+
नेपाली महिला फुटबल :

१०० अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा नजिक नेपाली महिला फुटबल

२०८२ असार  ५ गते १३:१२ २०८२ असार ५ गते १३:१२

सन् १९८६ मा एसियन कपबाट अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालले त्यसयता ९९ खेल खेलिसकेको छ ।

१०० अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा नजिक नेपाली महिला फुटबल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबलले चार दशकमा ९९ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ।
  • नेपालले एसियन कप र सागमा उपविजेता रहदै अझै कुनै उपाधि जित्न सकेको छैन।
  • अहिले नेपाली महिला टोली १००औं अन्तर्राष्ट्रिय खेलको नजिक पुगेको छ।

५ असार, काठमाडौं । नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय सहभागिताको इतिहासले चार दशक छोइसकेको छ । यो अवधिमा नेपालले साफ च्याम्पियनसिप देखि एसियन कपसम्म खेलिसकेको छ भने ओलम्पिक छनोट पनि खेलेको छ । यस्तै विभिन्न मैत्रीपूर्ण खेल पनि खेलेको छ ।

नेपाली महिला फुटबलरले युरोपको व्यवसायिक फुटबल समेत खेलेर कीर्तिमान बनाइसकेका छन् । तर महिला फुटबलले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि भने जित्न सकेको छैन, यो भने तितो सत्यको रुपमा रहेको छ ।

फेरि एक पटक महिला फुटबल अन्तर्राष्ट्रिय खेल खेल्न जाँदैछ र यस पटक अर्को विषयले चर्चामा छ । नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा छिट्टै १०० खेल पूरा गर्दैछ ।

सन् १९८६ डिसेम्बर १४ मा नेपाली महिला फुटबल टोलीले हङकङविरुद्ध ऐतिहासिक खेल खेलेको थियो ।

नेपाली महिला फुटबल टिम अहिले त्यही कोसेढुंगाको नजिक पुगेको छ । नेपाली महिला फुटबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा ९९ खेल खेलिसकेको छ ।

सन् १९८६ मा महिला एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको महिला टोलीका लागि केही समयअघि भएको थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल ९९औं खेल थियो ।

एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेल नेपाली महिला टिमको १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले लाओससँग पहिलो खेल यही जुन २९ मा उज्वेकिस्तानमा खेल्नेछ । छनोटमा नेपाल र लाओससँगै आयोजक उज्वेकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

सन् १९८० अर्थात विसं २०३५ सालतिर नेपालमा पहिलो पटक महिला फुटबल टिम बनाइएको थियो । त्यसको ६ वर्षपछि अर्थात सन् १९८६ मा नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको हो ।

सन् १९८६ डिसेम्बर १४ मा नेपालले हङकङ विरुद्ध ऐतिहासिक खेल खेलेको थियो । रमा सिंहको कप्तानीमा खेलेको नेपाल उक्त खेलमा १-० ले पराजित भएको थियो ।

चार दशक, ९९ खेल

सन् १९८६ को महिला एसियन कपबाट नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको थियो । त्यसको चार दशकपछि नेपाली महिला टोली कोशेढुंगा नजिक पुगेको हो ।

महिला फुटबल टोलीले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि भने जित्न सकेको छैन । अहिलेसम्म १२ फाइनल खेल्दा सबैमा उपविजेता नै बनेको छ ।

अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेपनि नेपाली महिला टोलीले अब एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दैछ र नेपाली फुटबलमा एक नयाँ कोशेढुंगा बनाउनेछ ।

सन् ८० र ९० को दशकमा नेपाली महिला टोलीले सिधै एसियन कप खेलेको थियो । नेपालले खेलेको पहिलो ठूलो प्रतियोगिता नै महिला एसियन कप थियो । तर सन् २००० देखि एक दशकको बीचमा भने नेपाली महिला फुटबल सुस्तायो । यो बीचमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबल खेल खेलेन ।

सन् २०१० देखि भने नेपाली महिला फुटबल फेरि जुर्मुरायो । त्यसै वर्ष साफ च्याम्पियनसिप सुरु भयो भने सागमा पनि महिला फुटबलले खेल्न थाल्यो । नेपालले अहिलेसम्म ७ पटक साफ च्याम्पियनसिप खेलिसकेको छ । यस्तै ३ पटक साग खेलेको छ ।

नेपाली महिला टोलीले साफ च्याम्पियन्सिप, दक्षिण एसियाली खेलकुद (साग), ओलम्पिक छनोट, एसियन कप, एसियन गेम्स, हिरो गोल्डकप, नादेज्दा कप, वाफ च्याम्पियनसिप र विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू खेलेको छ ।

यस्तो छ ९९ खेलको तथ्यांक

नेपाली महिला फुटबल टिमले अहिलेसम्म ९९ अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसमा करिब आधा खेलमा नेपाल विजयी भएको छ । नेपालले ४६ खेल जित्दा १६ खेलमा बराबरी नतिजा निकालेको छ भने ३७ खेलमा पराजित भएको छ ।

यस्तै यो अवधिमा नेपालले तीन पटक एसियन कप पनि खेलेको छ । सन् १९८६ मा पहिलो पटक एसियन कप खेलेको नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन गेम खेलेको थियो । सन् २०१० यता भने नेपाली महिला फुटबलल धेरै खेल खेल्यो, विभिन्न प्रतियोगितामा पनि खेल्यो । तर उपाधि भने अझै जित्न सकेको छैन ।

नेपाली महिला टोली साफमा ६ पटक उपविजेता (२०१०, २०१२, २०१४, २०१९, २०२२, २०२४) बनेको छ । सुरुमा चार फाइनलमा भारतसँग पराजित भएको नेपाल पछिल्लो दुई फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

सन् २०१६ मा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । यस्तै तीन पटक दक्षिण एसियाली खेलकुद (साग)मा मा उपविजेता बन्दै रजत जितेको थियो । सन् २०१०, २०१६ र २०१९ को सागमा नेपाल उपविजेता बनेको थियो । तीनै पटक भारतसँग पराजित भएको थियो ।

यस्तै सन् २०१८ को हिरो गोल्डकप, सन् २०१९ को नादेज्दा गोल्डकप र सन् २०२४ को वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । हिरो गोल्डकपमा म्यानमार, नादेज्दामा उज्वेकिस्तान र वाफमा जोर्डनसँग फाइनलमा पराजित भएको थियो ।

नेपाली महिला टोलीले सन् २०२३ मा चीनमा भएको १९औं एसियन गेम्समा समेत प्रतिस्पर्धा गरेको थियो । यस बाहेक नेपालले ओलम्पिक महिला फुटबल छनोट प्रतियोगिताहरू समेत खेलेको छ ।

नेपालले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो टिम जापान हो । त्यसबाहेक भियतनाम, थाइल्याण्ड, उज्वेकिस्तान, म्यानमार, फिलिपिन्स, हङकङ, इन्डोनेसिया, जोर्डन, भारत जस्ता आफूभन्दा माथिको वरियताको बलियो टिमसँग पनि खेलेको छ ।

पहिलो गोल गर्ने पेमा

नेपालले सन् १९८६ मा अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेपनि पहिलो गोल गर्न भने १३ वर्ष कुर्नुपरेको थियो ।

सन् १९९९ फिलपिन्समा भएको महिला एसियन गेम्समा नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गरेको हो । गोल गर्ने खेलाडी थिइन् पेमा डोल्मा लामा ।

उनले उज्वेकिस्तानविरुद्ध गोल गरेकी थिइन् । त्यसयता नेपालले एसियन कप खेल्न सकेको छैन । २६ वर्षपछि पेरि एसियन कपमा छनोट हुने लक्ष्य राखेको नेपाल संयोगवश उज्वेकिस्तानमै गएर खेल्दैछ ।

समूह विजेता मात्र एसियन कपमा छनोट हुने भएकोले नेपालले एसियन कप खेल्न उज्वेकिस्तानलाई पछि पार्नुपर्नेछ ।

सर्वाधिक गोलकर्ता साम्बा

नेपाली फुटबलमा पुरुषको तुलनामा महिला खेलाडीले धेरै गोल गरेका छन् । अझ महिलामा त सावित्रा भण्डारी साम्बाले ५० गोलको कोशेढुंगा समेत पूरा गरिसकिन् । पुरुषमा भर्खर १३ गोलको कीर्तिमानमै अल्झँदा सम्बाले ५७ गोल गरिसकेकी छन् । सन् २०१४ मा डेब्यु गरेकी साम्बाले ११ वर्ष भित्र ५८ खेल खेल्दै ५७ गोल गरेकी हुन् ।

सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा उनले भुटानविरुद्ध डेब्यु खेल खेलेकी थिइन् । वैकल्पिक खेलाडीको रुपमा डेब्यु गर्दा नै उनले गोल गरेकी हुन् ।

साम्बा हाल युरोपमा खेलिरहेकी छन् । उनी गोल गर्न माहिर छन् र गोल मेसिनको नामले समेत चिनिन्छन् । सावित्रालाई दक्षिण एसिया मात्र नभएर एसियाकै उत्कृष्ट स्ट्राइकरको रुपमा हेरिन्छ ।

सावित्रा नेपाली फुटबलकै फरक क्षमता भएको खेलाडी भएको फुटबल विश्लेषकहरूको भनाई छ । विदेशी प्रशिक्षकहरूले समेत साम्बाको तारिफ र प्रशंसा गर्दै आएका छन् ।

साम्बाको कीर्तिमानलाई भेट्न अब आउने पुस्तालाई कठिन देखिन्छ । साम्बाले पूर्वकप्तानहरू जमुना गुरुङ र अनु लामालाई ओभरटेक गर्दै सर्वाधिक गोलकर्ता बनेकी हुन् । साम्बापछि यी दुई खेलाडीलाई अन्य खेलाडीले जित्न सकेका छैनन् ।

साम्बाले सन् २०१९ मा १३औं सागमा अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् । त्यसअघि उनले २५ गोल गरेकी जमुनालाई पछि पारेकी थिइन् ।

साम्बा चोटका कारण बीचमा करिब डेढ वर्ष मैदान बाहिर थिइन् । तर उनले पुनरागमान गर्दै आफूलाई फेरि प्रमाणित गर्दै गोल गर्न थालिन् ।

यस्तै नेपालका लागि लामो समय कप्तानी गर्ने खेलाडीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा पर्छिन् । उनी नेपाली महिला फुटबलको १०औं कप्तान हुन् र सन् २०१९ देखि नेपालको लागि कप्तानी सम्हालिरहेकी छन् । उनले ५० खेलको आँकडा समेत पूरा गरिसकेकी छन् ।

नेपाली महिला फुटबल टोलीको पहिलो कप्तान रमा सिंह हुन् । उनले सन् १९८६ मा पहिलो पटक एसियन कप खेल्दा नेपालको कप्तानी गरेकी थिइन् ।

यस्तै त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना, रेनुका नगरकोटे र निरू थापाले नेपालको कप्तानी गरिसकेका छन् र हाल एन्जिलाले आर्मब्याण्ड लगाइरहेकी छन् ।

नेपाली महिला फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय