+
+
Shares

माडी नगरपालिकाले थारुका परम्परागत घरको संरक्षण गर्ने

माडी नगरपालिकाको वडा नं. १,२, ३ मा थारु जातिको सघन बसोवास रहेको छ । पालिकाले एक टोल एक रंगको घर निर्माण गर्न प्रोत्साहनसमेत गर्ने नीति लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको माडी नगरपालिकाले आदिवासी थारु जातिको परम्परागत घरहरुको संरक्षण र सम्बर्द्धनका लागि नीति ल्याएको छ।
  • नगरपालिकाले ९२ करोड ६६ लाखको बजेट ल्याएको र वडागत विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता दिएको छ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीले स्वःघोषणा गरे सम्मान गर्ने र उद्योग व्यवसायलाई छुट दिने योजना समेत रहेको छ।

११, असार, चितवन । चितवनको माडी नगरपालिकाले आदिवासी थारु जातिको सघन बसोबास भएका वडाहरुमा थारुहरुका परम्परागत घरहरुको संरक्षण तथा सम्बर्द्धनका लागि प्रोत्साहन गर्ने भएको छ ।

नगर प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै आदिवासी थारु जातीको बाहुल्यता भएको क्षेत्रमा परम्परागत थारुका घरहरु मासिन नदिन त्यस्ता घरहरुको संरक्षण गर्ने नीति लिएको जानकारी दिइन् ।

पछिल्लो समयमा थारुका परम्परागत घरहरु भत्काएर कंक्रिटका संरचना बनाउन थालेपछि नगरपालिकाले मौलिक र परम्परागत घरहरुको संरक्षणलाई प्रोत्साहन गर्ने नीति लिएको बताइन् ।

माडी नगरपालिकाको वडा नं. १,२, ३ मा थारु जातिको सघन बसोवास रहेको छ । पालिका प्रमुख र उपप्रमुख दुबै थारु जातिबाट निर्वाचित भएका छन् । पालिकाले एक टोल एक रंगको घर निर्माण गर्न प्रोत्साहनसमेत गर्ने नीति लिएको छ ।

पालिकाले बेरुजु घटाउन फोकल पर्सन तोकेर काम गर्ने भएको छ । नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको बढ्दो बेरुजु घटाउन फोकल पर्सन तोक्ने बताइकी छिन् ।

माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ पुगेको छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन ।

पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले सो भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने भएको छ ।
करको दायरामा नआएका उद्योग व्यवसायले २०८२ पौष मसान्तभित्र दर्ता हुन आए विशेष छुट दिइने पालिकाले जनाएको छ ।

माडी नगरपालिकाले विद्यालयहरुमा ‘रमाइलो शुक्रबार’ र ‘सिकाइसँगै उत्पादन’ कार्यक्रम सहित शैक्षिक सुधारका २६ बुँदे नीति तथा कार्यक्रमहरु ल्याएको छ ।

सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, इन्टरनेट सेवा विस्तार गर्ने र शिक्षामा प्रविधिकरणमा जोड्ने नीति नगरपालिकाले लिएको नगर प्रमुख महतोले बताइन् ।

नगरपालिकाले बघौडा अस्पताललाई आईसीयू, पोष्टमार्टम, ल्याब सेवा र ब्लड बैंकसहित स्तरोन्नति गरी रेफरल अस्पतालको रुपमा विकास गर्ने नीति लिएको छ ।

नगरापलिकाले ल्यायो ९२ करोड ६६ लाख ८८ हजारको बजेट

माडी नगरपलिकाले आगामी आर्थिक वर्ष २०८२०८३ का लागि ९२ करोड ६६ लाख ८८ हजारको बजेट ल्याएको छ ।

नगर उपप्रमुख खेम महतोले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै संघीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा राजश्व बाँडफाँटबाट ६२ करोड ७८ लाख, प्रदेश सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा राजश्व बाँडफाँटबाट १६ करोड ४७ लाख २३ हजार आम्दानी हुने प्रक्षेपण गरे ।

नगरपालिकाको आन्तरिक आय १३ करोड ४१ लाख हुने अनुमान छ । नगरपालिकाले वडा नंं १ का लागि १ करोड १० लाख, वडा नं २, ३, ६ र ७ का लागि प्रति वडा १ करोड, वडा नं ४ र ५ र ८ का लागि प्रति वडा ९० लाख र वडा नं.९ का लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।

पालिकाका ९ वडाका लागि जम्मा ९ करोड २५ लाख रकम विनियोजन गरिएको उपप्रमुख महतोले नगरसभामा जानकारी दिए ।
नगरपालिकाले दूधमा दिँदै आएको ४ रुपैयाँ प्रति लिटर अनुदानलाई निरन्तरता दिँदै त्यसका लागि ५४ लाख ५० हजार विनियोजन गरेको छ ।

कृषि क्षेत्रको विकासका लागि ३ करोड ४४ लाख ५५ हजार विनियोजन गरेको छ । नगरपालिकाले बजेटमा आर्थिक विकास, सामाजिक तथा पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, वातावरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षमा ५९.९४ प्रतिशत खर्च

चालु आर्थिक वर्ष २०८१०८२ मा अनुमानित आय ९६ करोड ६७ लाख ८ हजार गरिएकोमा २०८३ असार ९ गतेसम्म ७५ करोड १३ लाख (७७.७२) आम्दानी गरेको छ ।

चालु शिर्षकमा व्ययतर्फ ६४ करोड ५१ लाख विनियोजन गरिएकोमा असार ९ गतेसम्म ४१ करोड २६ लाख १४ हजार अर्थात ६३ प्रतिशत खर्च भएको छ ।

पूँजीगततर्फ ३२ करोड १५ लाख ४२ हजार विनियोजन गरिएकोमा १६ करोड ६९ लाख अर्थात ५१.९१ प्रतिशत मात्रै खर्च भएको छ । चालु तथा पूँजीगत खर्च ५७ करोड ९५ लाख अर्थात ५९.९४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?