+
+
Shares

चिना के हो, कसरी बनाइन्छ ?

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८२ असार ८ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली समाजमा लामो समयदेखि चल्दै आएको चलन अनुसार, चिना व्यक्तिको जन्म मिति, समय र स्थानको आधारमा बनाइन्छ।
  • चिना बनाउँदा ग्रह, राशि र नक्षत्रको स्थिति गणितीय विश्लेषण गरी तयार पारिन्छ र यसले भविष्यवाणी गर्न मद्दत गर्दछ।

कुनै पनि काम गर्नुभन्दा अघि चिना ‘कुण्डली’ देखाउने चलन नेपाली समाजमा लामो समयदेखि चल्दै आएको छ । तर, चिना कसरी बनाइन्छ ? यसले मान्छेको भविष्य कसरी थाहा हुन्छ त ?

चिना भनेको के हो ?

चिनाको अर्थ व्यक्तिलाई चिनाउनु भन्ने हुन्छ । मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्ता लगाई त्यसैका आधारमा गणितीय विश्लेषण गरी चिना तयार गरिन्छ । राशि चक्रलाई आधार मानी बाह्र राशि र सूर्य, नवग्रहहरूको उदय–अस्त, उच्च–नीच, डिग्री, देश, काल आदि सहितको अनुकूल-प्रतिकूल के कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणितसिद्ध ज्ञान गराउने वस्तु भनेकै चिना हो । व्यक्ति जन्मिएको अवस्थितिको अभिलेख राखिने दस्तावेज अर्थात् चिनारी पनि हो ।

चिना तयार गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ । विशेषगरी जन्मेको मिति, समय र स्थान सही हुनुपर्छ । जन्मेको समय र मिति बिग्रिएको खण्डमा चिनाले भविष्य बताउन सक्दैन ।

कसरी तयार गरिन्छ ?

कुनै व्यक्तिको चिना बनाउँदा उ जन्मँदाको ग्रह नक्षेत्र सबै हेरेर हिसाब गरेर बनाइन्छ । पञ्चाङ्गमा भएको तिथि, बार, नक्षेत्र, गण सबै कुरा समावेश गरेर चिना बनाइन्छ । कोही व्यक्ति जुन बेलामा जन्मियो त्यति बेला आकाशमा ग्रहहरू घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ भन्ने कुरा पञ्चाङ्गको पात्रोमा हुन्छ ।

त्यसमा ग्रहहरू कति डिग्रीमा छन् भनेर लेखिएको हुन्छ । मान्छे जन्मिसकेपछि पात्रो पल्टाएर इष्टघडी निकालिन्छ । इष्टघडी भनेको मान्छे जन्मिएको समय र सूर्यबीचको अन्तर हो । इष्टघडीले कति नक्षत्र, कति तिथि भेट्यो भनेर निकाल्छ ।

हिन्दु संस्कार, संस्कृति अनुसार जन्मेको ६ दिनमा चिनाको टिप्पणी तयार गरिन्छ । प्राय: गरी बच्चा जन्मेको ५ वर्षपछि चिना बनाएर राख्ने चलन छ ।

भविष्य कसरी थाहा हुन्छ ?

कुनै पनि व्यक्तिको कुण्डलीका आधारमा उसको भविष्य बताउन सकिन्छ । कुण्डलीमा रहेको पहिलो भावबाट उसको स्वास्थ्य र स्वभाव हेर्न सकिन्छ । यसैगरी दोस्रो तथा अन्य भावबाट धन सम्पत्ति, बचत, पराक्रम तथा दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा पारिवारिक सम्बन्धको अवस्था हेर्न सकिन्छ ।

साथै बाहान तथा घरसम्बन्धी, अध्ययन, अध्यापन तथा विषयगत रुचि, सन्तान योग, शत्रु सम्बन्ध, आयु तथा जीवनमा घट्न सक्ने दुर्घटनाहरूको लेखाजोखा पनि यसबाट गरिन्छ । यसका अलवा भाग्योदय, धर्म तथा संस्कारप्रतिको रुचि, पेसा तथा पिता पुत्र सम्बन्ध, स्थानान्तरण तथा आम्दानीका स्रोतहरू, तथा उसको खर्च सम्बन्धी भवष्यवाणी पत्ता लगाउन सकिन्छ ।

कुन ग्रह मैत्री भावमा छ, कुन ग्रह शत्रु भावमा छ त्यो आधारमा भविष्य निर्माण हुन्छ । राम्ररी बनाइएको चिना छ, ज्योतिष शास्त्र अध्ययन गरेको व्यक्तिले हेरेको खण्डमा राम्ररी भविष्यवाणी गर्न सक्छन् र त्यो भविष्यवाणी मिल्छ पनि ।

चिना बनाउँदा जन्मेको दिन, देश र काल सहित खगोलीय एवं भूगोलीय अवस्थिति मिलेको हुनुपर्छ । अनुमानको आधारमा चिना बनाउन मिल्दैन । थोरै मात्र गडबडी भयो भने पनि चिना नमिल्न सक्छ । र, त्यो चिनाको आधारमा गरेको भविष्यवाणी पनि नमिल्न सक्छ । समय मात्र थाहा छ जन्मेको स्थान थाहा छैन वा स्थान थाहा छ तर, समय थाहा छैन भने पनि चिना बन्दैन ।

जन्मेको समय र जन्म स्थान एकदमै सही छ भने त्यो अनुसार बनाइएको चिनाको आधारमा गरिएको भविष्यवाणी भने मिल्छ ।

चिना भयो भने कुन बेला कुन ग्रहको स्थिति के छ ? ग्रहको नकारात्मक असर पर्ने अवस्था छ भने चिना हेरेर ग्रहशान्ति गर्न सकिन्छ । यसले नराम्रो असरलाई कम गर्ने विश्वास छ ।

अन्य देशमा पनि हेरिन्छ चिना

चिना बनाउने र चिनाको आधारमा भविष्यवाणी गर्ने प्रचलन नेपाल जस्ता हिन्दु धर्म अवलम्बन गरेको देशमा मात्र हुन्छ भन्ने पनि धेरैलाई लाग्न सक्छ । बङ्गलादेश, मालदिभ्स लगायतका देशहरूमा पनि चिना बनाउने र त्यसको आधारमा भविष्यवाणी गर्ने गरिन्छ ।

लेखक
पण्डित नारायणप्रसाद दुलाल

दुलाल ज्योतिषाचार्य र वास्तुविद्  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?