+
+
Shares

पोखराको बजेटमा हेलचक्र्याइँ : अंकमै त्रुटि, कार्यक्रम नै गायब

मेयरलाई विदेश भ्रमणकै हतारो, भएन पर्याप्त छलफल

नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र नै बजेट वक्तव्यमा समावेश छैन ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ असार ८ गते २१:५९

८ असार, पोखरा । पोखरा महानगरपालिकाले पर्याप्त छलफल र तयारीबिना हतार–हतारमा बजेट ल्याएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन २ बजेबाट नगर सभा डाकिएको थियो । तर, बजेट निर्धारण समिति र कार्यपालिकाको बैठक नै ढिला हुँदा हतार हतार नीति तथा कार्यक्रम र बजेट ल्याइएको हो ।

यतिसम्म हेलचक्र्याइँ भएको छ कि नीति तथा कार्यक्रममा उल्लेख नै नगरिएका कार्यक्रम बजेटमा आएका छन् भने नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र नै बजेट वक्तव्यमा समावेश छैन । कर्मचारीहरूले हतारमा सिलिङ टुंगिएको र निर्णयसमेत ढिला हुँदा त्रुटि भएको बताइरहेका छन् ।

खर्च केन्द्रगत बजेटमा उल्लेख भएको रकमलाई कृषि अन्तर्गत छुट्याइएको तर्क उनीहरूले गरेका छन् । बजेटमा अन्य क्षेत्रलाई प्राथमिकताका साथ योजनाहरूसहित नीति तथा कार्यक्रममा टेकेर ल्याइएको छ । तर, आर्थिक विकास तथा कृषि क्षेत्र नै गायब गरिएको छ ।

‘जुनसुकै सरकारको पनि सबैभन्दा महत्त्वपूर्ण भनेको नीति तथा कार्यक्रम र बजेट हो । त्यसलाई नै खेलाँची गर्नु भनेको सरकार नै गम्भीर नहुनु हो, पोखरा महानगर बजेटकै सन्दर्भमा गम्भीर देखिएन, खेलाँची गर्‍यो,’ महानगरकै एक अधिकृत भन्छन्, ‘मुख्य विषयमै नेतृत्व गम्भीर नभएपछि कसको के लाग्दो रहेछ र गर्नका लागि तर्क त जे गरे पनि भयो ।’

स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शनअनुसार जेठ १० गतेभित्र योजना पेश गरिसक्नुपर्ने थियो र कम्तिमा जेठ मसान्तसम्म बजेटको तयारी भइसक्नुपर्ने थियो । तर, आइतबार अबेरसम्म बजेटको सिलिङ र योजनाबारे नै कार्यपालिका बैठकले निर्णय गर्न नसक्दा हतार–हतारमा सार्वजनिक गर्न थाल्दा यस्तो खेलाँची हुन पुगेको छ ।

करिब २ बजेतिरमात्र कार्यपालिकामा वडाध्यक्षहरूबीच सहमति जुट्यो । ढिलोगरी सुरु भएको नगर सभामा मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम र उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे ।

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, सोमबारबाटै मेयर आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम आचार्यको चीन भ्रमण तय हुँदा हतारमा नीति तथा कार्यक्रम र बजेट एकैचोटी पेस भएको हो । जसकारण बर्गेल्ती त्रुटि बजेट पुस्तिकामा भेटिएका छन् ।

मेयर आचार्यको यसअघि पनि अत्यधिक विदेश भ्रमण भइरहेको भन्दै आलोचना हुने गरेको छ । अहिले पनि महत्त्वपूर्ण कार्यक्रमलाई भन्दै महानगर सम्पूर्ण हिसाबले वर्षभरि चल्नेमात्रै नभएर दीर्घकालीन महत्व राख्ने चल्ने नीति तथा कार्यक्रम र बजेटसमेत कम प्राथमिकतामा परेको गुनसो महानगरकै जनप्रतिनिधिले गरेका छन् ।

नीति तथा कार्यक्रमका लागि पर्याप्त छलफलसमेत हुन सकेन भने सोमबार करिब २ बजेतिरमात्र सहमति जुट्दा हतारमा बजेट ल्याइएको हो । मेयर आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम चीनको ल्हासामा हुन लागेको भगिनी सहरहरुको सम्मेलनमा जाने तय भएको छ । चीन जाने हतारोले आइतबारै नीति तथा कार्यक्रम र बजेट ल्याउँदा बजेटमै त्रुटि हुन पुगेको महानगरकै अधिकृतहरुले बताएका छन् ।

मेयर आचार्यले महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याएका छन् । त्यसैका आधारमा उपमेयर गुरुङले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । बिहान ८ बजे विषयगत समितिसहित बजेट निर्धारण समितिको बैठक बोलाइएको थियो । त्यसलगत्तै कार्यपालिका बैठक डाकिएको थियो ।

पोखराका ३३ वटा वडाहरूलाई जनसंख्या, भूगोल, खर्च क्षमता, आन्तरिक राजस्वका आधारमा ३ करोड रुपैयाँसम्मको सिलिङ दिइएको थियो । कार्यपालिका बैठकमा वडाहरूलाई दिइएको सिलिङमा थप एक/एक करोड रुपैयाँ दिनुपर्ने शर्त वडाध्यक्षहरूले राखेका थिए ।

यही विषयमा केहीबेर रस्साकस्सीसमेत चलेपछि बहुवर्षीय योजना ठेक्का लागेका वडामा ६० लाख र बहुवर्षीय योजना नभएका वडामा ९० लाख रुपैयाँ दिने सहमति वडाध्यक्ष र मेयरबीच भएको थियो ।

महानगरले सार्वजनिक गरेको बजेटमा चालु र पुँजीगत खर्चको अनुमानसमेत गरिएको छैन । ‘जेठ मसान्तसम्म योजना पेश भइसकेको भए आय–व्ययको विश्लेषणात्मक बजेट ल्याउन सकिन्थ्यो तर बिहान १२/१ बजेसम्म पनि निर्णय भइसकेको थिएन,’ वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेलले भने, ‘चालु र पुँजीगत खर्चको अनुमान गर्ने समय नै भएन, अब वार्षिक कार्यक्रममा यी सबै फाइनल भएर नगर सभाको अर्को बैठकमा पेश हुन्छ ।’

नीति तथा कार्यक्रमले आर्थिक विकास तथा कृषिलाई प्राथमिकता दिएको छ । तर, बजेट वक्तव्यमा कृषिको कुनै विषय र सन्दर्भ नै छैन । आर्थिक विकास महाशाखा अन्तर्गत पर्ने भएकाले बजेटको आयव्ययमा खर्च केन्द्रको सन्दर्भमा उल्लेख रकमले नै यसलाई पछि समेटिने महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

‘बिहानसम्म पनि सिलिङको तय भइसकेको थिएन । होलसेलमा बजेट आयो, अब ब्रेकडाउन होला,’ आर्थिक विकास महाशाखा प्रमुख कडरियाले भने, ‘अन्य क्षेत्रजसरी आउनुपर्नेमा कृषि क्षेत्र छुटेछ तर खर्च केन्द्रमा आर्थिक विकास तर्फको बजेटभित्रै कृषि पनि पर्छ ।’

खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड अनुमान गरिएको छ । वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड बजेट प्रस्ताव गरिएको छ ।

हतारमा ल्याउँदा नीति तथा कार्यक्रम र बजेटमा तालमेलसमेत मिलेको छैन । नीति तथा कार्यक्रममा वडा नम्बर ३२ मा रहेको स्थायी ल्याण्डफिल र वडा नम्बर ३३ मा बनाउने भनिएको फोहोरमैला प्रशोधन केन्द्रको विषयमा मौन छ । तर, वार्षिक बजेट तथा कार्यक्रममा पोखरा महानगरपालिका र सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनको प्रारम्भ गर्ने उल्लेख छ भने पोखरा–३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइट व्यवस्थापन गर्न ३ करोड ९१ लख रुपैयाँ बजेट बिनियोजन गरिएको उल्लेख छ ।

हतारमा नीति तथा कार्यक्रम ल्याउँदा यी दुई फोहोर मैला व्यवस्थापनको विषय नै छुटेको छ तर कोइका, यूएनडीपीको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हरित रोजगारी सिर्जना र आयआर्जनमा जोड्दै समुदायस्तरमै फोहोरमैला व्यवस्थापन कार्यलाई व्यवस्थित गरिने विषय भने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम र बजेट पेश गरेसँगै नगर सभाको आइतबारको बैठक सकिएको छ । अब विषयगत समितिहरुको बैठकबाट योजनाहरुको बाँडफाँड र स्रोतको विश्लेषणसमेत गरेर कार्यपालिका बैठकमा पेश गर्ने तय भएको छ । कार्यपालिकाबाट कार्यक्रम पारित भएसँगै १६ गते बस्ने नगर सभाको अर्को बैठकमा वार्षिका कार्यक्रम पुस्तिका पेश गर्ने कार्यसूची छ ।

पोखरा महानगरले संस्थागत विकास तथा सुशासनतर्फ ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । स्वास्थ्यतर्फ आगामी आर्थिक वर्षका लागि संघीय शसर्त अनुदानतर्फ १९ करोड, महानगरको आन्तरिक स्रोतबाट ११ करोड ९८ लाख गरी ३१ लख रुपैयाँ बिनियोजन गरेको छ । यस्तै शहरी विकास, पर्यटन, वत तथा वातावरण तर्फ ३८ करोड रुपैयाँ बिनियोजन भएको छ ।

शिक्षातर्फ महानगरको १८ करोड र संघीय शसर्तको १ अर्ब ५४ करोड ३८ लाख गरी १ अर्ब ७३ करोड, ३३ लाख रुपैयाँ विनियोजन भएको छ ।

सामाजिक विकासतर्फ ३ करोड ८५ लाख रुपैयाँ छुट्याएको महानगरले सबैभन्दा बढी पूर्वाधारमा जोड दिएको छ । पूर्वाधारतर्फ २ अर्ब ८५ लाख रुपैयाँ बिनियोजन भएको सार्वजनिक बजेटमा उल्लेख छ ।

पोखरालाई मुक्तिक्षेत्र प्रवेशद्धार बनाउने उद्धेश्यसहित १ करोड ४० लाख, फेवा बीच निर्माणका लागि १ करोड ५० लाख र पुरानो वस्ती संरक्षण (वडा नं. ४) का लागि ५० लाख विनियोजन गरिएको छ ।

फेवातालको गाइघाट लगायत अन्य क्षेत्रमा माटो निकाल्ने तथा चेकड्याम निर्माण गर्न १ करोड विनियोजन गरिएको छ । पोखराले तलतलैयामा जम्मा भएको माटो निकाल्नको लागि मसिन खरिद गर्ने भएको छ । त्यसका लागि १ करोड ५० लाख बिनियोजन गरिएको छ ।

महानगरस्तरीय ३५ वटा वहुवर्षीय योजना सम्पन्न गर्न ८७ करोड बजेट विनियोजन गरेको उपमेयर गुरुङले उल्लेख गरिन् । वहुवर्षीय योजनालाइ वर्षभरि बजेट अभाव हुन नदिने गरि चालु वर्षमा नयाँ कार्यक्रम अगाडि बढाउने बजेटमा उल्लेख छ ।

बर्षेनि बजेटले सम्झने तर पूरा नहुने प्रशासकीय भवन निर्माणको कार्यक्रम यस वर्ष पनि दोहोरिएको छ । प्रशासकिय भवन निर्माण कार्यको पहिलो त्रैमासिकभित्र ठेक्का प्रक्रिया अगाडि बढाइने र यसका लागि २५ करोड बजेट विनियोजन गरिएको छ ।

पोखरा महानगरले चालु आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर, अहिले त्यसबाट बढेर ८ अर्ब ३५ करोडको बजेट ल्याएको हो । चालु बजेटमा अहिलेसम्म ५५ प्रतिशत खर्च भएको छ । १ अर्ब ५५ करोड ५१ लख आन्तरिक स्रोतबाट संकलन हुने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ९६ करोड संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?