
News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालले सरकार र नागरिकबीच दबाब सिर्जना गर्नसक्ने शक्ति देखाएको छ।
- नवसामाजिक आन्दोलनले परम्परागत सडक आन्दोलनको स्थान लिँदै छ, जसले छिटो प्रभाव पार्छ।
- युवराज संग्रौला प्रकरण होस् वा रामेछापका डाक्टरको विवादास्पद घटना, यसले पनि सामाजिक सञ्जालको शक्ति देखाएको छ ।
६ असार, काठमाडौं । सामाजिक सञ्जालको एउटै पोस्टले सिंगो समाजलाई जुरुक्कै उठाइदिन सक्छ । आममानिसलाई संगठित गराइदिन सक्छ । पक्ष–विपक्षमा विभाजित बनाइदिन्छ । बहस सिर्जना गर्छ । र, सुस्तरी ‘डिजिटल नागरिक आन्दोलन’को रूप धारण गर्नसक्छ, जसलाई युवा पुस्ता ‘न्यू सोसियल मुभमेन्ट’ भन्न रुचाउँछ ।
उदाहरणका रूपमा सोमबार सामाजिक सञ्जाल चर्काएको डा. केशव श्रेष्ठको घटनालाई लिन सकिन्छ ।
रामेछाप अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट ती डाक्टर सामाजिक सञ्जालमा ‘भावुक’ स्टाटस लेखेर सम्पर्कविहीन हुन्छन् । स्टाटसमा उनले अस्पताल भित्रका ‘बेथिति’ लेखेर आममानिसको ध्यान तान्ने उद्देश्य राखेको देखिन्छ । डा. श्रेष्ठ सफल पनि हुन्छन् । यद्यपि, यो विषय हालसम्म विवादित नै छ ।
उक्त पोस्टलाई लिएर सामाजिक सञ्जालमा ठूलै हल्लाखल्ला हुन्छ । प्रहरी प्रशासनदेखि सम्बन्धित संयन्त्रलाई मेन्सन गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दबाब सिर्जना गर्छन् । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका ती डाक्टर बालाजुको एक रिसोर्टमा भेटिन्छन् । कुरा यत्तिमै सकिँदैन, सामाजिक सञ्जालमा पाएको चर्चा र दबाबको कारण नै ती डाक्टरले गृहमन्त्री रमेश लेखकलाई भेटेर आफ्ना कुरा राख्ने मौका पाउँछन् ।
सम्भवतः यसरी घटना भएको त्यति छोटो समयमै गृहमन्त्रीसँग भेट्ने सिधा ‘एक्सेस’ कमैले पाउँछन् । यसमा सामाजिक सञ्जाल प्रयोगकर्ताको दबाब र हल्लाखल्लाले राम्रै काम गरेको देखिन्छ । घटना विवादित नै भए पनि सामाजिक सञ्जालको प्रभाव कतिसम्म पर्छ भन्ने एउटा उदाहरण थियो, त्यो ।
****
काठमाडौं स्कुल अफ ल (केएसएल) को घटनाले पनि सामाजिक सञ्जालको तागत सम्झाउँछ । गत फागुनमा केएसएलका कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो । कलेजकै विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूहरूमाथि संग्रौलाले यौन दुर्व्यवहार गरेको आरोप लागाए ।
उक्त पोस्ट एकाएक ‘भाइरल’ भयो । अगाडिसम्म कतै सुनुवाइ नभएको पीडितको आवाजमा समाजको आँखा पर्यो ।
विद्यार्थीको आरोपअनुसार संग्रौलाले पटकपटक ‘मौखिक यौन दुर्व्यवहार’ गरेका थिए । साथै विद्यार्थीसँग असहज हुनेगरी कुराकानी गर्ने गरेको, यौनका विषयमा अशोभनीय टिप्पणी गरेको ती विद्यार्थीको आरोप थियो । कलेजमा अध्ययनरत एक छात्राले गरेको यस्तो पोस्टले उक्त मुद्दालाई नै सतहमा ल्याइदियो ।
जबकि, त्यसअघिसम्म कलेज प्रशासनमै लिखित उजुरी दिए पनि वास्ता नगरिएको ती विद्यार्थीले बताएकी थिइन् । गत २७ मंसिरमा दिएको उक्त उजुरी दुई महिनासम्म सामसुम नै बन्यो । तर जब सामाजिक सञ्जालमा आरोप सार्वजनिक भए, त्यसले संग्रौला स्वयंलाई ‘सार्वजनिक कठघरा’मा उभ्यायो । पटकपटक स्पष्टीकरण नै दिनुपर्ने अवस्थामा आइपुगे । यो मुद्दा अहिलेसम्म विवादित नै रहे पनि संग्रौलामाथिको यो आरोप ‘पब्लिक अडिट’मा पर्यो ।
****
केही समयअघि सौन्दर्य प्रतियोगताको आडमा यौन शोषण भएको एउटा घटना पनि सामाजिक सञ्जालकै बलमा बाहिर आएको थियो । एक महिलामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे जेल चलान पनि भए । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
बलात्कारपछि फोटो र भिडियोसमेत खिचेर ‘ब्ल्याकमेल’ गरेको आरोप ती किशोरीको थियो । यसरी ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । सामाजिक सञ्जालमा घटना बाहिरिएर दबाब बढेपछि मानव बेचबिखनमा अनुसन्धान भएर पाण्डे कारागार चलान भएका थिए ।
पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको थियो । तर अदालतले उनलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि थुनामा र बाल यौन दुर्व्यवहारको कसुरमा भने एक लाख धरौटी माग गर्यो ।
****
माथि उल्लेखित उदाहरण त कुनै पात्र वा सम्बन्धित संस्थासँग जोडिएको घटना भयो । यसबाहेक सामाजिक सञ्जालको दबाबपछि सरकार नै पछि हट्नुपरेका प्रशस्त उदाहरण छन् । जस्तो, हालसालै अख्तियारबाट डीआईजीको सरुवाको प्रसंगलाई हेर्दा हुन्छ ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा गरिएको ११ जना डीआईजीको नयाँ पदस्थापनको सूची सार्वजनिक भएपछि त्यसप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको थियो । यसरी सामाजिक सञ्जालमा चर्को विरोध र शंका पोखिएपछि सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नगर्ने निर्णय गर्न बाध्य बन्यो ।
जबकि, यसअघि श्रेष्ठलाई अख्तियारबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पठाउने निर्णय गरिएको थियो । उनी सरुवा हुने भएपछि त्यसको स्थानमा ओमबहादुर रानालाई अख्तियार पठाउने तयारी थियो । तर भिजिट भिसा प्रकरणमा भइरहेको छानबिनका कारण श्रेष्ठको भूमिका संवेदनशील मानिएको थियो । यसकारण उनलाई सरुवा नगर्न दबाब बढेको हो ।
यसरी सामाजिक सञ्जाल र विपक्षी दलहरूको तीव्र आलोचनापछि गृह मन्त्रालयको सचिवालयले ‘श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नहुने’ जानकारी गरायो । यो घटनाले पनि देखाउँछ– संवेदनशील निकायमा हुने हठात् निर्णयले जब जनचासो र सार्वजनिक बहस खडा गर्छ, तब सरकार पछि सर्न बाध्य हुन्छ । पछिल्लो यो अवस्था सामाजिक सञ्जालकै दबाबका कारण सिर्जना भएको हो ।
यस्ता कयौँ उदाहरण छन्, सामाजिक सञ्जालमा आउन सक्ने दबाबकै कारण हरेक तहका सत्ता केही हदसम्म हच्किएका छन् । कतिपय अवस्थामा त सञ्जालमा आउने टीकाटिप्पणीलाई समेत ख्याल गरेर निर्णय गरिएको पाइन्छ । राज्यका पछिल्ला केही कदमले पनि सामाजिक सञ्जालप्रति सरकारलाई डर रहेको स्पष्ट देखाउँछ । आलोचना गरेकै भरमा टिकटकर रमा बस्नेत पक्राउ गरिएको घटना यसैको प्रतिनिधि उदाहरण हो ।
यसरी समाजमा भएका विभिन्न घटनामा सबैभन्दा पहिले सामाजिक सञ्जाल नै सुनिन थालेको छ । फेसबुक, ट्विटरदेखि इन्स्टाग्रामसम्मका प्ल्याटफर्म यसका लागि उपयुक्त साबित भएका छन् । जस्तो, युवापुस्ताको सबैभन्दा धेरै आकर्षण रहेको ‘स्पिक अप नेपाल’लाई नै उदाहरणको रूपमा हेर्न सकिन्छ । इन्स्टाग्राममा सबैभन्दा धरै सक्रिय गराएको यो प्लाटफर्मले आफूलाई ‘डिजिटल माइतीघर’को रूपमा चिनाउँछ । विशेषगरी पछिल्लो पुस्ताले विश्वस्त भएर आफ्ना आवाज उठाउने माध्यमको रूपमा यसलाई उपयोग गरिरहेको देखिन्छ ।
स्पिक अफ नेपालका सीईओ प्रिन्स शाहका अनुसार यो गैरनाफामूलक प्लाटफर्म हो । यसको वेबसाइटमा अहिले २५ हजार सर्वसाधारण छन् भने विभिन्न सामाजिक सञ्जालमा ७० हजार हाराहारी फलोअर्स छन् । ‘स्थापनाको १५ महिनामा हामीले ४५० वटा इस्यु उजागर गर्यौं । जसमध्ये १० वटा समाधान भयो,’ शाहले भने, ‘हामीले आमसर्वसाधारणबाट जहाँबाट जे हुन्छ, समस्या उठान गर्न अवसर दिन्छौँ र त्यसमा समर्थन जनाउन सबैलाई आह्वान गर्छौँ । यसरी सबैको साथ लिएर सम्बन्धित ‘सत्ता’लाई झक्झकाउँछौँ । जेहोस्, डिजिटल्ली उठाइने यस्ता विषयमा युवा पुस्ताको उल्लेख्य सहभागिता छ ।’
बदलिँदै आन्दोलनको परिभाषा
केही समयअघि भ्रष्टाचारको मुद्दामा हदम्याद लगाउने सरकारको प्रस्ताव फिर्ता भएको प्रसंग कोट्याउँदै उनले थपे, ‘सही प्रयोग गरे, अबको शक्ति सामाजिक सञ्जालमै छ ।’
यसरी विभिन्न सामाजिक सञ्जाल प्लाटफर्मको उपयोग गरेर आमयुवाले आफ्ना समस्या उजागर गरिरहेका भेटिन्छन् । जनआक्रोश सामाजिक सञ्जालका भित्तामा यत्रतत्र छरिएका भेटिन्छन् ।
यसलाई ‘नागरिक आन्दोलन सडक छोडेर सञ्जालतिर मोडिन थालेको’ संकेतको रूपमा बुझ्न सकिने बताउँछन्, समाजशास्त्री दिपेश घिमिरे । घिमिरेका अनुसार पहिले रत्नपार्क र खुलामञ्चमा भाषण गरेर जनताको मन जित्ने आन्दोलनहरू अब सामाजिक सञ्जालको डिजिटल मञ्चमा सरेका हुन् ।
परम्परागत सडक आन्दोलनको ठाउँमा फेसबुक, ट्विटर र टिकटक जस्ता प्लेटफर्मले नयाँ सामाजिक आन्दोलनको आधार तयार पारेका छन् । नवसामाजिक आन्दोलनको यो बदलिँदो स्वरूपले नेतृत्व र आन्दोलनको परिभाषा नै फेरिदिएको छ ।
‘पहिले सडकमा भाषण गरेर नेता बन्ने जमाना थियो, अहिले सामाजिक सञ्जालमा फलोअर र लाइकले प्रभाव जमाउने समय छ,’ घिमिरेले भने, ‘यो परिवर्तनको कारण हो, सूचना प्रसारको गति र त्यस्ता प्रविधिप्रति आममान्छेको पहुँच । अबको रत्नपार्क हाम्रो मोबाइल र कम्प्युटरको स्क्रिन हो ।’
नवसामाजिक आन्दोलनहरू (न्यू सोसियल मुमेन्ट) परम्परागत आन्दोलनभन्दा भिन्न हुन्छन् । यस्ता आन्दोलनले सामाजिक सञ्जालमार्फत तत्काल प्रभाव पार्छन् र छिटो परिणाम ल्याउँछन् ।

काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिँदै घिमिरेले थपे, ‘बालेनले आफ्नो राजनीतिक करिअरमा एकपटक पनि खुलामञ्चमा भाषण गरेनन्, न त कतै गएर भाषणबाजी गरिरहेका छन् । तर उनी सामाजिक सञ्जालकै बलमा नयाँ पुस्तामाझ लोकप्रिय नेताका रूपमा देखिन्छन् ।’
माथि उल्लेख गरिएका युवराज संग्रौला प्रकरण होस् वा रामेछापका डाक्टरको विवादास्पद घटना, यसले पनि सामाजिक सञ्जालको शक्ति देखाएको घिमिरेले बताए ।
उनका अनुसार नयाँ पुस्ताले सामाजिक सञ्जाललाई आफ्नो आवाज बुलन्द गर्ने र समस्याको समाधान खोज्ने प्रमुख हतियार बनाएको छ । यो परिवर्तनले नागरिक आन्दोलनको स्वरूप मात्र होइन, नेतृत्वको मापदण्ड पनि बदलिदिएको छ ।
यही प्रसंगमा एमाले उपाध्यक्ष विष्णु पौडेलको एउटा भाषण सम्झनु उपयुक्त हुन्छ । बुधबार मात्र पौडेलले सडकमा कार्यकर्ता देखिन छाडेको प्रसंग कोट्याउँदै गरेको भाषणले आममानिस सडकबाट सञ्जालतर्फै केन्द्रित रहेको देखाउँछ ।
एमाले जनसंगठन संयन्त्र बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन शिथिल भएका छन् ?’
प्रतिक्रिया 4