
News Summary
Generated by OK AI. Editorially reviewed.- नरेन्द्र धमलाले आफ्नै गाउँको विद्यालयमा १९ वर्ष कार्यालय सहयोगीको रूपमा काम गरे।
- उनले २०७८ सालमा कामको क्रममा आँखा गुमाएर जागिर समेत गुमाउनु परेको बताए।
- विद्यालय र नगरपालिका बीच राजीनामा र नियुक्ति सम्बन्धी विवाद चलिरहेको छ।
११ असार, काठमाडौं । कटारी नगरपालिका-२ उदयपुरका नरेन्द्र धमलाले आफ्नै गाउँमा रहेको श्री मावि कल्याणपुरमा १९ वर्ष कार्यालय सहयोगी भएर काम गरे ।
विद्यालयकै काममा खटिएका बेला नरेन्द्रले २०७८ सालमा आँखाको ज्योति गुमाउन पुगे । ८-९ पटकसम्म अप्रेसन गर्दा पनि उनको आँखा फर्किएन । त्यतिबेला उनले आँखा मात्र गुमाएनन्, जागिरसमेत गुमाए ।
‘विद्यालय निर्माणको क्रम चलिरहेको थियो । छतमा पानी लगाउने काम गरिरहेको अवस्थामा अकस्मात मेरो जीवनमा घटना घट्न पुग्यो । आँखामा नराम्रो चोट लाग्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
गहिरो चोट लागेपछि आफन्तले उनलाई लहान आँखा अस्पताल पुर्याए । कमजोर आर्थिक अवस्था भएका नरेन्द्रको उपचारका लागि आर्थिक संकलन गरियो । श्रमती मुनाका अनुसार काठमाडौं तिलगंगा आँखा अस्पतालमा समेत उनको उपचार भयो तर आँखाको ज्योति फर्किएन ।
‘८-९ पटक आँखाको अप्रेसन भयो । ज्योति फर्किएन । धेरै खर्च पनि भयो,’ मुनाले दुखेसो पोखिन् ।
श्रीमान्ले आँखाको ज्योति गुमाएपछि मुनाले नै विद्यालयमा कार्यालय सहयोगीको काम सुरु गरिन् । तर गत २८ वैशाखमा विद्यालय व्यवस्थापन समिति र केही शिक्षकले राजीनामा दिन लगाएको नरेन्द्रले गुनासो गरेका छन् ।
‘राजीनामा दिएपछि प्रक्रिया मिलाएर श्रीमतीको नाममा हुन्छ भन्ने प्रलोभन देखाएर राजीनामाको डेमो थमाए । मैले कसैको सहयोगमा लेखाएर राजीनामा दिएँ,’ नरेन्द्रले फेसबुकमा लेखेका छन् ।
तर, राजीनमा दिएको भोलिपल्ट विद्यालयले तालाचाबी मागेको उनले बताएका छन् । तर मुनाले चाबी दिइनन् । विद्यालयमा ई-हाजिरीको व्यवस्था गरेपछि आफूलाई अफ्ठ्यारोमा पारेको मुनाले बताइन् ।
‘श्रीमान्ले आँखा गुमाएपछि मैले काम गर्न थालेको ४ वर्ष भयो । मलाई नै काम दिने भनेपछि श्रीमान्ले राजीनामा दिनुभएको हो,’ उनले भनिन् ।
विद्यालय व्यवस्थापन समिति र प्रशासनले जबर्जस्ती राजीनामा दिन बाध्य बनाएको नरेन्द्र दम्पतीको गुनासो छ । तर व्यवस्थापन समितिका अध्यक्ष भानु गिरी भने राजीनामा जबर्जस्ती दिन नलगाएको बताउँछन् ।
‘नगरपालिकाको शैक्षिक सुधारअन्तर्गत विद्यालयमा ई-हाजिर राखियो । ई-हाजिरमा सम्बन्धित व्यक्ति चाहिने भयो । उहाँको घर टाढा भएकाले आफैं आउने स्थिति भएन । अनि राजीनामा दिनुभएको रहेछ । त्यसपछि नगरको शिक्षा शाखाले विज्ञापन आह्वान गरेको हो,’ अध्यक्ष गिरीले भने । गिरीले नरेन्द्र परिवारको पनि व्यवस्थापन गर्नुपर्ने बताए ।
विद्यालयको कार्यालय सहयोगीका लागि नगरले विज्ञापन गरेपछि ७ जनाको आवेदन परेको छ । जसमा मुनाले पनि आवेदन दिएकी छिन् । तर श्रीमान्को सट्टा आफूलाई नै राख्ने भनेर राजीनामा गराएकाले अरुलाई राख्न नहुने उनको जिकिर छ । विद्यालयमा आफूले गरेको कामको मूल्यांकन नभएको नरेन्द्रको तर्क छ ।
‘विद्यालयमा गरेको सेवाको मूल्यांकन कसैले देखेन । ममाथि प्रतिसोध साँधिएको छ,’ उनले भने । कार्यालय सहयोगीका लागि आवेदन दिएकालाई बुझेर न्याय गरिदिन उनले आग्रह गरेका छन् ।
नरेन्द्रले आफ्नो परिवारमा कुनै घटना भएमा त्यसको जिम्मेवारी विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले लिनुपर्ने बताउँछन् ।
योसँगै गत शनिबारका लागि तोकिएको कार्यालय सहयोगीको परीक्षा स्थगित गरिएको छ । नगरपालिकाले १५ दिनभित्र विवाद समाधान गर्न समय दिएको छ । स्थानीय नेता र समाजसेवीले मिलाउने प्रयास गरिरहेको नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले बताए ।
‘विज्ञापन दिएका अरु साथीलाई आग्रह गर्न र मिलाउन १५ दिनको समय दिइएको छ । त्यसैले गत शनिबार तोकिएको परीक्षा रोकिएको हो । सामाजिक व्यक्तित्वहरूले मिलाउने प्रयास गरिरहनु भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
नरेन्द्रको परिवार १५ दिनभित्र आफूहरूले न्याय पाउनेमा आशावादी छन् । ‘स्कुलमा काम गर्दा श्रीमान्को आँखा गुम्यो । उहाँले गर्दै आउनुभएको काम मैले गरिरहेको छु । आशा छ, उहाँहरूले मिलाउनुहुन्छ ,’ मुनाले भनिन् ।
प्रतिक्रिया 4