+
+
Shares

‘सितारे जमीन पर’का लागि आमिरले धेरै कुरा दाउमा राखेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आमिर खानले ‘सितारे जमीन पर’ को रिलिजसँगै ठूलो पर्दामा फर्किएका छन्, जुन उनको ‘कमब्याक’ चलचित्र हो ।
  • उनले ओटीटीमा चलचित्र रिलिजको समय ढिलो गर्न चाहेका छन्।

तीन वर्षको लामो अन्तरालपछि आमिर खान यो शुक्रबार ठूलो पर्दामा फर्किएका छन् । उनको नयाँ चलचित्र ‘सितारे जमीन पर’ लाई उनको ‘कमब्याक’ चलचित्र भनिएको छ ।

तर, ६० वर्षको उमेरमा आमिर खानले साहरुख खानले दुई वर्षअघि ‘पठान’ (२०२३) मार्फत गरेको जस्तो ब्लकबस्टर कमब्याक गर्न सक्लान् त  ?

यो तुलनाको पछाडि ठोस कारण पनि छ । आमिरजस्तै बलिउडका सुपरस्टार साहरुख खानको स्टारडम केही वर्षअघि निकै हल्लिएको थियो । उनको ‘फ्यान’ (२०१६), ‘जब ह्यारी मेट सेजल’ (२०१७) र ‘जीरो’ (२०१८) जस्ता ठूला चलचित्रहरू बक्स अफिसमा नराम्ररी असफल भएका थिए ।

वर्षको हिसाबले हेर्ने हो भने, आमिरको अन्तिम हिट चलचित्र ‘दंगल’ (२०१६) पूरै नौ वर्षअघि रिलिज भएको थियो । त्यसपछि आएका दुई ठूला चलचित्रहरू ‘ठग्स अफ हिन्दुस्तान’ (२०१८) र ‘लाल सिंह चड्ढा’ (२०२२) बक्स अफिसमा असफल भए र आमिरको स्टारडममाथि प्रश्नहरू पनि उठे ।

खासगरी ‘लाल सिंह चड्ढा’, जसको उनले निर्माण पनि गरेका थिए, त्यसको असफलताले आमिरलाई व्यवसायिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि हल्लायो । हालैका अन्तर्वार्ताहरूमा उनले यो असफलतापछि डिप्रेशनबाट गुज्रिएको र चलचित्र छोड्ने बारेमा सोचेको बताएका छन् ।

आमिरले पहिले पनि यस्तो असफलता झेलेका छन्

आमिर खानले १९८८ को ठूलो हिट ‘कयामत से कयामत तक’ बाट बलिउडमा शानदार प्रवेश गरेका थिए। उनी चलचित्र परिवारसँग सम्बन्धित छन् । उनका पिता ताहिर हुसैन चलचित्र निर्माता थिए भने उनका काका नासिर हुसैन सफल स्क्रिनराइटर, निर्माता र निर्देशक थिए ।

तर, ‘कयामत से कयामत तक’ बाट रातारात स्टार बनेका आमिरका त्यसपछिका धेरै चलचित्रहरू-‘लव लव लव’, ‘अव्वल नंबर’, ‘तुम मेरे हो’, ‘दीवाना मुझ सा नहीं’, ‘जवानी जिन्दाबाद’ नराम्ररी असफल भए ।  त्यसपछि उनले ब्लकबस्टर चलचित्र ‘दिल’ बाट कमब्याक गरे। आगामी वर्षहरूमा हिट र फ्लपको यात्राबाट गुज्रँदै उनले ‘राजा हिन्दुस्तानी’, ‘रंगीला’, ‘गुलाम’ र ‘सरफरोश’ जस्ता सफल चलचित्रहरू मार्फत प्रमुख स्टार बने ।

लगानपछि रणनीति परिवर्तन, ट्रेन्डसेटर बने आमिर

२००१ मा ‘लगान’ र ‘दिल चाहता है’ को सफलतापछि आमिर खानले बलिउडमा फरक बाटो रोजे । जहाँ उनका समकालीन स्टारहरू साहरुख, सलमान, अक्षय र गोविन्दाले वर्षमा धेरै चलचित्र साइन गरिरहेका थिए, आमिरले एक समयमा केवल एक चलचित्रमा ध्यान दिने निर्णय गरे ।

यो रणनीतिमाथि त्यतिबेला चलचित्र उद्योगमा धेरै प्रश्न उठे, तर आमिर आफ्नो निर्णयमा अडिग रहे । आगामी चार वर्ष उनले केतन मेहताको चलचित्र ‘मंगल पांडे द राइजिंग’ मा सबै कुरा लगाए । तर, २००५ मा रिलिज भएको ‘मंगल पांडे’ असफल भयो । यो असफलताले आमिरलाई ठूलो झट्का दियो । आलोचकहरूले भने कि आमिरले ‘राजा हिन्दुस्तानी’ वा ‘इश्क’ जस्ता ‘मसाला चलचित्र’ मात्र गर्नुपर्छ ।

आमिरको अर्को चलचित्र ‘रंग दे बसंती’ पनि सामान्य बलिउड मसाला चलचित्रभन्दा फरक शैलीको थियो । यो प्रयोग सफल भयो र चलचित्र हिट बन्यो । त्यसपछि आमिरले पछाडि फर्केर हेरेनन् । ‘फना’, ‘गजनी’, ‘धूम ३’ जस्ता ठूला हिट भए भने ‘तारे जमीन पर’, ‘पिपली लाइव’ र ‘डेल्ही बेली’ जस्ता प्रयोगधर्मी चलचित्रहरू पनि । यी सबै चलचित्रहरूको एउटै समानता थियो-ती सबै हिट थिए ।

हरेक पटक आमिरको विशेषता रह्यो-फरक कथा, बलियो स्क्रिप्ट र जोखिम लिने हिम्मत । त्यसपछि आए उनको करियरका सबैभन्दा ठूला ब्लकबस्टर चलचित्रहरू: ‘थ्री इडियट्स’, ‘पीके’ र ‘दंगल’ । यिनले आमिरको पहिचानलाई अजेय बक्स अफिस स्टार र ‘मिस्टर परफेक्शनिस्ट’ को रूपमा बलियो बनायो ।

कमाइमा पनि आमिरले मापदण्ड स्थापित गरे

बलिउडमा आज ‘१०० करोड क्लब’ लाई कुनै पनि सफल चलचित्रको कसी मानिन्छ । आमिरको चलचित्र ‘गजनी’ (२००८) भारतमा पहिलो १०० करोड कमाउने चलचित्र थियो । त्यसपछि ‘थ्री इडियट्स’ (२००९) पहिलो चलचित्र बन्यो जसले २०० करोड कमायो र ‘पीके’ (२०१४) ले ३०० करोड क्लबको सुरुवात गर्‍यो ।

यी सफलताहरूको पछाडि अर्को कुरा पनि थियो-आमिरको चलचित्र प्रचार र मार्केटिङमा फरक शैली ।  उनी स्क्रिप्ट छनोटमा मात्र होइन, प्रत्येक चलचित्रलाई बेच्ने तरिकामा पनि माहिर छन् । ‘गजनी’ मा उनले ‘बेयर हेड’ लुक मात्र अपनाएनन्, धेरै शहरहरूमा चलचित्र प्रचारका लागि दर्शकहरूको कपाल पनि आफैंले काटे, जसले त्यतिबेला चलचित्रको लागि जबरदस्त माहोल बनायो । ‘थ्री इडियट्स’ को लागि उनी सामान्य विद्यार्थीको रूपमा क्याम्पसहरूमा घुमे । ‘पीके’ को प्रचारमा उनी रेडियो जकी बने ।

आमिरको मान्यता छ कि चलचित्र केवल बनाइँदैन, त्यसलाई महसुस पनि गराइन्छ। तर यो सब एक दशकअघिसम्म मात्र काम लाग्यो ।

बदलिएको बलिउड र आमिरको चुनौती

पछिल्ला केही वर्षहरूमा हिन्दी चलचित्र उद्योगमा धेरै कुरा बदलिएको छ । यी वर्षहरूमा थोरै हिन्दी चलचित्रहरू मात्र ठूला हिट भएका छन् । साहरुख, सलमान र आमिरलाई दशकौंसम्म बलिउडका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमा गनिन्थ्यो । तर समयको चक्र घुमिसकेको छ । साहरुखले ‘पठान’ र ‘जवान’ मार्फत कमब्याक गरे, तर सलमानका पछिल्ला तीन चलचित्रहरू अपेक्षाकृत खरा उतरेनन् र आमिर नौ वर्षदेखि सफलताको खोजीमा छन् ।

खासगरी “परफेक्शन” र “गुणस्तरीय सिनेमा” सँग जोडिएको उनको छवि डगमगाएको देखिन्छ ।

आमिरको प्रचार रणनीति

चलचित्र प्रचारको तरिका पनि बदलिएको छ । पहिले जहाँ ठूला स्टारहरू टिभी स्टुडियो र अखबारका कार्यालयहरूमा गएर व्यापक प्रचार गर्थे, अब त्यस्तो प्रचार बिस्तारै कम हुँदै गएको छ । कोभिडपछि ठूला बलिउड स्टारहरूले यस्ता प्रचारात्मक अन्तर्वार्ताहरू लगभग बन्द गरेका छन् । अब सामान्यत: ट्रेलर लन्चमै प्रश्नोत्तरको कुरा टुंग्याइन्छ ।

साहरुख खानले ‘पठान’ र ‘जवान’ का लागि कुनै पनि टिभी च्यानल, अखबार वा इन्फ्लुएन्सरलाई अन्तर्वार्ता दिएनन् । केवल ट्विटर (एक्स) मा ‘आस्क मी एनीथिंग’ मार्फत सम्पूर्ण प्रचार सम्हाले ।

आमिर प्रचारका उस्ताद हुन्, तर ‘सितारे जमीन पर’ का लागि उनी आवश्यकताभन्दा बढी प्रयास गरिरहेका देखिन्छन्, मानौं उनलाई जसरी पनि चलचित्र हिट बनाउनुपर्ने दबाब छ । उनले यो पनि भनेका छन् कि एक्शन चलचित्रको युगमा उनी पूरै फरक चलचित्र लिएर आउँदै छन् ।

पछिल्ला हप्ताहरूमा आमिरले धेरै सोशल मिडिया इन्फ्लुएन्सरहरू, अनलाइन च्यानलहरू, टिभी च्यानलहरू र अखबारहरूलाई लामालामा अन्तर्वार्ता दिइरहेका छन् । यी मध्ये धेरै अन्तर्वार्ता एक घण्टाभन्दा लामो छन् ।

यी सबै अन्तर्वार्ताहरूमा आमिरले ‘लाल सिंह चड्ढा’ को असफलताको प्रभाव, ओटीटीले थिएटर व्यवसायमा पारेको नोक्सानजस्ता चलचित्रसँग सम्बन्धित कुराहरू मात्र होइन, व्यक्तिगत जीवनका पक्षहरू-दुई सम्बन्ध विच्छेद, रक्सीको लत, डिप्रेशन, छोराछोरी र परिवारलाई समय नदिएको पछुतो, नयाँ पार्टनर गौरीको उल्लेखदेखि पुराना विवादहरूसम्म खुलस्त बोलिरहेका छन् । धेरै ठाउँमा उनी क्यामेरा अगाडि भावुक भए र आँसु पनि झरे ।

जब कुनै ठूलो स्टार यसरी जमिनमा झर्छ, यति इमानदारीपूर्वक आफूलाई खोल्छ, आफ्ना गल्तीहरूलाई क्यामेरामा स्वीकार्छ, तब निश्चय नै यी कुराहरूले स्टारभित्रको मानवसँग परिचय गराउँछन् । तर जब यी कुराहरू बारम्बार, लगातार फरक मञ्चहरूमा दोहोरिन्छन्, तब यो प्रचार रणनीति पुरानो र बनावटी लाग्न थाल्छ ।

चलचित्र उद्योगमा चर्चा छ कि के आवश्यकताभन्दा बढी प्रयासले आमिरको प्रचारलाई ‘परफेक्शन’ को सट्टा ‘ओभरकिल’ तर्फ धकेलिरहेको छैन ?

आमिरको ठूलो दाउ

आमिरले हालै आफ्नो छवि अनुसार अर्को साहसी निर्णय लिएका छन् ।  उनले बारम्बार भनिरहेका छन् कि ओटीटीले चलचित्रको थिएटर व्यवसायमा निकै नराम्रो प्रभाव पारेको छ । सामान्यत: ठूलो बजेटका चलचित्रहरू थिएटर रिलिजको आठ हप्ताभित्रै ओटीटीमा आउँछन् ।

फिक्की–ईवाई मिडिया र इन्टरटेनमेन्ट रिपोर्ट २०२५ अनुसार, हाल भारतको १८,७०० करोडको चलचित्र मनोरन्जन बजार गम्भीर अवस्थाबाट गुज्रिरहेको छ । २०२३ मा सिनेमाघरहरूबाट १२,००० करोड कमाइ भएको थियो, जुन २०२४ मा घटेर ११,४०० करोडमा झरेको छ ।

आमिरले ठूलो दाउ खेल्दै यो अवस्थालाई बदल्ने निर्णय गरेका छन् । रिपोर्टहरूका अनुसार, उनले ‘सितारे जमीन पर’ को करिब १२० करोडको ओटीटी सम्झौता पनि अस्वीकार गरेका छन् । उनी चाहन्छन् कि थिएटर रिलिजको कम्तीमा छ महिनापछि मात्र चलचित्र ओटीटीमा रिलिज होस् ताकि दर्शकहरू सिनेमाघरमा धेरै संख्यामा फर्किऊन् ।

आमिरको चिन्ता जायज छ र पहिले पनि चलचित्र उद्योगका चर्चित व्यक्तित्वहरूले यस्ता कुराहरू दोहोर्याएका छन् । यो सत्य हो कि चलचित्रहरू चाँडै ओटीटीमा उपलब्ध हुँदा दर्शकहरूलाई सिनेमाघर जाने खास कारण रहँदैन । थिएटर र घरमा बसेर चलचित्र हेर्ने दर्शकहरूबीच स्पष्ट अन्तर कायम राख्न यति समय आवश्यक छ ।

के आमिरको यो कदम ‘पछाडि फर्कनु’ होइन ?

साहरुख खानले ओटीटीलाई दोष नदिई एक वर्षमा दुई पटक (‘पठान’ र ‘जवान’ २०२३) आफ्ना प्रशंसकहरूलाई सिनेमाघरसम्म ल्याउन सफल भए । अजय देवगन (‘शैतान’ र ‘रेड’), राजकुमार राव (‘स्त्री २’), कार्तिक आर्यन (‘भूल भुलैया ३’), अल्लु अर्जुन (‘पुष्पा १ र २’) र प्रभास (‘कल्कि’) जस्ता स्टारहरूले यस्ता अवस्थामा ठूला हिट चलचित्रहरू दिइसकेका छन् ।

त्यसैले ठूलो प्रश्न यो पनि छ कि वर्षौंदेखि घरमै बसेर ओटीटीमा नयाँ चलचित्रहरू हेर्ने बानी परेका मानिसहरू के वास्तवमै सिनेमाघरतर्फ फर्किन्छन् वा छ महिना पर्खनेछन् ?

सोच्नुस्, स्मार्टफोनबाट कोही पुरानो शैलीको फोनमा फर्कन चाहन्छन् ? नयाँ चीजहरूको बानी परेपछि पछाडि फर्कन प्राय: गाह्रो हुन्छ ।

आमिर खानको काँधमा केवल एउटा चलचित्रको मात्र होइन, उनको वर्षौंदेखिको साख र ट्रेन्डसेटरको छविको पनि भार छ । यस्तोमा के उनको यो कदमले बलिउडको भविष्यलाई नयाँ दिशा दिनेछ वा यो उनको करियरको सबैभन्दा ठूलो दाउमा परिणत हुनेछ ?

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?