
१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम हुने घोषणालाई इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूले ट्रम्पको ‘दाबी’ का रूपमा उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार, तेहरानबाट डोनाल्ड ट्रम्पको युद्धविरामसम्बन्धी घोषणाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। ट्रम्पले केही घन्टाभित्र युद्धविराम सुरु हुने बताएका थिए।
इरानी सञ्चारमाध्यमहरू, विशेषगरी सरकारी सञ्चार संस्थाहरूले, यस घोषणालाई ‘ट्रम्पको दाबी’ भनेर मात्र उल्लेख गरेका छन् । उनीहरूले सतर्कतापूर्वक प्रतिक्रिया दिइरहेका छन्।
यसैबीच, इजरायली सेनाले (आईडीएफ) तेहरानका विभिन्न तीन जिल्ला खाली गर्न आज राति आदेश दिएको छ । इरानमा कैयौँ विस्फोटको रिपोर्टहरू आएका छन् ।
केही इरानी अधिकारीहरूले ट्रम्पको युद्धविराम दाबीलाई अर्को झुटको संज्ञा दिएका छन् ।
इरानी पक्षले यसलाई ‘अमेरिकी राष्ट्रपतिको झूट’ को संज्ञा दिंदै इरानीहरूमाथि दबाब सिर्जना गर्न यस्तो गरिएको प्रतिक्रिया दिएको हो ।
ट्रम्पले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत इरान र इजरायल दुवै पक्ष ‘पूर्ण रूपमा युद्धविराममा सहमत’ भएका बताएका थिए । उनले उक्त युद्धविराम करिब १२ घण्टापछि लागु हुने जिकिर गरेका थिए ।
तेहरान टाइम्सले इरानी पक्षले यसलाई ‘ट्रम्पले इरानी सरकारलाई युद्धविराम स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले नयाँ झुट बोलेको विश्लेषण गरेको’ उल्लेख गरेको छ । यस्तो प्रस्तावले इरानी जनतालाई आफ्नै अधिकारीविरुद्ध उकास्न सक्ने र देशभित्र असन्तोष सिर्जना हुन सक्ने आकलन गर्दै ट्रम्पले झुटो बोलेको उनीहरूको दाबी छ ।
इरानी संसदका सभामुखका सल्लाहकार महदी मोहम्मदीले एक्समा लेखेका छन्, ‘अमेरिका र इजरायल झुट बोलिरहेका छन्। उनीहरू इरानले सतर्कता घटाओस्, ताकि उनीहरूले तनाव अझै बढाउन सकून् भन्ने चाहन्छन् ।’
इरान–इजरायल द्वन्द्व जुन १३ तारिखबाट सुरु भएको हो। इरानीहरू अमेरिकासँग छैटौँ चरणको वार्तामा सहभागी हुन तयारी गरिरहेका बेला उक्त हमला भएको थियो ।
यसैबीच, रोयटर्सले अमेरिकी स्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री शेइख मोहम्मद बिन अब्दुर्रहमान अल थानीले इजरायल र इरानबीचको द्वन्द्वमा युद्धविरामको प्रस्तावमा तेहरानको सहमति पक्का गरेका उल्लेख गरेको छ ।
इरानी अधिकारीहरूसँगको फोन संवादमा उनले यस्तो सहमति प्राप्त गरेको समाचारमा उल्लेख छ ।
यो फोन संवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमीरलाई इजरायलले युद्धविराममा सहमति जनाएको जानकारी गराएपछि भएको बताइएको छ । ट्रम्पले तेहरानलाई पनि युद्धविराममा सहमत गराउन दोहाको सहयोग मागेपछि उक्त संवाद भएको हो ।
के भन्छन् अमेरिकी अधिकारीहरू ?
अमेरिकी अधिकारीहरूले भने इजरायल र इरान दुवै युद्धविरामका लागि सहमत भएका दाबी गरेको छ ।
कुनै पनि पक्षले औपचारिक वा सार्वजनिक प्रतिक्रिया नदिएको अवस्थामा अमेरिकी अधिकारीहरूको यस्तो दाबी आएको हो ।
सीबीएसका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग प्रत्यक्ष संवाद गरेका ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । इरानबाट थप आक्रमण नभएमा मात्र इजरायलले युद्धविरामको शर्त स्वीकार गर्ने इजरायलले प्रतिक्रिया दिएको ती अधिकारीले जानकारी दिएका छन् ।
सीबीएसका अनुसार, ह्वाइट हाउसका वरिष्ठ इरानी अधिकारीहरूले पनि तेहरानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् ।
प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार, यो युद्धविराम अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकोफले इरानी पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष संवादमार्फत सहमति जुटाएपछि सम्भव भएको बीबीसीले उल्लेख गरेको छ ।
इरानमा अवस्था उल्टो छ !
तेहरानबाट प्रत्यक्ष रिपोर्टिङ गरिरहेका अलजजीराका एक रिपोर्टरका अनुसार ट्रम्पको घोषणाले युद्धविरामको बाटो खोल्न सके पनि तेहरानको अवस्था फरक रहेको उल्लेख गरेका छन् । उनका अनुसार राजधानीमा अहिले पनि इजरायली आक्रमण रोक्न इरानी हवाई सुरक्षा प्रणाली सक्रिय भइरहेकाले विस्फोटका आवाज गुञ्जिरहेका छन्।
‘डोनाल्ड ट्रम्पको पछिल्लो वक्तव्यबारे तेहरानबाट हामीले हालसम्म कुनै औपचारिक प्रतिक्रिया प्राप्त गरेका छैनौं,’ पत्रकार तोहिद असादीले भनेका छन्, ‘तर इरानी उच्च नेताहरूका अघिल्ला वक्तव्यहरू हेर्दा यस्तो लाग्छ कि उनीहरूले जबरजस्ती थोपिएको शान्ति स्वीकार गर्नेवाला छैनन्।’
फार्सले भन्योः युद्धविराम पूर्णतयाः झुट
ट्रम्पले युद्धविरामको घोषणा गरे पनि, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ।
उक्त नाम नखुलाइएका स्रोतले फार्सलाई भनेका छन्, ‘इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव पाएको छैन ।’ बीबीसीका अनुसार उनले केही घन्टाभित्रै इरानले इजरायललाई ‘सैन्य प्रतिक्रिया’ मार्फत ट्रम्पको घोषणा झूट भएको प्रमाणित गर्नेछ।
स्रोतका अनुसार, अमेरिकाको यो घोषणा दोहामा रहेको आफ्नै सैन्य अड्डामा इरानी आक्रमणपछि भोगेको ‘अपमानजनक पराजय’ बाट जनध्यान हटाउने प्रयास मात्र हो। यद्यपि, हालसम्म इरानी अधिकारीहरूले ट्रम्पको उक्त घोषणा न त औपचारिक रूपमा खण्डन गरेका छन्, न त पुष्टि नै गरेका छन्।
प्रतिक्रिया 4