+
+
Shares

हितेन्द्रले गरे कोहलपुर–सुर्खेत प्रसारणको अनुगमन, असोजभित्र काम सक्ने

निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर आगामी असोजसम्म काम सम्पन्न गर्ने प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको अनुगमन गरे।
  • उनले अवरोध हटाएर असोजसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे र मुख्यमन्त्री यामलाल कँडेलसँग छलफल गरे।
  • प्राधिकरणले बाँकेको बानिया भार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम रोकिएको भए पनि समस्या समाधान गर्न निर्देशन दिएको छ।

११ असार, सुर्खेत । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा शाक्यले निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको बताए ।

उनका अनुसार बाँकेको बानिया भार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई सुचारु गर्न प्राधिकरणले पहल गरेको छ । निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर आगामी असोजसम्म काम सम्पन्न गर्ने प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।

प्रबन्ध निर्देशक शाक्यले बुधवार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग पनि सोही विषयमा छलफल गरेका छन् ।

‘लाइन विस्तारका क्रममा देखिएका अवरोध हटाउन छलफल गरेका छौँ’ मुख्यमन्त्री कँडेलसँगको छलफलमा शाक्यले भने, ‘आगामी असोज महिनासम्म १३२ केभी प्रसारण लाइनको काम पुरा गछौं ।’

प्राधिकरणका अनुसार १३२ केभी प्रसारण लाइन विस्तारमा बाँकेको बानिया भार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् । यो क्षेत्रमा तीन वटा टावर निर्माण सकिएपछि १३२ केभी को प्रसारण लाइन सुर्खेतस्थित सुब्बा कुना सवस्टेशनमा जोडिनेछ ।

शाक्यले जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुख जिल्ला अधिकारी, बानियाभारका स्थानीय र राजनीतिक दलका नेतृत्वहरूसँग छलफल गरेर सुर्खेत आएका हुन् ।

‘बानियाभार बाहेक अन्य एक दुई ठाउँमा पनि प्राविधिक समस्या रहेको देखियो,’ उनले भने, ‘त्यो पनि समस्या समाधान गर्नका लागि निर्देशन दिएका छौँ ।’

उनले दंशैसम्म यहाँको बत्ती नियमित हुने र कर्णालीवासीले विश्वनिर विद्युत् पाउने दाबी समेत गरे ।

‘सुर्खेतबाट दैलेख–कालिकोट हुँदै जुम्लासम्म छिटो विद्युत् पुर्‍याउँछु भन्ने लागेको छ,’ उनले भने, ‘२०६७ सालमा मैले यहाँ काम गरेर गएको थिए । मुगुको गमगढीमा उज्यालो पुर्‍याएको थिए । ग्रिडकै बिजुली गमगढी पुर्‍याउँछु भन्ने गरी काम अघि बढेको छ ।’

उनले डोल्पामा उत्पादन गर्न लागिएको जगदुल्ला जलविद्युतलाई रिम्ना हुँदै लमहीमा जोड्ने गरी काम थालिएको जानकारी दिए ।

२३ असार २०७८ मै सुब्बा कुना सवस्टेशनमा विद्युत् चार्ज गर्ने लक्ष्यका साथ १३२ केभी कोहलपुर–सुर्खेत विद्युत्को प्रसारण लाइनको काम थालिएको थियो । कहिले निकुञ्जको अल्झन त कहिले स्थानीयको अवरोधले गर्दा आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।

कोहलपुर–सुर्खेतसम्म १६१ ओटा टावर निर्माण गर्नुपर्नेछ । विवाद देखिएको ठाउँ बाहेक अन्य अधिकांश क्षेत्रको काम सकिएको छ । प्रसारण लाइनको झन्डै १४ किलोमिटर हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ । निकुञ्ज क्षेत्रमा टावर निर्माणको सकिने चरणमा छ ।

स्व.राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत् लाइन विस्तार गरेको थियो ।

३६ वर्ष पहिला विस्तार गरिएको यो ३३ केभी को विद्युत् संरचना विस्तार गरेर कर्णालीका १० ओटै जिल्लामा पुराइएको छ । तर जीर्ण संरचनाका कारण कर्णालीले एक दशक देखि लो भोल्टेजको समस्या झेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?