+
+
Shares

बाध्यताले विकास भएको सीतापाइला–धार्के सडक

दुरीका हिसाबले सीतापाइला–धार्के २४ किलोमिटर लामो छ । झन्डै ४५ मिनेटमा यो सडक पार गर्न सकिन्छ । नागढुंगा–धार्के खण्डको विकल्पका रूपमा तयार यो सडकमा तुलनात्मक कम जोखिममा सहज यात्रा गर्न सकिन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार ७ गते १०:५२

७ असार, काठमाडौं । २०४५ सालमा ट्र्याक खुलेको सीतापाइला–धार्के सडक खण्ड दुई वर्ष अगाडिसम्म सुनसान थियो । कतिसम्म भने धेरै यात्रुलाई यो खण्ड हुँदै काठमाडौं सीतापाइलाबाट धादिङ धार्के पुगिन्छ भन्नेसम्म पत्तो थिएन । आज परिस्थिति फेरिएको छ ।

स्तरीय सडकले यात्रुलाई मात्र सहज बनाएको छैन, स्थानीय व्यापारलाई समेत ठूलो टेवा पुगेको छ । अनलाइनखबर टोलीले यसै साता धार्केबाट सीतापाइलासम्मको स्थलगत यात्रा गरेको छ । दुई लेन सडकको दायाँबायाँ लिची र आँप बेच्न बसेका थुप्रै स्थानीयसँगै स–साना झुपडीमा चटपटे र चिया–खाजाको व्यापार फस्टाउँदो देखियो ।

‘सुरुङमार्ग चलेपछि हाम्रो व्यापार सुक्छ कि भन्ने चिन्ता छ,’ एक स्थानीयले गुनासो गरे ।

त्यसो त नागढुंगा–सिस्नेखोला सुरुङमा दुई पाङ्ग्रे सवारीसाधनले यात्रा गर्न पाउने छैनन् । त्यसकारण साना र दुई पाङ्ग्रे सवारीका लागि काठमाडौं थानकोटबाट धार्के पुग्नुको सट्टा सीतापाइलाबाट धार्के पुग्न सहज बनेको छ । कलंकी–धार्के सडक खण्डको लम्बाइ करिब २५ किलोमिटर छ । तर, सवारीसाधनको अधिक चापका कारण कुनै दिन यो सडक छिचोल्न ३ देखि ४ घण्टासम्म लाग्ने गर्छ ।

दुरीका हिसाबले सीतापाइला–धार्के २४ किलोमिटर लामो छ । झन्डै ४५ मिनेटमा यो सडक पार गर्न सकिन्छ । नागढुंगा–धार्के खण्डको विकल्पका रूपमा तयार यो सडकमा तुलनात्मक कम जोखिममा सहज यात्रा गर्न सकिन्छ ।

धार्केका स्थानीय तथा यो सडक खण्ड सञ्चालनमा अग्रणी भूमिका खेल्ने स्थानीयमध्ये एक नवराज लुइँटेलका अनुसार यो सडक स्थानीय जनताले कोदालो प्रयोग गरेर खन्न थालेको २०४५ सालदेखि नै हो । दैनिक ३–४ सय जनासम्मले श्रमदान गरेर यो बाटोको ट्र्याक खनिएको हो ।

नवराज लुइँटेल

१२ फागुन २०५२ सालमा तत्कालीन सांसद राजेन्द्र पाण्डेले सडक उद्घाटन गरेका हुन् । सडक कालोपत्र भएको दुई वर्षमात्र भएको छ । कुल २४ किलोमिटरमध्ये धार्के बजार निस्किने चोकमा २ सय मिटरमात्र कालोपत्र हुन बाँकी छ । अन्य सबै सडक कालोपत्र गरिएको छ ।

अहिले नागढुंगाको सडक बिग्रिएको वा अत्यधिक जाम भएको समयमा मिनीबस, माइक्रोबस, कार र मोटरसाइकल यही खण्ड प्रयोग गरी आवतजावत गर्ने गरेको उनले सुनाए । लामो आकारका बसबाहेक यो खण्ड हुँदै सबै प्रकारका सवारीसाधन गुड्न सक्ने गरी वैकल्पिक सडक बनाइएको छ ।

धादिङ अर्जेलटारका स्थानीय दिनेश घलेका अनुसार दुई वर्ष अगाडि हिँड्न निकै मुस्किल थियो । जब सडक कालोपत्र गरियो, त्यसपछि भने सहज भएको छ । अहिले नागढुंगामा कुनै अवरोध भएको समयमा सवारीसाधनले यस खण्डलाई वैकल्पिक सडकमा रूपमा प्रयोग गरिरहेको उनले बताए ।

यसले स्थानीयको व्यापार समेत धेरै सहज भएको उनले बताए । अर्जेलटारकै अर्का स्थानीय भीमसेन भट्टराई सडक खुलेपछि साना व्यवसायीलाई निकै फाइदा पुगेको बताउँछन् । ‘हामी व्यवसाय गर्ने मान्छेलाई धेरै फाइदा भएको छ,’ उनले भने ।

किसानको उत्पादनले घर अगाडि नै बजार पाएको भन्दै उनले साना व्यवसायसँगै जग्गाको भाउ बढाउन पनि सडकले ठूलो भूमिका खेलेको उनले बताए ।

सडक विभागले अहिले नौबिसे–नागढुंगा सडक खण्ड विस्तार अन्तर्गत एकतर्फी कालोपत्र गर्ने काम सकाएको छ । दोहोरो कालोपत्र गर्ने बेला यो सडकमा यातायात रोक्नुपर्नेे हुन्छ । त्यसबेला प्रहरीले नै वैकल्पिक सडकका रूपमा धार्के–सीतापाइला रुट प्रयोग गर्न सुझाव दिने गरेको छ ।

अनलाइनखबर टोलीले गरेको सीतापाइला–धार्के सडक यात्रा क्रममा समेत यो सडक जोखिमरहित देखियो । कुनै–कुनै स्थानमा ढलान गर्र्दै सडक स्तरीय बनाउने काम जारी थियो । काठमाडौं सीतापाइला माथिको भञ्ज्याङ भीमढुंगा कटेर महेशफाँट झर्नुभन्दा अगाडिको ओरालो खण्डमा भने भारी वर्षा हुँदा पहिरो र साना खोलामा ढुंगा बगेर हुने जोखिम अहिले पनि छ । तर, मौसम सफा भएको समयमा भने त्यो जोखिम पनि देखिँदैन ।

बाध्यताले बनेको वैकल्पिक सडक

default

यो सडक कालोपत्र गर्ने प्रयास २०७३ सालमै भएको थियो । तर, समयमा काम हुन सकेन । पछिल्लो समय मंसिर २०८१ मा १५ दिनसम्म सवारीसाधन पूर्णरूपमा बन्द गरी सडकको अधिकांश भाग कालोपत्र गरिएको हो ।

२०७३ सालमै सडक कालोपत्र गरी टेन्डर आह्वान गरी काम अगाडि बढाइएको थियो । धार्केबाट ठूलोखोलासम्म १५ किलोमिटर सडक छ । सीतापाइलाबाट ठूलोखोलासम्म १० किलोमिटर सडक छ । यी दुई खण्डमा छुट्टाछुट्टै समयमा कालोपत्र गरिएको हो ।

ट्र्याक खोलेको साढे तीन दशकसम्म पनि प्राथमिकतामा नपरेको यो सडक नागढुंगा खण्डमा विभिन्न अवरोध आउँदा छिटो काम सक्न दबाब परेको थियो ।

तस्वीर/भिडियो : शंकर गिरी/कमल प्रसाईं

default

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?