+
+
Shares

अमेरिकी ठगेर भित्र्याइएको ५५ करोड जिल्ला अदालतबाट ‘शुद्धीकरण’

अमेरिकामा श्रृङखलावद्ध ठगी गरी विभिन्न कम्पनीमा रकम भित्र्याएको आरोपमा अछामका पृथ्वीबहादुर शाह लगायतविरुद्ध ठगी मुद्दा चल्यो । न्यायाधीश खिमानन्द भुसालको इजलासले भन्यो, ‘ठगीबाट आर्जन गरेको नदेखिँदा आरोपबाट सफाइ पाउने ।’

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ असार ५ गते २२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५५ करोडभन्दा बढी रकम नेपाल भित्र्याएका शाहलाई जिल्ला अदालत काठमाडौंले ‘कसुर ठहर हुन नसक्ने’ भन्दै सफाइ दिएको छ।
  • जिल्ला न्यायाधीश भुसालले ‘पीडितहरू उपस्थित नदेखिएको’ भन्ने मुख्य आधारमा आरोपितहरूलाई सफाइ दिएका हुन्।
  • ठगी आरोपबाट सफाइ पाएका शाहलाई जिल्ला अदालतले लिखत किर्तेको अभियोगमा भने दोषी ठहर गरेको छ।

५ भदौ, काठमाडौं । अमेरिकामा श्रृंखलावद्ध ठगी गरी ५५ करोडभन्दा बढी रकम नेपाल भित्र्याएका अछामका पृथ्वीबहादुर शाहलाई जिल्ला अदालत काठमाडौंले ‘कसुर ठहर हुन नसक्ने’ भन्दै सफाइ दिएको खुलेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले शाह लगायत २० जना आरोपितलाई सफाइ दिएको हो । गत फागुनको पहिलो साता उक्त मुद्दाको फैसला भएको थियो ।

ठगी आरोपबाट सफाइ पाएका शाहलाई जिल्ला अदालतले लिखत किर्तेको अभियोगमा भने दोषी ठहर गरेको छ । २२ पुस, २०७९ मा पक्राउ परेका उनी किर्तेको आरोपमा साढे दुई वर्ष कैद भुक्तान गरेपछि आगामी २१ असारमा छुट्दैछन् ।

नेपालको अन्तर्राष्ट्रिय छविमाथि नै प्रश्न उठ्ने खालको आपराधिक गतिविधिबाट आर्जित रकम नेपाल ल्याएको घटनामा अछामका शाह जोडिएका छन् ।

एक अमेरिकी पीडितले सर्वोच्च अदालतमै कानुनी उपचारको प्रक्रिया थालेका थिए । जिल्ला न्यायाधीश भुसालले ‘पीडितहरू उपस्थित नदेखिएको’ भन्ने मुख्य आधारमा आरोपितहरूलाई सफाइ दिएका हुन् ।

नक्कली नोटिफिकेसन आएपछि…

अमेरिकाको नर्थ क्यारोलिना बस्ने स्टेफेन फार्मरका बाबु जेम्स फार्मरले खारेज भइसकेको एक कम्पनीबाट ४८१ डलर पाउनुपर्ने थियो । रकम फिर्ताका लागि सहजीकरण गरिदिने भन्दै जेम्स मोर्गान भन्ने व्यक्तिले स्टेफेनलाई सम्पर्क गरे । स्टेफेनको खातामा ४ लाख ८१ हजार डलर जम्मा भएको ‘नक्कली नोटिफिकेसन’ गयो ।

४८१ डलर आउनुपर्नेमा ४ लाख ८१ हजार डलर डिपोजिट भएको नोटिफिकेसन आएपछि स्टेफेनले एजेन्टको काम गर्ने जेम्स मोर्गानलाई सम्पर्क गरे । जेम्स मोर्गानले झुक्किएर डिपोजिट भएको भन्दै त्यो रकम फिर्ता गरिदिन आग्रह गरे ।

र, खाताबाट तानिएकोमध्ये ३ लाख ५० हजार डलर एजेन्टको योजनाअनुसार ६ जेठ २०७८ मा नेपालस्थित टाइम्स टुडे पिस होलिडे इन्भायोरमेन्ट प्रालिको खातामा जम्मा गरे । त्यो कम्पनीका सञ्चालक थिए, अछामका पृथ्वीबहादुर शाह ।

अस्वाभाविक रूपमा रकम भुक्तानी भएपछि बैंकले स्टेफेन फार्मरलाई सम्पर्क गर्‍यो । कुराकानी हुँदा उनले आफ्नो खातामा ४ लाख ८१ हजार डलर जम्मा नभएको र नक्कली नोटिफिकेसन पठाएर आफूलाई झुक्याएको थाहा पाए । तत्काल उनले कारोबार रद्द गरिदिन अनुरोध गरे, तर त्यतिञ्जेल ढिला भइसकेको थियो ।

पृथ्वीबहादुर शाहको समूह संलग्न भएका विभिन्न कम्पनीहरूमा अमेरिकाबाट करिब ४० करोड रुपैयाँ नेपाल भित्र्याएको खुल्यो । अमेरिकाबाट ट्रान्सफर भएकोमध्ये केही रकम खातामा बाँकी थियो भने अरू रकम झिकिएको भेटियो ।

उनी बैंकको नियमित सम्पर्कमा थिए । लगत्तै अमेरिकाको उक्त बैंकले सरकारी संयन्त्रहरूमार्फत कुमारी बैंकमा सन्देश पठाएर रकम भुक्तानी रोक्न आग्रह गर्‍यो । दरबारमार्गको टाइम्स टुडे पिस होलिडे इन्भायोरमेन्ट प्रालिको खातामा जम्मा भइसकेको रकम राष्ट्र बैंकको आदेशबाट रोक्का भएको थियो ।

वित्तिय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले उक्त रकम भुक्तानी रोक्न नेपाललाई पत्राचार गर्‍यो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले घटनामाथि छानबिन थाल्यो ।

पृथ्वीबहादुर शाहको समूह संलग्न भएका विभिन्न कम्पनीहरूमा अमेरिकाबाट करिब ४० करोड रुपैयाँ नेपाल भित्र्याएको खुल्यो । अमेरिकाबाट ट्रान्सफर भएकोमध्ये केही रकम खातामा बाँकी थियो भने अरू रकम झिकिएको भेटियो । राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू)ले रकम रोक्का गरिदियो ।

पृथ्वीबहादुर शाहले नेपाल आउने पर्यटकसँग अमेरिकामा नै संकलन गरेको रकम नेपाल पठाइएको दाबी गरे । नेपाल भ्रमणमा आउने अमेरिकी पर्यटकहरूले यातायातदेखि अरु खर्च, स्वास्थ्य उपचार बीमा लगायतको रकम समेत उतै भुक्तानी गर्ने शाहको दाबी थियो । उनले त्यहाँको कम्पनीबाट उक्त रकम आफू र यहाँको कम्पनीको नाममा नेपाल भित्रिने गरेको जिकिर गरेका थिए ।

त्यही सिलसिलामा अमेरिकी नागरिक स्टेफेन फार्मरले आफ्नो रकम झुक्याएर ‘ट्रान्सफर’ गरिएको र त्यो गैरकानुनी रूपमा नेपाल ल्याइएको भन्दै नेपालका विभिन्न निकायमा उजुरी दिएका थिए । उनले त्यो रकम तत्काल आफूले फिर्ता पाउनुपर्ने भनी सर्वोच्च अदालतमा समेत निवेदन दिएका छन् ।

अनुसन्धान हुँदा पृथ्वीबहादुर शाहको समूहले नेपाल भित्र्याएको रकम तत्काल खाताबाट झिकेको हुन्थ्यो । रकम भित्र्याउन मात्रै उनीहरूको समूहले ट्राभलसम्बन्धी करिब एक दर्जनभन्दा बढी कम्पनी खडा गरेको खुल्यो ।

शाहले कतै अमेरिकामा पर्यटकबाट संकलित रकम नेपाल पठाइएको जिकिर गरेका थिए भने कतै नेपालका लागि भित्र्याइएको व्यापारिक लगानी भनेका थियो । अधिकांश कारोबारमा अमेरिकाको फिनसेनले प्रश्न उठाएको थियो । उसले ठगी, राजस्व छली लगायतका क्रियाकलापबाट आर्जित रकम नेपाल भित्र्याइएकाले रोक्का राख्न र फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

उक्त कारोबारमा अछामका पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाह, उनीहरूको कम्पनीमा काम गर्ने भनी खुलाइएका लक्ष्मण रेग्मी लगायतको नाम छ ।

त्यतिबेला नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू)ले ‘अति गोप्य अन्तर्राष्ट्रिय सूचना सञ्जालमार्फत प्राप्त जानकारी’ भन्दै अनुसन्धान गर्दा ‘एउटै समूहसँग आवद्ध केही व्यक्ति/संस्था यस्तो कारोबारमा संलग्न देखिँदै आएको’ निष्कर्ष निकालेको थियो ।

वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन पेस गरेका अमेरिकी नागरिक स्टेफन फार्मरले आफ्नो रकम फिर्ताका लागि राष्ट्र बैंकबाट कुनै सहयोग नभएको बरु उल्टै आफूलाई ठग्ने समूहले रकम फिर्ता पाउन प्रयासरत रहेको’ भन्दै लिखित असन्तुष्टि जनाएका थिए ।

खातामा आउनासाथ ट्रान्सफर

त्यतिबेला यो घटनाको अनुसन्धान गरेका राष्ट्र बैंकका एक अनुसन्धान अधिकृतका अनुसार, अमेरिकाबाट ल्याइएको त्यो रकम भारत भित्र्याउने क्रममा पृथ्वीबहादुरको समूह प्रयोग भएको थियो ।

कारोबारहरू यसै पनि शंकास्पद थिए, त्यसमाथि अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले भुक्तानी रोक्न पत्राचार गरेपछि राष्ट्र बैंक संवेदनशील हुनु स्वाभाविकै थियो ।

आरोपपत्रमा टिकट र ट्राभल बापतको रकम भारतीय नागरिक अर्सद खानबाट प्राप्त हुनुपर्ने भन्ने विवरण खुलाइएको छ । नेपाली मुलका अष्ट्रेलियन नागरिक मनमोहन सिंह र सिंगापुर बस्ने भारतीय नागरिक आकाश झाको सहजीकरणका लागि उक्त रकम हन्टिङ रिजर्भ अफ नेपाल प्रालिको व्यावसायिक प्रयोजनमा प्रयोग भएको उल्लेख छ ।

१४ वटा कम्पनी र ८ जना व्यक्तिको नाममा अमेरिकाबाट रकम ट्रान्सफर भएको सूचनाका आधारमा अनुसन्धान अघि बढेको हो । पृथ्वीबहादुर शाह त्यसअघि पनि भारतीय नोटको कारोबार विवादमा पक्राउ परेर छुटेका थिए ।

पृथ्वीबहादुर र उनले स्थापना गरेका कम्पनीहरूमा विदेशबाट रकम आउनासाथ तत्काल विभिन्न कम्पनी र व्यक्तिका नाममा भुक्तानी हुन्थ्यो । उनले सञ्चालक रहेको वर्ल्ड एक वर्क कन्सल्टेन्स प्रालिको नाममा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ५७ लाख ४८ हजार रुपैयाँ आयो ।

पर्यटकको शुल्क भनेर आएको त्यो रकम पृथ्वीका भाइ विजयविक्रम शाहका नाममा भुक्तानी भयो । भोलिपल्ट थप १ करोड १५ लाख रुपैयाँ भित्रियो । त्यो रकम तत्काल पृथ्वीबहादुर संलग्न अर्को कम्पनी, उनका भाइ, रुकमाङ्गद काफ्ले र देवेन्द्र ढुंगानाका नाममा भुक्तानी भएको थियो ।

वर्ल्ड ट्राभल्स एन्ड इन्भेष्टमेन्ट प्रालिको सिद्धार्थ बैंकको खातामा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ६९ लाख ५० हजार ६२२ रुपैयाँ जम्मा भयो । लगत्तै त्यो रकम गहना पसल र अरु विभिन्न व्यक्तिका नाममा बाँडियो । वर्ल्ड फर्स्ट होलिडे र वर्ल्ड फर्स्ट जब प्लेसमेन्ट प्रालिको खाताबाट पनि त्यसैगरी शंकास्पद कारोबार भएको थियो, जसलाई राष्ट्र बैंकको एफआईयूले ट्र्याकिङ गरेको थियो ।

कारोबारहरू यसै पनि शंकास्पद थिए, त्यसमाथि अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले भुक्तानी रोक्न पत्राचार गरेपछि राष्ट्र बैंक संवेदनशील हुनु स्वाभाविकै थियो ।

राष्ट्र बैंकको अनुसन्धानअनुसार, अमेरिकाका ट्राभल कम्पनीहरूले संकलन गरेको रकम नेपाल पठाएको दाबी गरे पनि त्यो यथार्थ थिएन किनभने कैयौं खातामा व्यक्तिगत रूपमा रकम आएका थिए । अर्कोतर्फ, जसको खाताबाट रकम भुक्तानी भएको भनिएको थियो, उनीहरूले पछि आफू ठगिएको, छलछाम भएको र झुक्याएर खाताबाट रकम झिकिएको भनी उजुरी गरेका छन् ।

स्टेफन फार्मर आफ्नो वारेसमार्फत सुरु गरेको कानुनी प्रक्रियाले उक्त रकम ठगीबाट आर्जित हो भन्ने थप पुष्टि हुने जिकिरसहित प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २३ फागुन, २०७९ मा अदालतमा पेस गरेको आरोपपत्रमा पीडितहरू ठगिएको रकम र आरोपितहरूको खातामा आएको रकमको विवरण फरकफरक छ ।

प्रहरीले पृथ्वीबहादुर र उनको समूहको खाता एवं कम्पनीहरूमा ४५ लाख ४६ लाख अमेरिकी डलर आएको दाबी गरेको थियो । त्यस क्रममा २२ हजार पाउन्ड र ३ लाख ४० हजार क्यानेडियन डलर पनि भित्रिएको प्रहरीको अभियोग छ ।

पीडितहरूको विवरण केलाउँदा ४२ लाख ४४ हजार अमेरिकी डलर ठगिएको अर्को विवरण उल्लेख छ । सानो र खुद्रे रूपमा अनलाइनबाट ठगिएकाहरूको विवरण उजुरीमा समावेश छैन । यो रकम मुद्दा दायर हुने दिनको विनिमय दरअनुसार करिब ५५ करोड रुपैयाँ हो । त्यसरी हेर्दा अमेरिका र नेपालमा उजुरी नदिएका अरु कैयौं पीडितहरू पनि ठगिएको हुनसक्ने आकलन गर्न सकिन्छ ।

अदालतले भन्यो- पुष्टि भएन…

न्यायाधीश खिमानन्द भुसालले पृथ्वीबहादुर शाह र उनको खाताबाट रकम ट्रान्सफर भएका आरोपितहरू सबैलाई ठगीको आरोपबाट सफाइ दिए । सफाइ दिने आधार हेर्दा उनले पीडित र उजुरीकर्ताले लेखाएको विवरणको विश्लेषणलाई महत्व दिएको देखिँदैन ।

बरु पृथ्वीबहादुर लगायतले अदालतमा जे बयान गरे, त्यसलाई विश्वास गरेर उनीहरूलाई निर्दोष ठहर गरेको देखिन्छ । जिल्ला अदालतले वैधानिक मार्गबाट नै रकम प्राप्त गरेको भन्दै त्यसलाई सफाइ दिने आधार बनाएको हो । पूर्णपाठमा भनिएको छ, ‘आरोपितहरूको खातामा कसैले रकम जम्मा गरिदिएको र (यहाँ) झिकेको भन्ने कुरालाई ठगी गरेको भन्न मिल्ने नदेखिने ।’

वित्तीय अपराध अनुसन्धान गर्ने अमेरिकाको सरकारी निकाय फिन्सेनले नेपाल राष्ट्र बैंकलाई नै पठाएको पत्र र अरु विवरणलाई जिल्ला अदालतले ग्रहण गरेको देखिँदैन ।

त्यतिबेला प्रहरीले अछाम जयगढीका पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम लगायतविरुद्ध मुद्दा चलाएको थियो । उनीहरूको खातामा आएको रकम अछामकै देवेन्द्र ढुंगाना, टीकापुरका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दास लगायतको खातामा पुगेको प्रहरीको दाबी थियो ।

आरोपितहरू सबैले पृथ्वीबहादुरको नाम लिँदै उनलाई नै घटनाबारे थाहा भएको बयान दिएका थिए । आएको रकममध्ये करिब साढे १६ करोड जग्गामा लगानी भएको भेटियो । तर जिल्ला अदालतले पर्यटकहरूबाट रकम संकलन भएको दाबीलाई नै उचित ठहर्‍यायो ।

‘ठगीबाट आएको भने पनि उक्त नोटमा पृथ्वीबहादुरहरूको नाम उल्लेख भएको समेत देखिन आएन’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘त्यो रकम राष्ट्र बैंकले अवैध बाटोबाट आएको भनी स्पष्ट साथ भन्न सकेको छैन ।’

पीडितहरूले दिएको जाहेरी, उनीहरूले लिखित रूपमा पेस गरेको ठगीको फेहरिस्तलाई जिल्ला अदालतले प्रमाण मानेको देखिँदैन । वित्तीय अपराध अनुसन्धान गर्ने अमेरिकाको सरकारी निकाय फिन्सेनले नेपाल राष्ट्र बैंकलाई नै पठाएको पत्र र अरु विवरणलाई जिल्ला अदालतले ग्रहण गरेको देखिँदैन ।

बरु पृथ्वीबहादुरले अस्वाभाविक रूपमा भित्र्याएको रकमलाई न्यायाधीश भुसालले उनकै बयानमा भर परेर ‘व्यापार व्यवसायको सिलसिलामा भएको स्वाभाविक कारोबार’ भनी विश्लेषण गरेका छन् । विदेशबाट नेपालमा पर्यटक आउँदा र नेपालबाट पर्यटक जाँदा कम्पनीहरूबीचको कारोबार स्वाभाविक हुने भन्दै उनले पृथ्वीबहादुरको बयानलाई सफाइ पाउने प्रमुख आधार बनाएको देखिन्छ ।

‘बैंक तथा वित्तीय संस्थामा होल्ड रहेको र रोक्का रहेको रकमहरू पृथ्वीबहादुर शाहकै हक दायित्व सिर्जना भएको छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मौज्दातको स्रोतको वैधानिकता विदेशबाट व्यवसायसँग वैधानिक बाटो विप्रेषणमार्फत प्राप्त गरेको देखिन्छ । त्यसको स्वामित्व पृथ्वीबहादुर शाहको रहनेमा विवाद देखिएन ।’

ठगी मुद्दामा सफाइ दिएको जिल्ला अदालतले करिब दुई वर्ष थुनामा बसेका पृथ्वीबहादुरलाई लिखत किर्तेको आरोपमा भने दोषी ठहर गर्‍यो । जग्गा किन्दा किर्ते कागजात तयार गरेको, भागवत सुवेदीको नागरिकता पेस गरेर यू क्यास सर्भिस प्रालि नामक कम्पनीको सेयर बेच्दा नक्कली औंठाछाप प्रयोग गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालतले उनलाई साढे २ वर्ष कैद र ६ सय रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?