हाउसको जनाकारी विनै एलन मस्कको स्टार लिंक वाईफाई जडान गर्न भ्याए । यस्तो अनौपचारिक सम्बन्धका मस्क र ट्रम्प एक वर्ष नबित्दै पानी बाराबारको स्थितिमा पुगे ।

ट्रम्पलाई महाअभियोग लगाउनुपर्छ भन्ने मस्क र मस्कका सबै ठेक्का रद्द गरिदिन्छु भन्ने ट्रम्पका अभिव्यक्ति आए । भलै दुई दिनपछि मस्कले आफ्ना पूर्ववत् अभिव्यक्तिमा आफूलाई पश्चात्ताप रहेको भन्दै केही स्टाटस मेटे । उनीहरूको सम्बन्धमा आएको उतारचढावले राजनीतिक लोकप्रियतावाद र प्रविधि र पूँजी बीचको जटिल सम्बन्धको चरित्र उजागर गर्दछ ।

परम्परागत राजनीतिको खिलाफमा उदाएको व्यावसायिक महाशक्ति मस्कले ट्रम्प र जो बाइडेन दुवैको सन्दर्भमा, विशेषगरी विद्युतीय सवारी साधन, अन्तरिक्ष नीति र सीमारहित सञ्चार प्रविधिको स्वतन्त्रता जस्ता मुद्दाहरूको वरिपरि, खुला रूपमा आलोचना र प्रशंसा गरेका छन् ।

अर्कोतर्फ, ट्रम्पले मस्कको सहारामा युवा र स्वच्छन्दतावादी झुकाव भएका मतदाताहरूको मन जित्ने कोसिस गरेर आफ्नो ह्वाइट हाउस यात्रा सफल बनाएका थिए । कुरा स्पष्ट छ कि उनीहरूको सम्बन्ध साझा विचारधारामा आधारित छैन, बरु पारस्परिक लाभमा आधारित छ ।

मस्कले आफ्नो प्रविधि साम्राज्यको लागि अनुकूल अवसर पाउने र यसकै बलमा ट्रम्पले प्रविधिमैत्री र व्यापारी मतदाताका बीचमा वैधता प्राप्त गर्ने यो शक्ति र अवधारणाको संयुक्त लेनदेनमा पूरै निर्भर थियो । तर, केही दिनयता त्यो सम्बन्धमा दरार आएको छ, यसका छिटा संसारभर देखिन थालेका छन् ।

व्यक्ति ब्रान्डिङले बढ्दो रूपमा राजनीतिक पूँजीलाई आकार दिन्छ । मस्कका ट्वीटहरूले बजार र कानूनलाई प्रभाव पार्छन् । यता, आ–आफ्नो पृष्ठभूमि भएकामध्ये पनि प्रचण्डको क्रान्तिकारी विगतले उनलाई विरासतमा महत्व दिन्छ । केपी ओली, ट्रम्प जस्तै, प्रत्यक्ष सञ्चार र प्रतिक्रियात्मक राष्ट्रवादमा फस्टाउँछन्, प्रायः पार्टी प्रक्रियाहरूलाई बाइपास गर्छन् ।

नेपालको राजनीतिक त्रिकोण

नेपाल कहिल्यै अन्त्य नहुने संक्रमणबाट आक्रान्त छ । नेपालका शीर्ष नेताहरू समान रूपमा यो संक्रमणले भरिपूर्ण तरल राजनीतिक वातावरणमा काम गर्न अभ्यस्त भइसकेका छन् । तर कमजोर संस्थागत हालत र वैचारिक अस्पष्टताका कारण धेरै ठूलो दावाका साथ दीर्घकालीन फाइदा लिने वा लेनदेन गर्ने हालतमा भने उनीहरू छैनन् । साम्यवादी मत राख्ने कम्युनिष्टदेखि सामन्तवादी राजा फर्काउनेसम्म, सहमत हुँदासम्म राजासँग घाँटी जोडिएको अलाप गर्ने र असहमत हुँदा गणतन्त्रवादी हुने कांग्रेसका बीचमा कुनै न कुनै विन्दुमा गठबन्धन गरेको छ, बनिरहेको छ र भविष्यमा समेत बन्नेछ भनियो भने गलत हुँदैन ।

शक्ति बाँडफाँटको मान्यतामा आधारित गठबन्धन हावी भएको समकालीन नेपाली राजनीतिले नक्कली रणनीतिक र संकट दुवै किसिमको राजनीतिक चालबाजीलाई स्वीकार गर्दछ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, रवि लामिछाने र राजेन्द्र लिङ्देन बीचको विकसित सम्बन्धले यो जटिल जाललाई छरपस्ट ढंगले प्रकट गर्दछ ।

हिजो रवि र आलमका बारेमा केपी ओलीका वाणी आज ठिक उल्टो भएको छ । त्यसैगरी, चुनावका बेलाको लिङ्देनको प्रशंसा आज गालीमा परिणत भएको छ । हिजोको विरोध वा समर्थन वा आजको क्रियाकलापको अन्तर्य एउटै हो, त्यो विचारमा आधारित छैन सत्ता स्वार्थमा आधारित छ ।

केपी–प्रचण्ड : स्वार्थको सम्बन्ध र विच्छेद

एकीकृत कम्युनिष्ट पार्टी गठन गर्न एमाले र माओवादी सहमत हुनु, केपी र प्रचण्डको सम्बन्धको सकारात्मक उत्कर्ष थियो । यो एकीकरणलाई एक ऐतिहासिक र परिवर्तनकारी कदमको रूपमा हेरिएको थियो । ओली र प्रचण्डले क्रमशः एमाले र माओवादी विरासतको प्रतिनिधित्व गर्दै दृष्टिकोण र शक्तिमा एकताको प्रक्षेपण गरेका थिए । तर, ट्रम्प र मस्क जस्तै, उनीहरूको सम्बन्ध कहिल्यै पनि जैविक थिएन । यो स्वार्थको र स्वार्थपूर्तिको आवश्यकताको भुमरीमा बनाइएको सम्बन्ध थियो भन्ने कुरा लगत्तैका घटनाक्रमले पुष्टि गरे ।

संसदीय राजनीतिमा गणित मिलाउन बलशाली मत सहितको कुर्सी प्राप्त गर्न र विपक्षलाई दमन गर्ने मौकाका रूपमा उपयोग भयो । मौका परस्त र उपयोगवादी राजनीतिक शैली, महत्वाकांक्षाले पृष्ठभूमिमा रहेको उनीहरूका विचारधारात्मक मतभिन्नताहरू चाँडै नै देखा परे । ओलीको केन्द्रीकृत नेतृत्व, पार्टी र सरकारको शक्ति बाँडफाँटमा टकराव पैदा गर्ने कारण बन्यो । संसद् विघटन, सरकार विघटन र पार्टी विघटन हुँदै नेकपाको फुट र सर्वोच्च अदालतको प्रयोगसम्म पुग्यो । अन्ततः यो एक रणनीतिक सम्झौता थियो, मनको विलय थिएन भनेर प्रमाणित गर्‍यो ।

शेरबहादुर देउवा : सत्ताकेन्द्रित मध्यमार्गी

अनिर्णयको लागि प्रायः उपहास गरिने देउवा, अप्रत्यासित रूपमा नेपालको शक्ति संघर्षमा केन्द्रीय भूमिकामा देखा पर्दछन् । देउवाले आफूलाई परस्पर विरोधीहरूका बीच मौकामा चौका हान्ने कौशलता प्रयोग गर्छन् । कहिले माओवादी, कहिले एमालेलाई बोकेर भए पनि शक्ति आर्जन, सञ्चय र प्रयोग गर्र्दै उनले सधैं आफूलाई शक्तिको केन्द्रमा राख्न सफल भइरहेका छन् । संकटमा उनी मध्यस्थकर्ताका रूपमा प्रस्तुत हुन्छन् । उनले विभिन्न समयमा ओली, प्रचण्ड र माधवसँग काम गरेका छन्, वैचारिक मेलका आधारमा भने हैन राजनैतिक आवश्यकताले भन्न रुचाउँछन् ।

जब राजनीतिक सम्बन्धहरू विश्वास भन्दा शक्ति, स्वार्थ र सुविधाद्वारा बढी सञ्चालित हुन्छन्, सार्वजनिक जवाफदेहिता कठिन र आवश्यक दुवै हुन्छन् । यी सम्बन्धहरू माथिको विवेचनाले देशभित्र वा बाहिर आजको राजनैतिक नेतृत्वको अन्तर्निहित तर्कलाई पहिचान गर्न मद्दत गर्न सक्छ ।

निर्वाचनका बखत प्रचण्डसँगको उनको सम्बन्धले गणित बढायो र वर्तमान सत्तारुढ गठबन्धनको गठनलाई सक्षम बनायो । केपी ओलीसँग, उनले रणनीतिक दूरी कायम राखेरै सहकार्य जारी राखेका छन् । देउवा आफ्नो लचिलोपन र दुवै पक्षसँग खेल्ने क्षमतामा मस्कसँग मिल्दोजुल्दो छन् । ट्रम्प र बाइडेन दुवैसँग संलग्न मस्कले जस्तै, देउवाले पार्टी लाइनहरू बाहेक पनि सौहार्दपूर्ण सम्बन्ध कायम राख्छन्, लोकप्रिय आन्दोलन वा कट्टरपन्थी नीतिमाथि मध्यस्थता, वार्ता र संसदीय अंकगणितमा ध्यानकेन्द्रित गर्दछन् ।

माधवकुमार नेपाललाई निराश तर आदर्शवादी छविका रूपमा चित्रित गरिन्छ । केपी ओलीबाट माधव नेपालको विभाजनलाई ओलीको अधिनायकवादी हर्कतका लागि एक सशक्त नैतिक दबाबका रूपमा हेरिएको थियो । तर समयसँगै, उनको नवगठित नेकपा (एकीकृत समाजवादी)ले आफूलाई वैचारिक रूपमा अलग राख्न संघर्ष गर्नुपरेको छ । पार्टी अनुशासन र लोकतान्त्रिक मान्यताहरूमा कडा मिहिनेतका बाबजुद, उनको राजनीतिक छनोटहरू प्रायः प्रणालीगत सुधार भन्दा व्यक्तिगत इगो प्रतिध्वनित गर्छन् ।

शेरबहादुर देउवा र प्रचण्डसँगको मिलन रणनीतिक थियो । माधव नेपालसँग भएको संख्या कुनै बेला देउवा र प्रचण्डका लागि मूल्यवान् थियो । यसअघिको गठबन्धनमा माधवको भूमिकाले देखाउँछ कि कति निराश नेता पनि वार्ताको टेबलमा पुनः प्रवेश गर्नुपर्छ । उनको यात्राले नैतिक उच्च धरातल विरलै गठबन्धनको राजनीतिको तापमा बाँच्न सक्छ भन्ने कुराको सम्झना गराउँछ ।

राजेन्द्र लिङ्देन र केपी शर्मा ओली एकअर्काका सहयोगी तर विरोधी भूमिकामा देखा पर्दछन् । निर्वाचनका बखत तालमेल गरेर संसद् छिर्ने तर संसद् र सडकमा मारमुङ्ग्री गर्ने भूमिका कसैलाई पनि पत्यार लागेको छैन ।

निर्वाचनका बखत राष्ट्रवादी देखापरेको राप्रपा आन्दोलनमा भारतको झण्डा र आदित्यनाथको फोटो प्रयोग गरेका कारण भारतवादीका रूपमा प्रस्तुत हुँदैछ । राजतन्त्रवादी र रुढिवादीहरूप्रति ओलीको कटाक्ष कहींकतै पनि मेल खाँदैन ।

ओली सत्तामा लिङ्देन सडकमा बाझेका छन् । भोलिको चुनावमा के गर्लान् कसैले अनुमान गर्न सकेको छैन । उनीहरूको सम्बन्धले ट्रम्पले मस्क जस्ता व्यक्तिहरूलाई कसरी प्रयोग गर्छन् भनेर प्रतिबिम्बित गर्दछ । यो केवल पहुँच विस्तार र गठबन्धनको विविधीकरण गर्ने स्वार्थका लागि हो तर गहिरो सम्झौताको लागि होइन भन्ने पुष्टि गर्दछ ।

अमेरिका र नेपाल दुवैमा स्थिर वैचारिक शिविरहरूको युग फिक्का हुँदै गइरहेको छ

हिन्दूत्व र राजतन्त्र वरिपरि लिङ्देनको वैचारिक स्पष्टताले ओलीलाई दक्षिणपन्थीहरूको समर्थन प्राप्त भइरहन्छ, जुन ओलीले राष्ट्रवादी टिकट छनोट गरेमा चुनावी रूपमा उपयोगी हुन सक्छ । तैपनि, मस्क र ट्रम्प जस्तै, यो सम्बन्ध पनि लेनदेनको हो ।

ओलीले लिङ्देनलाई कनिष्ठ साझेदारको रूपमा तयार पार्न सक्छन् वा विपक्षी एकतालाई रोक्नको लागि उनलाई नजिक राख्न सक्छन् । यही सम्बन्ध रविका हकमा पनि हुबहु लागू हुन्छ । कुनै बेला ओलीका उप–प्रधानमन्त्रीका सारथि यतिबेला कटाक्ष गर्दै बितेको छ । यो कुरा दुवैका हकमा समान रूपमा लागू हुन्छ ।

विचार विरुद्ध उपयोगवाद

ट्रम्प–मस्क र केपी–प्रचण्ड–देउवा–माधव–राजेन्द्र वा रवि सबै सम्बन्धले विश्वव्यापी राजनीतिक प्रवृत्तिको यो झलक प्रकट गर्दछ कि कसरी उपयोगितावादले विचारलाई परास्त गर्दछ । गठबन्धनहरू तरल हुन्छन्, दर्शनको सट्टा उपयोगितामा आधारित हुन्छन् । नेताहरूले प्रभाव खोज्छन्, सधैं विचार र दर्शन होइन । यो कमजोर पार्टी अनुशासन, परिवर्तनशील जनभावना र नीति भन्दा प्रदर्शनशीलतालाई पुरस्कृत गर्ने सोसल मिडियामा छाएको वातावरणले सक्षम बनाउँछ ।

यसबाहेक, व्यक्ति ब्रान्डिङले बढ्दो रूपमा राजनीतिक पूँजीलाई आकार दिन्छ । मस्कका ट्वीटहरूले बजार र कानूनलाई प्रभाव पार्छन् । यता, आ–आफ्नो पृष्ठभूमि भएकामध्ये पनि प्रचण्डको क्रान्तिकारी विगतले उनलाई विरासतमा महत्व दिन्छ । केपी ओली, ट्रम्प जस्तै, प्रत्यक्ष सञ्चार र प्रतिक्रियात्मक राष्ट्रवादमा फस्टाउँछन्, प्रायः पार्टी प्रक्रियाहरूलाई बाइपास गर्छन् ।

आधुनिक राजनीतिको बारेमा यी सम्बन्धहरूले के परिणाम दिन्छ त्यो महत्वको विषय हो । अमेरिका र नेपाल दुवैमा स्थिर वैचारिक शिविरहरूको युग फिक्का हुँदै गइरहेको छ । यसको सट्टा सत्ता र कुर्सी स्वार्थका कारणले अप्राकृतिक गठबन्धन र निकटता केवल शक्ति बाँडफाँड आजको सच्चा राजनीति हो । जसरी मस्क र ट्रम्पले व्यापार र लोकप्रियताको नयाँ मिश्रणलाई मूर्त रूप दिन कोशिश गरे स्वार्थ बाझिंदा विच्छेदको अवस्थामा पुगे त्यसरी नै नेपालका शीर्ष नेताहरूले गठबन्धन निर्माण र विनिर्माणलाई वैचारिक सम्झौताको रूपमा होइन सत्ता भागबण्डाको राजनीतिक यथार्थको रूपमा व्यक्त गर्छन् ।

जब राजनीतिक सम्बन्धहरू विश्वास भन्दा शक्ति, स्वार्थ र सुविधाद्वारा बढी सञ्चालित हुन्छन्, सार्वजनिक जवाफदेहिता कठिन र आवश्यक दुवै हुन्छन् । यी सम्बन्धहरू माथिको विवेचनाले देशभित्र वा बाहिर आजको राजनैतिक नेतृत्वको अन्तर्निहित तर्कलाई पहिचान गर्न मद्दत गर्न सक्छ । कसले विचार र विश्वासमा हैन, कसले स्वार्थमा साझेदारी गर्छ भन्ने कुरा अहम् प्रश्न हो ।

विचारको अन्त्य भयो भन्ने उत्तर आधुनिकतावादीहरूका लागि यो भरपर्दो केस स्टडी हो । विश्व–राजनीतिमा देखापरेको मौकापरस्तवाद नेपाली भूमिमा झाँगिएको छ । यसबाट पार पाउने उपाय भनेको विचारको विकास, विचारको बहस र विचारकै प्रतिस्पर्धा हो । तर आज त्यही चिजको खडेरी छ । हिप्पोक्रेसी आजको समस्या हो ।

लेखक
खिमलाल देवकोटा

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?