+
+
Shares

पोखरा नगर बसको प्रदूषण मापनमा आधा फेल

कालो धुँवा आतंक रोक्न सदनसम्म आवाज उठेपछि मन्त्रीसहित सडकमा

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसहित मन्त्रालयका कर्मचारी, यातायात व्यवस्था कार्यालय सवारी कास्की, जिल्ला ट्राफिक प्रहरीले शुक्रबार यस्ता नगर बसको प्रदूषण जाँच गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा नगर बसको प्रदूषण जाँच शुक्रबार गरिएको थियो, जसमा १० वटा बस फेल भए।
  • मन्त्रालयले जाँचपछि फेल भएका बसलाई तीन दिनभित्र मर्मत गर्न निर्देशन दिए।
  • सामाजिक सञ्चालमा भाइरल भएको भिडियो र नागरिकको गुनासापछि तत्काल अनुगमन र कारबाही भयो।

६ असार, पोखरा । पोखराका नगर बसले अत्यधिक कालो धुँवा फाल्दै उड्ने गर्दा नागरिकले सास्ती खेप्नेदेखि सहरलाई नै प्रदूषित र बद्नाम गराएको भन्दै आवाज उठेपछि शुक्रबार छड्के जाँच भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसहित मन्त्रालयका कर्मचारी, यातायात व्यवस्था कार्यालय सवारी कास्की, जिल्ला ट्राफिक प्रहरीले शुक्रबार यस्ता नगर बसको प्रदूषण जाँच गरिएको हो ।

पोखराको न्युरोडमा छड्के गर्दा २१ बसमध्ये १० वटा बसको प्रदूषण जाँचमा फेल भएका छन् । यसअघि १० वटा बसमा जाँच गर्दा ६ वटा फेल भएका थिए ।

मन्त्रालयकै नेतृत्वमा भएको जाँचमा फेल भएका बसका कागजपत्र लिएर ३ दिनभित्र मर्मत गर्नका लागि पठाइएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए ।

‘पोखराको न्युरोडमा मन्त्रीकै निर्देशनअनुसार आकस्मिक जाँच गरिएको थियो । जसमा १० वटा गाडीको प्रदूषण फेल भएको छ । ती गाडीलाई तत्काल मर्मत गरेर पास गर्न भनेका छौं, त्यसका लागि ३ दिनको समय दिइएको छ,’ शर्माले भने, ‘एउटै बस पटक पटक जाँच फेल भए भने जरीवाना गर्ने, रुट इजाजतसमेत रद्ध गरिदिनेसम्मको चेतावनी दिइएको छ ।’

यसअघि भएका मेसिन बिग्रिएको र जनशक्तिसमेत नहुँदा प्रदूषण जाँच हुन सकेको थिएन । पछिल्लो पटक गण्डकी प्रदेश सरकारले २ वटा मेसिन ल्याएको छ । यो मेसिन बोकर जुनसुकै ठाउँमा पनि गएर जाँच गर्न सकिने भएकाले सहज पनि हुने कार्यालयको भनाइ थियो ।

पोखराको नगर बसले अत्यधिक धुँवा फालेको भिडियो सामाजिक सञ्चालमा भाइरल भएको थियो । नागरिक तहबाट पनि पोखराका नगर बसले आतंक नै मच्चाएको गुनासे गरेका थिए ।

पोखराका नगर बसले कालो धुँवाको मुस्लो उडाउँदै कुद्दा पोखराकै बद्नाम भएको भन्दै तत्काल अनुगमन र कारबाही गर्न गण्डकी प्रदेश सभाको बैठकमा सांसद हरि भण्डारीले आवाज नै उठाएका थिए ।

चौतर्फी दबाब र आलोचनापछि शुक्रबार चाँज भएको हो । अब आकस्मिक तथा निरन्तर प्रदूषण जाँच गरेर यस्ता बसलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिइएको मन्त्री केसीले बताए ।

अहिले पोखरामा डिजेल र पेट्रोलबाट चल्ने दुबै खाले गाडीको प्रदूषण मापन गर्ने २ वटा मेसिन खरिद भएको हो ।

प्रदूषण मापन मेसिनले ३० भन्दा कम देखायो भने पास हुने र त्योमाथि फेल हुने उनको भनाइ छ । पोखरामा कालो धुँवा फाल्ने गाडीको प्रदूषण मापन ‘स्मोक डेनसिटी’ ८०÷९० सम्म देखिएको यातायात कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?