News Summary
Generated by OK AI. Editorially reviewed.- समृद्धि शर्माले काठमाडौंमा ‘कन्टेन्ट क्रियसन’ सुरु गरी युवालाई प्रेरित गर्ने उद्देश्य राखिन्।
- शोभा मोक्तान र सरोज कार्कीले गाउँ र शहरको जीवनशैलीलाई युट्युब र सोशल मिडियामार्फत प्रवर्द्धन गरिरहेका छन्।
- सामाजिक मिडिया र डिजिटल प्लेटफर्मले क्रियटर इकोनोमीलाई तीव्र गतिमा बढाउँदै, नेपालमा पनि यसले नयाँ अवसरहरू सिर्जना गरेको छ।
हातमा ‘स्मार्ट फोन’ । युवापुस्तामा चलिरहेको ‘कन्टेन्ट क्रियसन’को ट्रेन्ड । काठमाडौं बस्ने बर्दियाकी समृद्धि शर्माले ‘कन्टेन्ट’को दुनियाँमा डुबुल्की मार्ने योजना बनाइन् । साथीहरूले पनि योजना कार्यान्वयनमा बल दिए । अनि, सुरु भयो– ‘अ डे इन माइ लाइफ’ ।
दिनभर के गर्छु, कसरी काम सक्छु भनेर आफ्नै दैनिकीको भिडियो बनाउन थालिन्, उनी । घरभन्दा टाढा रहेर समृद्धि स्नातक तह अध्ययन गर्दै गरेकी उनी नेपालमै बसेर ‘पढाइसँगै काम गर्न सकिन्छ । राम्रैसँग आफूलाई चलायमान बनाउन सघाउँछ’ भनेर देखाउँन चाहन्थिन् ।
‘नेपालमै बसेर ब्याचलर्स पढ्दै काम गरिरहेको छु । खासमा आफ्ना यिनै दैनिकी देखाएर आफूजस्तै अरु युवालाई पनि इन्सपायर गर्ने सोच थियो,’ समृद्धि कन्टेन्ट क्रियसन यात्राको सुरुवाती क्षणको अनुभुति सुनाउँछिन्, ‘स्मार्टफोन छँदै थियो । त्यसैले घरदेखि टाढा बसेर, आफ्नो जिन्दगीलाई कसरी म्यानेज गरिरहेको छु भन्ने कुराले सायद अरूलाई हौसला दिन सक्छ भन्ने विश्वासले कन्टेन्ट बनाउन थालेँ ।’
अर्कोतर्फ, उनी शिक्षा क्षेत्रमा पनि काम गरिरहेकी थिइन् । खासगरी भर्खरै प्लस टु सकेर ब्याचलर्स गर्दै गरेका विद्यार्थीहरूसँग विभिन्न इभेन्टमार्फत जोडिएर काम गरिन् । त्यसैले शिक्षासम्बन्धी कन्टेन्टलाई पनि मानकीकृत गरेर कन्टेन्ट बनाउन पाए हुन्थ्यो भन्ने सोच पनि उनमा आयो ।
योसँगै आफ्ना ‘अफलाइनका’ अनुभवहरू अनलाइनमा देखाउन थालिन् । विशेषगरीः इन्स्टाग्राम, टिकटकजस्ता सोसियल मिडिया प्लाटफर्म नै उनका आधार बने । यही क्रममा एउटा स्कुटर कम्पनीले पहिलो ‘ब्राण्ड’सम्बन्धित कामको लागि प्रस्ताव गर्यो । र, १५ सय रुपैयाँ लिएर त्यसमा दिएको भ्वाइसओभर नै पहिलो कमाइ बन्यो ।
त्यसपछि त विस्तारै भिडियो पनि आउन थाले । टिकटक, इन्स्टाग्राममा झन् धेरै रेस्पोन्स पाउन थालिन् । विभिन्न ब्रान्डले कन्टेन्ट मार्केटिङको लागि खोज्न थाल्यो । नेपालमा सर्वाधिक चर्चामा रहेको नेपाल प्रिमियर लिगको पहिलो सिजनमा ‘काठमाडौँ गुर्खाज्’को कन्टेन्ट टिममै रहेर काम गरिन् । यसले झन धेरै ब्रान्डहरूसँग सहकार्यको ढोका खोल्यो ।
‘मेरो आम्दानीचाहिँ भ्यूजबाट होइन, ब्रान्डसँगको सहकार्यबाट धेरै हुन्छ । अब चाहिँ विस्तारै युट्युबमा पनि सुरु गर्ने सोचिरहेकी छु । अहिले धेरै इन्स्टाग्राममा छु । ब्रान्डहरूले कन्टेन्ट मार्केटिङको लागि पनि यसैलाई उपयुक्त ठान्नुहुन्छ,’ समृद्धिले भनिन् ।
भ्युजबाहेक ब्रान्डको भरमा काम गर्दा कमाइ कस्तो हुन्छ ? कन्टेन्ट त्रिएशनमै करिब दुई वर्ष बिताएकी समृद्धि भन्छिन् – सिजन अनुसार फरक पर्छ । उनकाअनुसार नयाँ वर्ष, दशैं, तीजजस्ता मौसमी चाडपर्वको समयमा ‘कर्पोरेट’हरूले अलि धेरै खोज्छन् । डिल बढी हुन्छ । त्यसबेला महिनाको ६०–७० हजार रुपैयाँ आम्दानी हुन्छ । अफ सिजनमा भने ३०–४० हजारजति मात्र हुने उनको अनुभव छ ।
तर, यसरी कन्टेन्ट बनाउने कुरालाई पैसासँग मात्र जोड्न नहुने तर्क समृद्धिको छ । ‘मैले मेरै पुस्ताका साथीहरूलाई हेर्दा, अहिले हरेकलाई ‘एक्सप्रेस’ हुन मनपर्छ । हरेक व्यक्ति केही भन्न चाहन्छ । अनि समाजमा चिनिने भोक पनि छ । यो सबैको कारण अहिले धेरैजना कन्टेन्ट क्रियट गर्न चाहिरहेको देख्छु,’ उनले भनिन् ।
०००
सिन्धुलीको तिलङ्गे गाउँकी शोभा मोक्तान ‘आमा इट्स’मा रमाइरहेकी छन् । यसअघि गाउँको माटो, खेतबारी र घरायसी काममा दैनिकी व्यथित गर्ने उनी आज युटुबमा ‘मुकबाङ’ भिडियो बनाउँदै छन् । २० हजारभन्दा धेरै त ‘सब्सक्राइबर्स’ भइसके । जीवनको उत्तरार्धमा आमदर्शकबाट पाउँदै गएको यो मायाले उनलाई थप जिम्मेवार र भावुक बनाउँछ ।
यो उमेरमा सामाजिक सञ्जालको रंगीन दुनियाँमा कसरी ? उनका अनुसार यो गाउँको सादगी जीवन र सहरको आधुनिकताबीचको सुन्दर संयोजन गर्ने सोचको उपज हो, जसमा उनले गाउँले परिकार बनाउँछिन् र त्यो खाँदै आम दर्शकलाई युट्यूबमार्फत देखाउँछिन् । खानेकुरामा विशेषगरी ढिँडो, गुन्द्रुक, लोकल तरकारीलगायतका गाउँले परिकार हुन्छ । यदि आवश्यक परे शहरीया बर्गरजस्ता खाना पनि थप्छिन् ।
यसरी युट्यूबमा कन्टेन्ट हाल्नुमा उनका छोराछोरीको पनि विशेष साथ छ । आमाको रुचिमा छोराछोरीको प्राविधिक साथ–सहयोग नै ‘आमा इट्स’को ताकत हो ।
दुई छोरा र एक छोरी काठ्माडौंमा पढ्न बस्ने भएकाले उनी पनि काठमाडौं आएकी थिइन् । गाउँले रहनसहनबाट बाहिरिएकी उनी शहरीया ‘संस्कृति’मा रत्तिन थाल्छिन् । अझ सामाजिक संजालको प्रयोगले उनलाई बेग्लै दुनियाँमा प्रवेश गराउँछ ।
त्यही शिलशिलामा बिनिता राई (मुकबाङ कन्टेन्ट क्रियटर) को भिडियो देख्छिन् । आफूले पकाएका खानेकुरा खाएको भिडियो बनाएर हाल्दा पनि राम्रो हुने अनुमान गर्छिन् । र, जेठो छोरा सन्तोष तामाङको सल्लाहमा आफैं भिडियो बनाएर हाल्न थाल्छिन् ।
‘छोराले भिडियो खिचिदिन, एडिट गरिदिन, थम्बनेल बनाउनेसम्मको काम गरिदियो । अनि त मैले आफैँले पकाएको खाना खाएर भिडियो बनाउन थालेँ । अहिले २० हजार जना सब्स्क्राइबर पुगिसक्नुभयो,’ उनले भनिन्, ‘तर, मैले पैसा आउँछ भनेर बनाएको थिइन् । अरुले बनाएको देखेपछि यत्तिकै रहर लागेर बनाउँदा–बनाउँदै आजसम्म गरिरहेको छु ।’
यसरी बनाएको भिडियोबाट शोभाले महिनामा २० हजारभन्दा माथि कमाइ गरिरहेकी छन् । सुरुवातमा थोरै देखिए पनि भविष्यमा यो रकम बढेर जानेमा उनी विश्वस्त छिन् । त्यसैले अब भने गाउँमै फल्ने लोकल खानेकुरा ‘प्रोमोट’ गर्न छिट्टै गाउँ नै फर्किएर कन्टेन्ट क्रियसनमा जोड दिने उनले बताइन् । ‘मलाई गाउँको त्यही अर्गानिक खाना देखाउन मन छ । गाउँमा जे फल्छ, त्यही पकाएर खान्छु । त्यसकै भिडियो हाल्छु । यसको लागि छिट्टै गाउँ फर्कने योजना बनाएको छु,’ उनले सुनाइन् ।
०००
यूट्युब दुनियाँमा समसामयिक विषय पस्किरहन्छन्, सरोज कार्की । ‘प्रोजेक्ट कुरा’ नामको च्यानलमा समाजमा चलिरहेको वा इतिहासका कुराबारे ‘एक्सप्लेनर’ भिडियो बनाउँछन् । विराटनगरबाट पत्रकारिता थालेका यिनले अहिले युट्युबमा जबर्जस्त उपस्थिति जनाएका छन् । त्यसबाटै आठ जनालाई रोजगार दिन पनि सफल भएका छन् ।
सरोजको कन्टेन्ट क्रियसनको यात्रा भने संयोग नै संयोगको मिश्रण हो । पत्रकारिताको पृष्ठभूमिबाट आएका उनको जीवनमा युटुब केवल एउटा मञ्च होइन, ‘प्यासन’ हो । कारण – प्लस टु र ब्याचलरमा पनि उनले पत्रकारिता नै पढे । करिअरको सुरुवात पनि पत्रकारिताबाटै गरे । विराटनगरमा हुँदा पत्रिकामा काम गरे, एफएममा कार्यक्रम चलाए, र पछि आफ्नै अनलाइन मिडिया ‘आवर विराटनगर’ सुरु गरे ।
पत्रकारिताको यो यात्रामा उनले सधैं नयाँ फम्र्याट र माध्यमको खोजी गरे । त्यसकै शिलशिलामा यूट्युबतिर भिडियो बनाएर हाल्न थाले । यद्यपि, यो योजनाबद्ध थिएन । ‘युटुबमा आउनु कम्प्लिटली एक्सिडेन्टल थियो । मेरो मेन्टालिटी यूट्युबबाट पैसा कमाउने थिएन, किनभने मेरो अर्निङको बाटो अरु नै थियो,’ उनले भने ।
सुरुवातमा उनको यूट्युब यात्रा स–साना जिज्ञासाहरूबाट सुरु भयो । स्कूल ब्याग किन भारी छ ? डाक्टरको ह्यान्डराइटिङ किन नराम्रो हुन्छ ? जस्ता सामान्य जनचासोमा भिडियो बनाइरहेका थिए । तर, उनको टर्निङ प्वाइन्ट बन्यो ‘लिटल बुद्ध’को भिडियो । रामबहादुर बम्जन, जसलाई धेरैले लिटल बुद्ध भन्थे, उनीबारे भिडियो बनाएपछि सोचेभन्दा धेरै चर्चा भयो । त्यसपछि यसमा गम्भीर भएर लाग्दा राम्रै हुने विश्वास उनमा जाग्यो ।
र, धुर्मुस–सुन्तलीसम्बन्धित भिडियो रिसर्च गरेरै भिडियो बनाए । भिडियो बनाउने क्रममा धुर्मुसले उनको टिमलाई रेस्पोन्स गरेनन् । ‘हामीले वाट्सएपमा म्यासेज गयौं, फोन गयौं,उहाँले ‘म यो विषयमा बोल्दिनँ, जे भेट्नुहुन्छ, हाल्नुस्’ भन्ने आशयको प्रतिक्रिया दिनुभयो,’ सरोज सम्झिन्छन् । यो जवाफले उनलाई निराश बनायो, तर काम छोडेनन् । आफैंले रिसर्च गरेर भिडियो बाहिर ल्याए । त्यसपछि झन् नसोचेको रेस्पोन्स आयो । सुरुमा पन्छिएका धुर्मुस् स्वयं सम्पर्कमा आए ।
यसरी भिडियो बनाउँदै जाँदा च्यानल मोनेटाइज भयो । पहिलोपटकमा राम्रै आम्दानी भएको उनी सम्झन्छन् । यसले झन उत्साहित बनायो । उनको ध्यान पैसामा भन्दा कन्टेन्टको क्वालिटीमा थियो । यो भिडियोले उनलाई एउटा महत्वपूर्ण पाठ पनि सिकायो – रिसर्चमा आधारित कन्टेन्ट खुब रुचाइने रहेछ । यसपछि उनले आफूलाई पूर्णरुपमा ‘युटुब कन्टेन्ट क्रियसन’मा सक्रिय गराए ।
०००
आज अधिकांश व्यक्ति कन्टेन्ट क्रियसनमा आउन चाहिरहेका छन् । यूट्युबको २०२४ को वार्षिक ट्रेन्ड रिपोर्टअनुसार करिब ६५ प्रतिशत जेनजी पुस्ताले अनलाइनमा समय बिताउँदा आफूलाई भिडियो कन्टेन्ट बनाउने व्यक्ति भनेर चिनाएका छन् । विश्वव्यापी रुपमा देखिएको यो लहरले धेरैथोर नेपाललाई पनि छोएको छ, जुन सामाजिक संजालको भित्तामा स्पष्ट झल्कन्छ ।
यो क्षेत्रको वृद्धिलाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि हेर्छन्, प्रोजेक्ट कुराका सरोज । उनकाअनुसार कन्टेन्ट क्रियसन सजिलो छ । किनभने, पछिल्लो समय मोबाइल र इन्टरनेट सबैसँग छ । त्यसमाथि यो क्षेत्र ग्ल्यामरस पनि छ । भिडियो कन्टेन्टमा काम गर्दा मान्छेले चिन्छन्, बोलाउँछन् । गर्नसक्दा पैसा पनि आउँछ । त्यसैले हरकोही कन्टेन्ट क्रियसनप्रति आकर्षित भइरहेको विश्लेषण उनको छ ।
यसबाहेक ‘ट्राभल भ्लग’मा पनि युवापुस्ता अत्यधिक रुची देखिन्छ । घुमफिर पनि गर्ने र कन्टेन्ट बनाएर आम्दानी पनि गर्नेको संख्या पनि धेरै छ । यही भएर सरकारी निकायले पनि पर्यटन प्रवर्द्धनमा यस्ता कन्टेन्ट क्रिएटर परिचालन गर्ने घोषणासमेत गरेका छन् ।
आइतबार सार्वजनिक भएको बागमती प्रदेशको बजेटमा यसबारे उल्लेख छ । युवा कन्टेन्ट क्रिएटरलाई पनि बागमतीको बजेटले छोएको देखिन्छ । बागमती सरकारले डिजिटल पर्यटन प्रबर्द्धनका लागि चर्चित कन्टेन्ट क्रिएटर र भ्लगरहरूलाई परिचालन गर्ने योजना ल्याएको छ । बागमती पर्यटन डिजिटल अभियानमार्फत स्वदेश र विदेशमा रहेका डिजिटल क्रिएटरमार्फत पर्यटकीय गन्तव्य प्रचार गरिने बजेटमा उल्लेख छ ।
नेपाल पर्यटन बोर्डले पनि पर्यटन प्रबर्द्धनको लागि युवा पुस्तासँग सहकार्य गर्ने योजना बनाएको छ । ‘कनेक्टिङ कन्टेन्ट क्रिएटर विथ प्याकेज क्युरेटर’ कार्यक्रमअन्तरगत पर्यटन प्रवद्र्धनमा जोड दिने योजना पर्यटन बोर्डले बनाएको हो ।
बोर्डका सीईओ दीपकराज जोशीले भनेका भनेका छन्, ‘देशभरका सातै प्रदेशमा कन्टेन्ट क्रियटरहरूको रूपमा लागिरहनुभएका युवा पुस्ताले खोजी गरेका दूरदरजका वैभवता र विशेषताहरूलाई प्रचार र प्रबर्द्धन गरिरहनुभएको छ । उहाँहरूलाई पर्यटकीय उपज उत्पादकसँग जोड्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’
यसले पनि पछिल्लो समय सरकारीदेखि हरेक निजी क्षेत्रले बजारीकरणको लागि पनि ‘कन्टेन्ट मार्केटिङ’लाई प्राथमिकतामा राखेको देखिन्छ ।
हुन पनि ‘कन्टेन्ट क्रियसन’लाई नेपाल मात्र नभएर विश्वभर भविष्य बोकेको क्षेत्रको रूपमा हेरिन्छ । १३ डिसेम्बर २०२३ मा फोब्र्स म्यागेजिनमा ‘फोब्र्स बिजनेस काउन्सिल’ले उल्लेख गरेअनुसार भने क्रियटर इकोनोमी अझै पनि प्रारम्भिक चरणमा छ । तर, यसको वृद्धि द्रुत गतिमा बढिरहेको देखिन्छ ।
सन् २०२१ ताका १०४ बिलियन डलर रहेको क्रियटर इकोनोमी सन् २०२७ सालसम्म पुग्दा करिब आधा ट्रिलियन नाघ्ने देखिन्छ । ‘गोल्डम्यान स्याक्स’ले पनि पहिले गम्भीरतापूर्वक नलिइएको क्रियटर इकोनोमी सन् २०२७ सम्ममा ५०० बिलियन डलर बराबरको हुने बताएको छ ।

यो वृद्धि सामाजिक मिडियाको बढ्दो लोकप्रियता, नयाँ ‘मोनिटाइज’ हुने प्टलेफर्मको उदय, उपभोक्ताबाट राम्रा कन्टेन्टको माग बढिरहेकाले सम्भव रहेको फोब्र्सले जनाएको छ ।
यसरी पछिल्लो समय हरेक मान्छे किन कन्टेन्ट बनाउन चाहन्छ ? कोही किन कन्टेन्ट क्रियसनमा आकर्षित छ ?
समाजशास्त्री सञ्जीव उप्रेती भन्छन् – ‘पहिले कन्टेन्ट बनाउन विशेष दक्षता र पहुँच चाहिन्थ्यो । पत्रकारले समाचार लेख्थे, लेखकले उपन्यास र कविता रच्थे, फिल्ममेकरले चलचित्र बनाउँथे । कन्टेन्ट बनाउन मिडिया हाउस वा पब्लिसरको सहारा लिनुपर्थ्यो । किताब छाप्न, कविता पत्रिकामा प्रकाशित गर्न ठूलो मेहनत र सम्पर्क चाहिन्थ्यो । तर, अहिले युटुब, टिकटकजस्ता प्लेटफर्मले यो बाधा हटाइदिएको छ । अब हरेक व्यक्तिसँग मोबाइल र इन्टरनेट छ भने, उसले आफ्नो कथा, कविता वा विचार सजिलै विश्वसामु राख्न सक्छ ।’
त्यसमाथि आफूलाई अभिव्यक्त गर्ने मावन स्वभाव नै हो । प्राचीनकालमा गुफामा चित्र कोरेर होस् वा आज युटुबमा भिडियो बनाएर, हरेक व्यक्ति आफूलाई अभिव्यक्त गर्न चाहिरहेको हुन्छ । पछिल्लो समय प्रविधिको विकासले यसलाई सहज बनाइदिएको छ ।
समाजशास्त्री उप्रेती थप्छन्, ‘यी प्लेटफर्महरूले हरेक व्यक्तिलाई सर्जक बन्ने अवसर त दिएको छ तर, सबैले कन्टेन्ट राम्रो वा उपयोगी हुन्छन् भन्ने हुँदैन । कुन कन्टेन्ट सही छ, कुन गलत भन्ने छुट्याउन गाह्रो पनि भइरहेको छ । कन्टेन्ट क्रियसनको यो ट्रेण्डलाई हेर्दा यो पक्षलाई नजरअन्दाज गर्न मिल्दैन ।’
अहिले कन्टेन्ट बनाउन सहज वातावरण भए पनि क्रिएटरले अत्यधिक मेहनत गर्न आवश्यक रहेको उप्रेतीले बताए । पहिले कन्टेन्ट बनाउन गहिरो अध्ययन र रिसर्च चाहिन्थ्यो । उपन्यास लेख्न किताब पढ्नुपर्थ्यो, अरु लेखकका कृति अध्ययन गर्नुपर्थ्यो । तर, अहिले प्रविधिले मान्छेलाई अभिव्यक्त गर्न सहज बनाए पनि राम्रो कन्टेन्ट बनाउन मेहनत कम भएको उनको विश्लेषण छ ।
प्रतिक्रिया 4