News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका वरिष्ठ खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भयो।
- श्रेष्ठले नेपाली खेलकुद पत्रकारितामा दीर्घकालीन योगदान पुर्याएका थिए।
- उनको अन्त्येष्टि सोमबार पशुपति आर्यघाटमा सम्पन्न भयो।
९ असार, काठमाडौं । नेपालका वरिष्ठ खेल पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक सदस्य क्षितिज अरुण श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भएको छ।
श्रेष्ठको आइतवार राति साढे ८ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए।
विसं २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना हुँदा ११ जना संस्थापक सदस्यमध्ये एक रहेका श्रेष्ठले नेपाली खेलकुद पत्रकारितामा दीर्घ योगदान पुर्याएका थिए।
काठमाडौंको ढल्कोमा जन्मिएका श्रेष्ठले फोटो पत्रकारको रुपमा करिब दुई दशक नेपाली खेल पत्रकारितामा समर्पित जीवन बिताए।
श्रेष्ठ नेपाल ओलम्पिक संग्रहालयका संस्थापक थिए । साथै उनले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गरी खेलकुदसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशन गरेका थिए ।
पछिल्लो समय उनी नेपाल स्टिक स्पोर्ट्स संघका महासचिव तथा बिजनेस डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले नेपालका विशिष्ट महिलाहरूको फोटो प्रदर्शनी समेत आयोजना गरेका थिए।
श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। अन्त्येष्टिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत खेलकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
उनको निधनले नेपाली खेल पत्रकारिता क्षेत्रले एक समर्पित व्यक्तित्व गुमाएको छ। उनी पत्नी र एक छोरीसहितको परिवारमा थिए।
प्रतिक्रिया 4