
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलले इरानको शासकीय केन्द्रहरूमा आक्रमण गर्न आदेश दिएको छ, किनभने इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
- इरानले उत्तर इरानमा भएको आक्रमणमा नौ जनाको ज्यान गएको र चारवटा घर ध्वस्त भएको बताएको छ, जसमा एक परमाणु वैज्ञानिक पनि समावेश छन्।
१० असार, काठमाडौं । इजरायलका रक्षामन्त्री इस्राएल काट्जले इरानले युद्धविराम उल्लंघन गरेको भन्दै तेहरानको केन्द्रमा रहेको शासकीय केन्द्रहरूमा तीव्र आक्रमण गर्न इजरायली सेनालाई आदेश दिएका छन्।
यो निर्देशन इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित रहेको भन्दै आश्रयस्थलहरूबाट बाहिर निस्कन अनुमति दिएको केहीबेरपछि आएको हो।
टाइम्स अफ इजरायल का अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायलले रोकेको छ।
उता, इरानका स्थानीय अधिकारीहरूले मंगलबार बिहान उत्तर इरानमा भएको आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ र चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।
गिलान प्रान्तको गभर्नर कार्यालयले दिएको जानकारी अनुसार, अस्तानेह-ये अशरफियेह शहरमा भएको उक्त आक्रमणमा ३३ जना घाइते भएका छन्। कार्यालयले यसलाई ‘आतङ्ककारी हमला’ को संज्ञा दिएको छ।
इरानी सञ्चारमाध्यमहरूले उक्त आक्रमणका पछाडि इजरायलको संलग्नता रहेको उल्लेख गरेका छन्।
गिलानका उप-गभर्नरका अनुसार, ज्यान गुमाउने र घाइते हुनेमध्ये १६ जना महिला र बालबालिका छन्।
केही सञ्चारमाध्यमका अनुसार, ज्यान गुमाउनेमध्ये एक जना परमाणु वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन्। इजरायली सेनाले पनि रातको कारबाहीमा एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरिएको उल्लेख गरेको छ।
प्रतिक्रिया 4